वर्ष सन् २०१५ वैज्ञानिक आविष्कारको दृष्टिले निकै महत्वपूर्ण रह्यो । गत वर्ष वैज्ञानिकहरू ब्रह्माण्डका कैयन् रहस्यको पर्दा उघार्न सफल भए र नयाँ खोजहरूबाट विश्वमा नयाँ आशाको सञ्चार पनि गरे । सन् २०१५ का केही महत्वपूर्ण वैज्ञानिक अनुसन्धान यस्ता छन् :
मंगलमा देखियो मुसा र बिरालोको आकृति
मंगलग्रहमा जीवनको खोजी जारी छ । यसबीच त्यहाँ केही जीवको जस्तो आकृतिसमेत बेलाबेलामा देखा पर्छ । पछिल्लो पटक त्यहाँ एउटा खाडलबाट निस्किरहेको मुसाका साथै एउटा बाँदर र बिरालो जस्तो आकृति देखा पर्यो । नासाको क्युरियोसिटी उपग्रहले खिचेका तस्बिरमा त्यस्तो देखिएको हो । क्युरियोसिटी सन् २०१२ देखि नै मंगलग्रहमा छ । खगोलशास्त्रीहरूका अनुसार यो आकृति २ देखि ३ फिटसम्मको हुनसक्छ । यसको कान, नाक तथा आँखासमेत प्रस्ट देख्न सकिन्छ, तर त्यो जीव नै हो भनेर यकिन गर्न भने सकिएको छैन ।
पृथ्वीमा जीवको उत्पत्ति
पृथ्वीमा ६० करोड वर्ष पहिलो जीवको उत्पत्तिका लागि आवश्यक अक्सिजनको स्तर निर्माण हुन झन्डै १० करोड वर्ष लागेको थियो । एक नयाँ अनुसन्धानअनुसार यो खुलासा भएको हो । युनिभर्सिटी कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार अमेरिका, चीन तथा क्यानाडामा नयाँ ट्रेसर प्रयोग गरी करोडौं वर्षपहिलेको अक्सिजनको स्तर बुझ्ने प्रयास गरिएको थियो ।
मंगलग्रहमा पानी फेला पर्यो
मंगलग्रहमा मानव बस्ती बसाउने कुरा अब केवल कथा वा कल्पनामा सीमित हुनेछैन, यो यथार्थ नजिक आउँदैछ । मंगलग्रहको सतहमा पानी तरल अवस्थामा देखिएको छ, जुन जीवनका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । नेपाली वैज्ञानिक लुजेन्द्र ओझासहित नासाका वैज्ञानिकहरूले यस्तो तथ्य पत्ता लगाएका हुन् ।
डाइनोसरले ९० डिग्रीसम्म मुख खोल्न सक्ने
करोडौँ वर्ष पहिले लोप भैसकेको टारानोसोरस रेक्स जातको विशालकाय मांसाहारी डाइनोसरले आफ्नो मुख ९० डिग्रीसम्म खोल्न सक्थ्यो । बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलका अनुसन्धानकर्ताहरूका अनुसार सिकार गर्ने तथा खाने बेलामा उक्त डाइनोसरले आफ्नो मुख त्यति धेरै बाउन सक्थ्यो ।
विश्वको पहिलो हत्या
वैज्ञानिकहरूले स्पेनमा ४ लाख ३० हजार वर्ष पुरानो एक मानवखप्पर फेला पारेका छन् । त्योसँगै वैज्ञानिकहरूले पृथ्वीमा मानिसको सबैभन्दा पहिलो हत्याको आँकलन पनि गरे । उक्त खप्पर हत्या गरिएका मानिसको भएको तथ्य पनि खप्परमा रहेको घातक निसानाबाट पत्ता लागेको छ । उक्त भूमिगत गुफामा २८ मानवअवशेष फेला परेका छन् । त्यहाँ फेला परेका मानव कंकालहरू विश्वमा अहिलेसम्म पत्ता लागेका मध्ये सबैभन्दा पहिले हत्या गरेर फ्याँकिएका मानिसका कंकाल रहेको ठहर वैज्ञानिकहरूको छ ।
आकाशगंगासम्बन्धी नयाँ खुलासा
खगोलविद्हरूले आकाशगंगाका सम्बन्धमा एक नयाँ खुलासा गर्दै ताराहरूको जन्म दिने कतिपय आकाशगंगा आकारमा लामो हुनुको साटो गुजुमुज्ज पर्नुको कारण पत्ता लगाएका छन् । घुम्ने गति अपेक्षाकृत रूपमा सुस्त हुने भएकाले यस्तो आकार हुने उनीहरूको ठहर छ । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले आकाशगंगासम्बन्धी पुरानो मान्यतालाई चुनौती दिएका छन्, जसअनुसार केही आकाशगंगामा ग्याँसको स्तर निकै बढी हुनाले ती गुजुमुज्ज परेको अवस्थामा छन्, तर अहिले वैज्ञानिकहरूले यस्तो आकारका लागि ग्यास नभै गतिको भूमिका जिम्मेवार रहेको तथ्य सार्वजनिक गरेका छन् ।
एजेन्सीको सहयोगमा