साप्ताहिक संवाददाता
म ७२ वर्ष पुगिसकें । मेरी श्रीमती ६८ वर्षकी छिन् । मैले सुनेअनुसार उमेर ढल्कँदै जाने क्रममा यौनइच्छा पनि कम हुन्छ तर अहिले पनि मेरो यौनइच्छा पहिलेको जस्तै छ, तर श्रीमती बुढेसकालमा यौनसम्पर्क राख्न उचित नहुने बताउँछिन् । उनलाई ममा अझै यौनइच्छा भएको देख्दा आश्चर्य लाग्छ । अब उमेर ढल्किसक्यो, म किन यस्तो सोच्छु भनेर आफैंसँग प्रश्न गर्छु । मैले श्रीमतीलाई यस विषयमा कुरा बुझाउन पनि सकेको छैन र कुनै प्रश्न पनि गरेको छैन । मैले कसरी उनलाई बुझाउने होला भन्ने लाग्छ । के उनीसँग यी सबै कुरा गरें भने हाम्रो यौन जीवनमा सुधार आउँछ ?
मिस्टर ओल्ड
हालसालै भएको एक अध्ययनअनुसार पुरुष र महिलाको उमेर ढल्कँदै जाने क्रममा क्रमिक रूपमा यौनइच्छा घट्दै जान्छ । यस्तो मान्यता रहँदै आए पनि ७० देखि ७७ वर्षसम्मको उमेरमा २७ देखि ५० प्रतिशतले यौनइच्छामा उत्तरचढाव आउँछ । अर्को अध्ययनले तपाईंजस्ता व्यक्तिलाई राम्रो सन्देश दिएको छ, जसअनुसार यदि कुनै व्यक्तिले स्वस्थ जीवनशैली अपनाएको छ, नियमित व्यायाम वा योग गर्ने गरेको छ भने उसको यौनइच्छा र यौनसम्बन्ध दुवैमा कुनै फरक आउँदैन । यदि कुनै पुरुषमा यौनइच्छा छैन भने त्यसका विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपन र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ । अर्को अवस्था भनेको इन्डोक्राइन हार्माेनको गडबडी हो । यदि कुनै औषधि लगातार रूपमा लामो समयदेखि खाइरहेको छ भने पनि यौनचाहनामा कमी आउँछ । केही अध्ययनले पुरुषमा ५० वर्षको उमेरपछि ० दशमलव ४ देखि ० दशमलव ८ प्रतिशतले टेस्टोस्टेरोन हार्माेन घट्दै जान्छ, जसका कारण यौन चाहनामा कमी आउने देखिएको छ । अर्को अध्ययनअनुसार धेरैजसो पुरुष जसले ६० नाघिसकेपछि यौन चाहना बढी हुनु भनेको राम्रो होइन, असामान्य व्यवहार हो भन्ने विश्वास गर्छन् भने पनि यौनइच्छामा र्हास आउन सक्छ ।
उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ, तर उमेरमा र उमेर ढल्किएपछिको यौनचाहना, गतिविधि र मजबुतीमा फरक हुन्छ । यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण बन्न पुग्छ । तपाईंको प्रश्नमा उल्लेख भएअनुसार तपार्इंकी श्रीमतीलाई तपार्इंले उमेर ढल्कँदै गए पनि यौनइच्छामा व्यक्तिपिच्छे फरक हुन सक्ने कुरा बुझाउन नसकेको हो कि जस्तो लाग्यो । तपाईंमा मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा रहेको र बुढ्यौलीसँगै आफूलाई अनुकूल बनाउँदै लानुभएको हो कि भन्ने बुझिन्छ जुन स्थितिमा यौन आनन्दमा कुनै कमी आउँदैन । यदि बुढ्यौलीमा यौनइच्छामा कमी आएको छैन भने श्रीमतीसँगको यौनजीवनलाई स्वस्थ र आनन्ददायक बनाउन सक्ने कुरा खुलेर गर्नुभयो भने तपाईंहरू दुवैको जीवन थप स्वस्थ र फुर्तिलो बन्दै जान सक्छ ।
यो उमेरमा हुने सेक्स वा जीवन पनि भनौं बोनस लाइफजस्तो बन्दै गएको हुन्छ । जति बाँचिन्छ रमाइलोसँग दिनहरू बिताऔं भन्ने सोचको विकास हुँदै गएको हुन्छ । चिन्ता नगर्दा मानसिक स्फूर्ति बढ्दै जान्छ भने मानसिक स्फूर्ति बढ्ने क्रमसँगै यौन आनन्दको उचाइ बढ्दै जान्छ अर्थात् एक पक्षले अर्को पक्षलाई सहयोग गरिरहेको हुन्छ र जीवन रोमाञ्चकारी बन्दै गएको हुन्छ ।
यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै छ, तर मानिसहरूले यसलाई कसरी सोचिरहेका वा लिइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हो । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बुढ्यौलीमा पनि सम्भव छ । फरक यति हो कि मानिसहरूले बुढ्यौलीसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना पनि हुन्छ । उमेर बढ्दै जाने कुरा सामान्य हो । यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । यो उमेरमा पनि श्रीमतीसँग युवा अवस्थामा जस्तै आधुनिक शैली अपनाउने, घुम्न जाने, समय–समयमा उपहार दिने, रमाइलो कल्पना गर्ने, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन प्राप्त हुने ठाउँमा जाने, महत्वपूर्ण मितिहरूलाई विशेष महत्त्व दिँदै एक–अर्कासँग समय बिताउने जस्ता व्यवहारले यौनजीवनमा परिवर्तन ल्याउँछ । विशेषगरी यो उमेरमा एक–अर्काप्रति गरिने सम्मानमा कमी आउनु हुँदैन । हरेक समयको लेखाजोखा गर्दा धन्यवाद दिने बानीले पनि व्यक्तिगत जीवन थप रमाइलो हुन्छ ।