मानिसले प्रयोग गर्ने मूल्यवान् ८ धातु रुदेनियम, ओस्मियम, ह्रोडियम, इरिडियम, पालाडियम, प्लेटिनम, चाँदी तथा सुनमध्ये सबैभन्दा लोकप्रिय धातु सुन नै हो ।
सुनलाई रसायनको भाषामा औरम भनिन्छ । पेरियोडिक टेबलमा सुनलाई जनाउन ‘एयू’ अक्षर प्रयोग गरिन्छ ।
अंग्रेजीमा सुनलाई गोल्ड भनिनुको कारण अंग्रेजी भाषाअनुसार गोल्डको अर्थ पहेंलो हुनु हो ।
सुन कहिलेदेखि प्रयोगमा आयो भन्ने कुराको यकिन तथ्यांक छैन, तैपनि यो धातु सबैभन्दा पहिले सिन्धुघाटी सभ्यताको केन्द्र मोहेन्जोदाडो, हडप्पा, मेसोपोटामिया, असिरिया र नाइल नदीको सभ्यता क्षेत्रमा प्रयोग भएको अनुमान गरिन्छ ।
अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो सुनको गहना मेसोपोटामिया (अहिलेको इराक) मा पाइएको छ जुन २ हजार ६ सय इसापूर्वको भएको पुरातत्वविद्हरूको अनुमान छ । यसैगरी सबैभन्दा पुरानो सुनको सिक्का अहिलेको पश्चिम टर्कीस्थित तत्कालीन लिडिया साम्राज्यमा पाइएको छ जुन इसापूर्व
छैटौं शताब्दीमा प्रचलनमा आएको थियो ।
सुन मूल्यवान् हुनुको कारण यसको लचकतालाई मानिएको छ । १ औंस सुनबाट ८० दशमलव ४ किलोमिटर लामो तार बनाउन सकिन्छ । पृथ्वीमा उपलब्ध सम्पूर्ण सुनलाई ५ माइक्रोन पातलो सुनको तारमा परिणत गर्दा त्यसले हाम्रो पृथ्वीलाई ७२ लाखपटक बेर्न पुग्छ ।
१ आंैस शुद्ध सुनलाई पिटेर पातलोभन्दा पातलो बनाउने हो भने त्यसलाई ९ वर्गमिटरसम्म फैलाउन सकिन्छ जुन पारदर्शीसमेत हुन्छ ।
नरम भए पनि सुन पगाल्नका लागि १ हजार ६४ डिग्री सेन्टिग्रेड बराबरको तापक्रम चाहिन्छ । त्यसैगरी सुन उमाल्न २ हजार ८ सय ८ डिग्री सेन्टिग्रेड बराबरको तापक्रम चाहिन्छ ।
पृथ्वीमा अहिलेसम्म १ लाख ७१ हजार ३ सय टन सुन प्रयोगमा आइसकेको अनुमान छ, जसमध्ये ९० प्रतिशत सुन सन् १८४९ मा क्यालिफोर्नियाको सुनखानी पत्ता लागेपछि प्रयोगमा आएको हो ।