साप्ताहिक संवाददाता
फोब्र्सले सन् २०१५ का टपटेन ब्रान्डको सूची सार्वजनिक गरेको छ । यो सूचीमा प्रविधि र अटो क्षेत्रको वर्चस्व छ ।
१. एप्पल
यो वर्ष पनि एप्पल सबैभन्दा मूल्यवान् ब्रान्ड बन्न सफल भएको छ । यसको ब्रान्ड भ्यालु १ सय ४५ दशमलव ३ बिलियन अमेरिकी डलर छ । १९७६ मा स्थापना भएको एप्पल कम्प्युटर मोबाइल हार्डवेयर सम्वन्धी कम्पनी हो । यसमा ९२ हजार ६ सय जना कर्मचारी कार्यरत छन् । आइफोन, आइप्याड, म्याक, एप्पल टिभी, प्रोफेसनल सफ्टवेयर एप्लिकेसन, अपरेटिङ सिस्टम, आइक्लाउड, आइबुक, आइट्युन स्टोर आदि यसका मुख्य उत्पादन हुन् ।
२. माइक्रोसफ्ट
सन् १९७५ मा स्थापना भएको माइक्रासफ्ट कम्पनी दोस्रो ठूलो ब्रान्ड बन्न सफल भएको छ । कम्प्युटर प्रोग्रामिङ तथा सफ्टवेयरहरूको कारोबार गर्ने यो कम्पनीको ब्रान्ड भ्यालु ६९ दशमलव ३ बिलियन अमेरिकी डलर छ । यसमा १ लाख २८ हजार कर्मचारी कार्यरत छन् । माइक्रोसफ्टले आफ्नो व्यवसायलाई विन्डोज एन्ड विन्डोज लाइभ, सर्भर एन्ड टुल्स, अनलाइन सर्भिस, माइक्रोसफ्ट बिजनेस, इन्टरटेनमेन्ट एन्ड डिभाइस गरी पाँच भागमा विभाजन गरेको छ ।
३. गुगल
तेस्रो स्थानमा गुगल छ । सन् १९९८ मा स्थापना भएको गुगलको ब्रान्ड भ्यालु ६५. दशमलव ६ विलियन छ । गुगलमा ५३ हजार ६ सय जना कर्मचारी कार्यरत छन् । सर्जी ब्रिन एन्ड लरेन्स पेजले स्थापना गरेको गुगलले सर्च इन्जिनका साथै विज्ञापन, मेल, न्यूज, क्लाउड, एडभर्टाइज, सफ्टवेयर आदि सुविधा उपलब्ध गराउँछ ।
४. कोकाकोला
यो सूचीको चौथो स्थानमा कोकाकोला बहुराष्ट्रिय बेभरेज कम्पनी छ । यसको ब्रान्ड भ्यालु ५६ बिलियन अमेरिकी डलर छ । १ लाख २९ हजार २ सय जना कर्मचारी कार्यरत कोकाकोलाको मुख्य कार्यालय अमेरिकाको जर्जियामा छ । यसका कोकाकोला, फ्यान्टा, स्प्राइट, भिटामिन वाटर, मिनेटमेड, पावर्ड आदि उत्पादन बजारमा उपलब्ध छन् ।
५. आईबीएम
पाँचौं स्थानमा रहेको तथा सन् १९११ मा स्थापना भएको आईबीएम प्रविधिसम्बन्धी कम्पनी हो । ३ लाखभन्दा बढी कर्मचारी रहेको यो कम्पनीको ब्रान्ड भ्यालु ४९ दशमलव ९ बिलियन डलर छ । यसले आफ्नो बिजनेसलाई ५ भागमा विभाजन गरेका छन् जसमा ग्लोबल टेक्नोलोजी सर्भिस, ग्लोबल बिजनेश सर्भिस, सफ्टवेयर, सिष्टम एन्ड टेक्नोलोजी तथा ग्लोबल फाइनान्सिङ छन् । आईबीएमको पूरा नाम इन्टरनेसनल बिजनेश मेसिन हो । यसका संस्थापक थोमस जे वाट्सन हुन् ।
६. एमसी डोनाल्ड्स
यो सूचीको छैटौं स्थानमा अमेरिकी चेन रेष्टुराँ एमसी डोनाल्ड्स छ । ३९ दशमलव ५ बिलियन ब्रान्ड भ्यालु भएको एमसी डोनाल्ड्स रेस्टुराँ १९५५ मा स्थापना भएको हो । यसमा ४ लाख २० हजार कर्मचारी कार्यरत छन् । विश्वभर यसका शाखाहरू छन् । एमसी डोनाल्डसका ह्यामवर्गर, चिजवर्गर, फिलेट, फ्रेन्च फ्राइ, सलाद, सुन्डाइस् तथा पाइका साथै पेयपदार्थहरू लोकप्रिय छन् । यसको व्यापारलाई अमेरिका, युरोप, एसिया प्रशान्त, मध्यपूर्व र अफ्रिका तथा कर्पाेरेट गरी ५ खण्डमा विभाजन गरिएको छ ।
७. सामसुङ इलेक्ट्रोनिक्स
सन् १९६९ मा स्थापना भएको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीको ब्रान्ड भ्यालु ३७ दशमलव ९ बिलियन अमेरिकी डलर छ । सातौं स्थानमा रहेको दक्षिण कोरियाली कम्पनी सामसुङ कन्जुमर इलेक्ट्रोनिक्स, इन्फरमेशन टेक्नोलोजी एन्ड मोबाइल कम्युनिकेसन (आइएम) तथा डिभाइस सोलुसन् गरी तीन भागमा विभाजित छ । सामसुङका टिभीदेखि मनिटरसम्म, मोबाइल, प्रिन्टरदेखि मेडिकल सामग्रीसमेत उपलब्ध छन् ।
८. टोयोटा मोटर
अटो कम्पनी टोयोटा मोटर्स यो सूचीको आठौं स्थानमा छ । ३७ दशमलब ८ बिलियन अमेरिकी डलर ब्रान्ड भ्यालु रहेको यो कम्पनी सन् १९३७ मा स्थापना भएको हो । जापानको यो कम्पनीमा ३ लाख ३८ हजार ८ सय ७५ जना कर्मचारी कार्यरत छन् । यो कम्पनीलाई अटोमोटिभ अप्रेसन, फाइनान्सियल सर्भिस र अन्य गरी तीन भागमा विभाजन गरिएको छ । काइचिरो टोयोटा यसका संस्थापक हुन् ।
९. जनरल इलेक्ट्रिक्स
नवौं स्थानमा रहेको तथा ३७ दशमलव ५ बिलियन डलर ब्रान्ड भ्यालु भएको जनरल इलेक्ट्रिक कम्पनी सन् १८९२ मा स्थापना भएको हो । ३ लाख ५ हजार जना कर्मचारी कार्यरत यो कम्पनी इलेक्ट्रिसिटी सम्बन्धी कम्पनी हो । यसले एयरक्राफ्ट इन्जिन, पावर जेनेरेसन, वाटर प्रोसेसिङ, सेक्युरिटी टेक्नोलोजी, मेडिकल इमाजिङ आदि सामग्री उत्पादन गर्छ । यो कम्पनीलाई पावर एन्ड वाटर, ओयल एन्ड ग्याँस, इनर्जी म्यानेजमेन्ट, एभिएसन, हेल्थकेयर, ट्रान्सपोर्टेसन, होम एन्ड बिजनेस सोलुसन् तथा जिइ क्यापिटल गरी ७ खण्डमा विभाजन गरिएको छ ।
१०. फेसबुक
सामाजिक सञ्जाल फेसबुक ब्रान्ड भ्यालुको दसांै स्थानमा छ । मार्क जुकरवर्गले २००४ मा स्थापना गरेको यो कम्पनीको कुल ब्रान्ड भ्यालु ३६ दशमलव ५ बिलियन छ । एलेक्सा डटकमका अनुसार विश्वमा सबैभन्दा बढी चलाइने वेबसाइटहरूमध्ये फेसबुक दोस्रो स्थानमा छ ।