साप्ताहिक संवाददाता
त्यतिबेला गाउँमा होटल खुलिसकेका थिएनन् । तैपनि कास्की ल्वाङ घलेल, सिदिङका २८ वर्षीय सुदीप गौतम डाँडाकाँडामा डोकोमा खाद्य सामग्री बोकेर पर्यटकहरूलाई सेवा प्रदान गर्थे । पाँच कक्षामा पढ्दा नै उनी डोकोमा बिस्कुट–चिया आदि खाजा बोकेर पर्यटकलाई ख्वाउँथे । उनी त्यतिबेला अन्नपूर्ण पदयात्रा मार्गको मर्दी हिमाल रुटमा सक्रिय थिए । त्यतिबेला मर्दी हिमाल रुटमा फाटफुट्ट मात्र पर्यटक आउँथे । उक्त क्षेत्रमा होटल नभएकाले पर्यटकहरू लेकतिरका ओढार र गोठमा बस्न बाध्य थिए ।
पर्यटकले चिया खोजेपछि उनी पनि आफ्ना बाबुसँगै गोठमा बसेर पर्यटकलाई सेवा प्रदान गर्न थाले । स्याउलाले बारेको गोठमा पर्यटकहरूलाई बसाउँदा धेरै सास्ती झेल्नुपथ्र्यो । त्यतिबेला मर्दी हिमाल रुट प्रचारमा आइसकेको थिएन । गौतम र उनको परिवारले त्यहाँ पुग्ने पर्यटकलाई सेवा नदिएको भए अहिले यो पदयात्रा मार्गले पर्यटकको हूल देख्न पाउने थिएन ।
अंग्रेजीमा स्नातकोत्तर गौतम अहिले यो क्षेत्रको पर्यटन व्यवसायमा नमुना बनेका छन् । उनले पोखराबाट २५ किलोमिटर टाढा पर्ने कास्कीको अन्तिम गाउँका रूपमा समेत परिचित मर्दी हिमाल पदयात्रा मार्गमा घरमै पर्यटक राख्दै मर्दी हिमालको हाईक्याम्पमा सुविधायुक्त होटल खोलेको पनि एक दशक भन्दा बढी भैसकेको छ, जुन यो क्षेत्रकै पहिलो होटल हो । अहिले पनि त्यहाँ उनको बाहेक अर्को एउटा मात्र होटल छ । मर्दी हिमालको प्रवेशद्वार मानिने सिदिङको नांगो डाँडामा उनले चार वर्षअघि सुविधासम्पन्न होटल निर्माण गरेका हुन् । सहरदेखि टाढा सबै सुविधासहितको होटल देखेर जोकोही पनि दंग पर्छन् । पर्यटकलाई सेवा दिएर ग्रामीण पर्यटन प्रर्वद्धन गर्न गाउँमै सुविधा सम्पन्न होटल बनाएको गौतमले बताए । सिदिङ र हाइक्याम्पमा खोलिएको उनको होटलले राम्रो सेवा दिन थालेपछि पर्यटक आउने क्रम बढेको छ ।
सुदीप ०६१ सालमा होटल म्यानेजमेण्ट पढ्न स्वीजरल्यान्ड जाने तयारीमा थिए, तर गाउँमै पर्यटक आउन थालेपछि उनलाई यही बसेर केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनले युरोप जाने योजना थाती राखेर गोठ तथा ओढारमा बसेर पशुपालन गर्ने गाउँलेहरूलाई संगठित गरे ।
गाउँमा पर्यटनको सम्भावना देखेपछि मर्दी हिमाल ट्ेरक पहिचान गराउनेतर्फ अग्रसर भए । ब्रोसर–पम्लेट बनाएर आफैं काठमाडांैको ठमेलदेखि पोखराको लेकसाइडसम्म मर्दी हिमाल ट्ेरकमा पर्यटक पठाउन ट्ेरकिङ एजेन्सीहरूसँग हारगुहार गरे । यो ट्ेरकिङ रुटको प्रचारका लागि आफ्नो श्रम र पैसा पनि बढी खर्चिए । अहिले गाउँकै एक दर्जनभन्दा बढी युवालाई ट्रेकिङ गाइड बनाएर रोजगारीको अवसर समेत सिर्जना गरेका छन् । उनकै अगुवाइमा ०६२ सालमा मर्दी ट्ेरक पर्यटन व्यवस्थापन तथा समिति गठन भयो भने उक्त रुटले पहिचानसमेत पायो ।
ओझेलमा परेको पदयात्रा मार्गलाई ब्यँुत्याएकै कारण उनलाई यो क्षेत्रमा सबैले सम्मान गर्छन् । गौतमले मर्दी हिमाल ट्ेरकलाई चिनाउन ०६५ सालसम्म अभियान नै चलाए । गाउँलेहरूलाई होटल खोल्न उत्प्रेरित गरे । ट्ेरकको प्रचारप्रसार गरेर होटल खोलेपछि पाँच वर्ष यता उक्त क्षेत्रमा विदेशी पर्यटक हूल बाँधेर पुग्न थालेका छन् ।
गाउँमा पर्यटकको लर्को र पर्यटन व्यवसाय फस्टाएको देखेर सुदीप यतिबेला खुसी छन् । ‘गाउँमै केही गरौं भनेर सहर र विदेशको मुख ताकिनँ,’ सुदीपले भने– ‘व्यक्तिगत नभै समग्र गाउँको पर्यटन विकासमा लागेकाले नै यो सफलता प्राप्त भएको हो ।’