साप्ताहिक संवाददाता
गुगलले २०१५ मा सर्वाधिक खोजिएका ग्याजेट्सको सूची सार्वजनिक गरेको छ । यो वर्ष पनि एप्पलका आइफोन र सामसुङका ग्याजेट्सलाई अन्य कम्पनीले बाजी मार्न सकेनन् । गुगलको सर्वाधिक खोजीको टपटेनमा पर्न सफल ग्याजेट्सहरूको संक्षिप्त विवरण :
आइफोन–६ एस
यो वर्ष सर्वाधिक खोजिएको ग्याजेट्स हो— आइफोन–६ एस । गत २५ सेप्टेम्बर २०१५ मा सार्वजनिक भएको यो फोनमा रियर फेसिङ, फोर्स सेन्सेटिभ टचस्क्रिन, थ्रीडी टच जस्ता विशेष सुविधा छन् । एकसाथ सार्वजनिक गरिएको आइफोन–६ एस तथा आइफोन–६ एस प्लसले बिक्री थालेको ३ दिनमै १३ मिलियन डलर संकलन गरेका थिए । यसले अघिल्लो आइफोन–६ र आइफोन–६ प्लसको रेकर्ड समेत तोडेको थियो ।
सामसुङ ग्यालेक्सी एस–६
सामसुङको ग्यालेक्सी एस–६ सर्वाधिक खोजीको दोस्रोस्थानमा पर्न सफल भएको छ । यो फोन १० अप्रिल २०१५ मा सार्वजनिक गरिएको थियो । फिंगरप्रिन्ट स्क्यानरको सुविधा भएको यो फोनमा कर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । ५.१ इन्चको यो फोनमा एन्ड्रोइड ओएस ललिपप अपरेटिङ सिष्टम छ । ३ जीबी र्यामको यो फोनमा २५५० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । यसमा १६ मेगा पिक्सेलको प्राइमरी तथा ५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा छ ।
एप्पल वाच
एप्पल वाच यो वर्ष सर्वाधिक खोजिएको अर्काे ग्याजेट्स हो । यसअन्तर्गत एप्पल स्पोर्ट्स, एप्पल वाच, एप्पल वाच हेर्मस तथा एप्पल वाच एडिसन छन् । यसको बुकिङ २०११ देखि नै खुला गरिए पनि यो वर्ष मात्र बजारमा उपलब्ध भएको थियो ।
आइप्याड प्रो
एप्पलको ट्याब्लेट कम्प्युटर आइप्याड प्रो गत नोभेम्बर ११ मा सार्वजनिक गरिएको थियो । १२.९ इन्चको यो ट्याब्लेट विगतका ट्याब्लेटहरू भन्दा ठूलो छ । यो आइप्याड ३२ जीबी, १२८ जिबी तथा वाइफाइसहित १२८ जीबीमा उपलब्ध छ । यसमा २.२६ गिगाहर्ज ड्युलकोर ६४ बिट सीपीयू छ भने ४ जीबी मेमोरी र्याम र ८ एमपीको क्यामेरा छ ।
एलजी जी–४
एलजीको जी–४ फोन पनि यो वर्ष चर्चामा रह्यो । २९ अप्रिल २०१५ मा दक्षिण कोरियामा सार्वजनिक गरिएको यो फोन जुन महिनापछि मात्र विश्व बजारमा उपलब्ध हुन थालेको हो । यसको डिस्प्ले, क्यामेरालगायत समग्र पार्टपुर्जा निकै राम्रो मानिएको छ ।
सामसुङ ग्यालेक्सी नोट–५
सामसुङको यो फोन सामसुङ ग्यालेक्सी नोट–४ को सफलतापछि उत्पादन गरिएको हो । अमेरिकामा यो फोन २१ अगस्ट २०१५ मा उपलब्ध भएको थियो । यसलाई आकर्षक र उत्कृष्ट फोन बताइएको छ ।
सामसुङ ग्यालेक्सी जे–५
गेमिङ फोनका रूपमा चिनिने यो फोन गत जुन महिनामा सार्वजनिक भएको थियो । ६४ बिट क्लासको यो फोनमा १.५ जीबी र्याम तथा १३ मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ । ८५ डिग्रीको एंगल क्यामेरा तथा ५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा भएको यो फोन आकर्षक मोडलमा छ ।
एचटिसी वन एम–९
एचटिसीको एम–९ फोन १० अप्रिलमा सार्वजनिक भएको थियो । यसमा २० मेगा पिक्सेलको क्यामेरा छ । एचटिसीको यस अघिको फोन एम–८ निकै लोकप्रिय भएको थियो । यसमा थ्री जीबी डीडीआर फोर र्याम तथा ३२ जिवी स्टोरेज क्षमता छ ।
नेक्सस–६ पी
गुगलको नेक्सस–६ पी २९ सेप्टेम्वरमा सार्वजनिक गरिएको थियो । यसलाई निकै महत्वाकांक्षी ग्याजेट्स मानिएको छ । यसमा ५.७ इन्चको डब्लुक्यूएचडी डिस्प्ले छ । यसमा उच्च गुणस्तरको १२.३ मेगापिक्सेलको क्यामेरा र लामो समय टिक्ने ३४५० एमएएच क्षमताको ब्याट्री छ । यो फोनमा ८ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा छ भने १२८ जीबी क्षमताको नेक्सस–६ पीमा ३०७२ एमबी र्याम जडान गरिएको छ ।
सर्फेस प्रो–४
यो वर्ष सर्वाधिक खोजिएको अर्काे ग्याजेट्स हो सर्फेस प्रो–४ । माइक्रोसफ्टको यो ग्याजेट्स २६ अक्टुबरमा सार्वजनिक गरिएको थियो । यसमा पावरफूल सिपीयू रहेको कम्पनीको दाबी छ । १२.३ इन्चको यो ग्याजेट्समा १६ जीबी र्याम तथा १ टिबी स्टोरेज क्षमता छ ।