त्रिवेन्द्रम (केरला, भारत)– साफ च्याम्पियनसिप २०१५ सुरु हुनुअघि नेपाली फुटबल टिमसामु समस्याको थुप्रो थियो । त्यसबाट कसरी बाहिर निस्कने हो, त्यसका उपाय कम थिए । भारतको दक्षिणी राज्य केरलाको त्रिवेन्द्रममा भएको प्रतियोगितामा नेपालको यात्रा चाँडै टुंगियो । नेपाल लिग चरणमै रोकियो । यस्तोमा नेपाली फुटबलको समस्या अझ सतहमा आएको छ, समस्या अझ बढी देखिएका छन् ।
‘म्याच फिक्सिङ’ देखि लिएर प्रतिबन्धका अरू धेरै काण्डले गर्दा गम्भीर स्थितिमा रहेको नेपाली फुटबलका लागि मैदानी प्रतिस्पर्धामा ओर्लनु एक अर्थमा निकै गाह्रो कुरा थियो । के खेलाडीले मानसिक एवं शारीरिक रूपमा आफूलाई सम्हाल्न सक्ने छन् त ? प्रतियोगिताअघि यस्ता पनि धेरै प्रश्न थिए । प्रतियोगितामा नेपालको चुनौती समाप्त हुँदा यी प्रश्न अझै अनुत्तरितजस्तै देखिए ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा थियो र यसबाट पाकिस्तानले सुरुमै नाम फिर्ता लिएपछि समूह तीन टिममा सीमित भएको थियो । भारत र श्रीलंका अरू दुई टिम थिए । त्रिकोणात्मक भिडन्त हुने लिग चरण वास्तवमै पेचिलो हुन्छ र यसमा टिमले गर्ने सानो भूलले पनि चर्को मूल्य चुकाउनुपर्ने हुन्छ । त्यति मात्र होइन, त्यो भूलले गर्दा टिमले उत्तिकै कठिन स्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।
नेपालको प्रदर्शन पनि त्यस्तै रह्यो । नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध थियो । त्यसमा कम्तीमा हारको अपेक्षा थिएन । श्रीलंकाली फुटबल पनि पछिल्लो समय राम्रो समयबाट गुज्रिरहेको थिएन । सम्भवत: श्रीलंकाली फुटबल आफ्नो इतिहासमै कमजोर मोडमा थियो । त्यही टिमविरुद्ध ग्रिनफिल्ड स्टेडियममा भएको खेलले इन्ज्युरी समय छोएपछि त्यसले गोलरहित बराबरीको नतिजा दिने छाँट देखाएको थियो ।
यद्यपि खेलको अन्तिम मिनेटमा नेपालले अनपेक्षित गोल खायो र त्यो निकै महँगो सावित भयो । इन्ज्युरी समयमा मोहम्मद रिफनासले गोल गरेपछि श्रीलंकाले नेपाललाई हराएको हो । खेलको अन्त्यतिर लगातार आक्रमण बुन्ने नेपालको रणनीति अन्तत: घातक सिद्ध भयो । इन्ज्युरी समयको पाँचौं मिनेटमा नेपाली टिम आक्रमणमा रहेका बेला श्रीलंकाले गोल गरेको थियो ।
त्यति बेला नेपालको डिफेन्सले गरेको क्लियरेन्स पनि कमजोर रह्यो । पूरा खेल अवधिमा श्रीलंकाले सिर्जना गरेको एक मात्र उल्लेखनीय आक्रमण त्यही थियो र त्यसैमा नेपाललाई भाग्यले साथ दिएन । खेलपछि नेपाली प्रशिक्षक प्याट्रिक ओसेम्स स्वभाविक रूपमा निराश देखिए । उनले यो हारलाई दुर्भाग्यको संज्ञा दिए । पछि प्रशिक्षकले पनि माने, त्यही एक क्षणले अन्तत: नेपालको यात्रामा पूर्ण विराम लगायो ।
यस्तोमा दोस्रो खेलमा नेपाललाई भारतमाथि जित निकाल्न अनिवार्य थियो, तर गोल हुने कुनै छाँट थिएन् । किनभने यो खेलसँगै नेपालले अन्तर्राष्ट्रिय फुबलमा गोल नगरेको खेल संख्या ११ पुगेको थियो । समूहको दोस्रो खेलमा भारतले श्रीलंकालाई सजिलै २–० ले हरायो । त्यसले नेपालमाथिको दबाब अझ बढायो । भारतविरुद्ध भने नेपालले सुरुमा राम्रो सुरुवात लियो र अन्तत: गोलको उपलब्धि छुन सफल भयो ।
उक्त खेलको तेस्रो मिनेटमै विमल घर्तीमगरले गोल गरे । उनले भारतीय गोलरक्षक सुबर्तो पउल बिट भैसकेको स्थितिमा गोल गरेका हुन् । नवयुग श्रेष्ठको प्रहार पोस्टमा ठोक्किएर फर्किएपछि त्यसैमा विमलले गोल गरेका थिए । यससँगै नेपालका लागि लगातार ११ खेलमा गोल नभएको शृङ्खलामा पनि पूर्णविराम लागेको थियो । नेपालले अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध अन्तिम पटक गोल गरेको थियो ।
विमलको गोल १ हजार ३ मिनेटको अन्तरमा प्राप्त भएको हो । भारतका तर्फबाट २६ औं मिनेटमा रोलिन बोरगेसले बराबरी गोल गरे । त्यसपछि नेपालमाथि दबाब सिर्जना भयो र अन्तत: दोस्रो हाफमा भारत हाबी भयो । भारतको दोस्रो गोल भने कप्तान सुनिल क्षेत्रीको नाममा रह्यो । उनको गोल ६८ औं मिनेटमा सम्भव भएको थियो । खेलको अन्त्यतिर लालिनजुवाला छन्टेले २ गोल थपे ।
उनले ८१ औं मिनेटमा आफ्नो पहिलो गोल गरे । उनको दोस्रो गोल ९० मिनेटमा सम्भव भएको थियो । यसरी नेपालले जित्नैपर्ने खेल अन्तत: ४–१ ले गुमायो र प्रतियोगिताबाट बाहिरियो । यसअघिका दुई संस्करणमा लगातार सेमिफाइनल खेलेको नेपाल यसपल्ट लिग चरणमै रोकियो । नेपाल शून्य अंकमै सीमित भयो । भारतको ६ अंक भयो । श्रीलंका पनि अन्तिम चारमा पुग्न सफल रह्यो ।
समग्रमा प्रतियोगितालाई लिएर प्रशिक्षक ओसेम्सको प्रतिक्रिया थियो, ‘प्रशिक्षकका रूपमा टिमको प्रदर्शनमा मलाई गर्व छ । यो टिम नयाँ छ, युवा छ । यसबाट तुरुन्तै धेरै आशा गर्न सकिँदैन । यद्यपि यो प्रतियोगिताबाट यी युवा खेलाडीले बहुमूल्य अनुभव बटुलेका छन् । यो पनि उपलब्धि हो । यो टिमलाई अघि बढाउने हो भने नेपालले आउने केही वर्षमा राम्रो टिम प्राप्त गर्न सक्नेछ ।’