नेपाली भर्सनको बुल फाइटको मज्जा लिने सोचमा हुनुहुन्छ भने नुवाकोटको तारुकासम्म पुग्नैपर्छ । स्पेनको विश्वप्रसिद्ध बुलफाइटको झझल्को दिने तारुकाको गोरुजुधाइलाई आन्तरिक पर्यटनका रूपमा विस्तार गर्न स्थानीय बासिन्दाहरू यतिबेला सक्रिय छन् । माघेसंक्रान्तिको अवसर पारेर ‘तारुकाको पौरख नेपालीको गौरव’ भन्ने नाराका साथ नुवाकोटको तारुकामा गोरु जुधाई मेला हुन गैरहेको छ र मेलाको तयारी तीव्र रूपमा अघि बढाइएको छ ।
पछिल्ला वर्षहरूमा निकै चर्चा बटुलेको यो गोरुजुधाई प्रतियोगिताले आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्वनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यो वर्ष तारुकाको चन्दनीस्थित कटरबोटे पाटोमा २० हल गोरु जुधाइने मेला व्यवस्थापन समितिले जनाएको छ । किसानहरूले प्रतियोगिताकै लागि भनेर पालेका गोरु दर्ता गर्ने क्रम पनि सुरु भैसकेको छ । प्रतियोगिताका विजेता गोरुधनीलाई नगद र प्रमाणपत्र दिइनेछ भने गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दानासहित दुर्घटना बिमा समेतको व्यवस्था गरिने बताइएको छ ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरका ज्वाइँ जयपृथ्वीबहादुर सिंहलाई तारुकास्थित मावली घर आएका बेला मनोरञ्जन प्रदान गर्ने क्रममा गोरु जुधाउने खेल प्रारम्भ भएको बताइन्छ । त्यसयता बर्सेनि आयोजना गरिने यो खेललाई व्यवस्थित गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय पहिचान दिलाउने क्रममा वि. सं. २०६२ देखि मेला व्यवस्थापन समिति नै गठन गरेर काम हुँदै आएको छ ।
अहिले उक्त मेला हेर्न छिमेकी जिल्ला धादिङ, काठमाडौं, चितवन, रसुवा आदि धेरै ठाउँका मानिसहरू आउने गरेका छन् । यो मेलाको प्रचारप्रसार गरे पर्यटन विकासमा टेवा पुग्ने सरोकारवालाहरूले बताएका छन् । मौलिक परम्पराका रूपमा मनाइँदै आएको यो मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार एवं प्रवद्र्धन गर्न सके स्थानीय गरिबी निवारण तथा सम्मुनत गाउँ निर्माण गर्न मद्दत पुग्ने स्थानीय बासिन्दाहरू बताउँछन् ।
कसरी पुग्ने तारुका ?
काठमाडौंबाट तारुका जान कलंकी हुँदै गल्छी–त्रिशूली सडकखण्ड प्रयोग गर्न सकिन्छ, यो सबैभन्दा छोटो रुट हो । त्यसबाहेक पासाङल्हामु राजमार्गअन्तर्गतको काठमाडौं–पीपलटार देवीघाटको बाटो हुँदै पनि तारुका पुग्न सकिन्छ ।
पोखरा र चितवनतर्फबाट आउने दर्शकहरू मुग्लिङ, गल्छी हुँदै तारुकाघाट पुग्न सक्छन् । काठमाडौंबाट करिब ६५ किलोमिटर मात्रको दूरीमा रहेको मेलास्थलसम्म मोटरसाइकलमार्फत पनि पुग्न सकिन्छ ।
के–के लाने ?
गोरु जुधाइ मेलामा पुग्ने अधिकांश मानिस त्यसैदिन फर्कन्छन् । होटलहरूको राम्रो प्रबन्ध नभएकाले त्यहाँ पुग्नेहरू स्थानीय बासिन्दाहरूको घरमा बास बस्छन् । विगत केही वर्षयता मेला अवलोकन गर्न पुग्नेहरूका लागि चियाचमेनाका अस्थायी होटलहरूको प्रबन्ध गर्ने गरिएको छ । चिसो मौसम भएकाले रात बिताउन चाहनेहरूले आफैले स्लीपिङ ब्यागको प्रबन्ध गर्नु
उपयुक्त हुन्छ ।