दीपकराज जोशी, कार्यकारी निर्देशक, नेपाल पर्यटन बोर्ड
नेपालको पर्यटन उद्योग खस्कनु र पर्यटन बोर्डमा भ्रष्टाचार मौलाउनुलाई अनौठो संयोग मानिन्छ । बितेका केही वर्षमा पर्यटन बोर्डमा भएका भ्रष्टाचारका ठूला–ठूला घटना बाहिर आए । यही दबाबका बीच नयाँ वर्ष २०१६ सँगै पर्यटन बोर्डले नयाँ कार्यकारी निर्देशक पाएको छ । पर्यटन उद्योगका लागि दीपकराज जोशीको कार्यकाल महत्वपूर्ण मानिएको छ । व्यवस्थापन तथा समाजशास्त्रमा स्नातकोत्तर जोशी १५ वर्षदेखि पर्यटन बोर्डमा कार्यरत छन् । सामान्य अधिकृतका रूपमा पर्यटन बोर्डमा प्रवेश गरेका जोशी डेढ दशकमै उक्त निकायको प्रमुख चुनिएपछि साप्ताहिकले उनीसँग लामो कुराकानी गरेको थियो ।
नेपालमा माथिल्लो निकायमा पुग्न सत्तानिकट दलको कार्यकर्ता हुनुपर्छ वा क्षेत्रीय तथा जातीय सन्तुलन मिलेको हुनुपर्छ भन्ने मान्यता छ । तपाईं यसविपरीत देखिनुभयो, कसरी ?
खासमा त्यो बाहिर देखिने कुरा हो । सरकार वा सम्बन्धित निकायलाई सधैं राम्रो काम गर्ने मानिस चाहिन्छ । पर्यटन बोर्डसँग निजी–सरकारी दुवै तहको उत्तिकै सरोकार हुने भएकाले यसमा सबैलाई सँगै लिएर हिँड्न सक्ने भिजनयुक्त मानिस चाहिन्छ । सबैले स्वतन्त्र र क्षमतावान् मानिस खोज्नुभएको हुन सक्छ । यसअघि कार्यकारी निर्देशक नियुक्त हुँदा जुन विवाद आउने गरेको थियो, मेरो नियुक्तिमा त्यो देखिएन ।
कार्यशैली एउटा कुरा हो, अहिलेको परिस्थितिमा पर्यटनलाई माथि उठाउनु दोस्रो कुरा हो । भिजन के छ तपाईंको ?
कार्यशैली ठीक भएन भने गन्तव्यमा पुग्न गाह्रो हुन्छ । पदमा पुग्नेसबैको उद्देश्य राम्रै हुन्छ तर कामले नै परिणाम दिने हो । म कार्यशैलीलाई भिजन जत्तिकै महत्व दिन्छु ।
४ वर्षका लागि यो पदमा आउनुभएको छ, के–के परिणाम दिने योजना बनाउनुभएको छ ?
मसँग हरेक वर्षका योजना छन् । म व्यवहारिक रूपमै नेपालको पर्यटन उद्योग उकास्न सकिन्छ भनेर आएको हुँ ।
सन् २०१६ मा के–के परिवर्तन देख्न सकिएला ?
सन् २०१४ मा नेपालमा ८ लाख पर्यटक भित्रिएका थिए । हरेक उद्यमीको अनुहार उज्यालो थियो । पर्यटकको यो स्तरको आगमन देखेर उद्यमीहरूले धमाधम ऋण लिएर होटलका कोठा बढाउने, कर्मचारी थप्ने, नयाँ–नयाँ स्थानमा लगानी गर्ने काम गरेका थिए । सन् २०१५ लागेपछि संविधानका विषयमा केही गडबडी भएको समाचार संसारभर फैलियो । त्यति बेला संसद्मा तोडफोडजस्ता घटना भएका थिए । केही महिनापछि भूकम्प गइदियो । त्यसले एकाएक पर्यटन उद्योगलाई सोत्तर बनायो । समाचारमा नेपाल ध्वस्त भएका समाचार बाहिर गएपछि पर्यटकहरू असाध्यै डराए । पर्यटनकर्मीहरूले ठूलो मेहनत गरेर आफ्ना ग्राहक फकाइरहेका थिए, अचानक नाकाबन्दीको समाचार फैलियो । यसले फेरि अप्ठ्यारो पार्यो । यी सबै कारणले अघिल्लो वर्ष ८ लाख पर्यटक आउँदा यसपटक ३ लाख मात्र पर्यटक आउन सके । यसले एकाएक पर्यटनकर्मीहरू ओइलाउन पुगे । यस्तो बेला मेरो नियुक्ति भएको छ । सन् २०१६ भरि मेरो काम भनेको आत्मविश्वास गुमाएका पर्यटनकर्मीहरूको मनोबल बढाउने हुनेछ । सरकार र निजी क्षेत्र मिलेर यो क्षेत्रलाई कसरी बचाउने, कहाँ कहाँ सुधार गर्नुपर्छ भनेर लाग्ने काम गर्छु । यसका लागि म पर्यटन मन्त्रालयबाट जसरी पनि बजेट विनियोजन गर्न लागीपरेको छु । सन् २०१६ भरि मेरो काम नेपालको पर्यटन बचाउने मात्र हुनेछ ।
सन् २०१७ मा के गर्नुहुन्छ ?
पर्यटन व्यवसायीमा आत्मविश्वास आयो भने उहाँहरूकै सहयोगमा ८ लाख पर्यटक पुर्याउन काम गर्नेछु । सन् २०१४ मा ८ लाख पर्यटक आएका थिए, सबैभन्दा पहिले हामी पुरानै अवस्थामा फर्कनुपर्छ । त्यसका लागि सरकारले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलाग्ने निर्णय गरिसकेको छ । चाँडै भारतसँग सम्बन्ध राम्रो हुन्छ । यो सम्बन्धको सुरुवात नेपालको पर्यटन उद्योगलाई टेवा दिँदै गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । भारत र चीनका पर्यटक बढ्नेबित्तिकै हामी पुरानो अवस्थामा पुग्छौं । आन्तरिक पर्यटनका गतिविधिमा पनि ध्यान दिन्छौं । आन्तरिक पर्यटकले बाहिर र बाह्य पर्यटकले काठमाडौंका उद्यमीहरूको अनुहारमा खुसी ल्याउने काम गर्नेछु ।
सन् २०१८ को पनि योजना छ कि ?
सन् २०१८ लाई पर्यटन वर्ष घोषणा गर्ने योजना छ । सन् १९९८ मा नेपालले नेपाल पर्यटन वर्ष घोषणा गरेर ५ लाख पर्यटक भित्र्याउने योजना बनाएको थियो । १९९९ मा त्यो लक्ष्य पूरा भयो । सन् २०११ मा नेपाल गन्तव्य वर्ष घोषणा गरेर ८ लाख पर्यटक पुर्याउने लक्ष्य राख्यौं, नभन्दै सन् १२ देखि १४ सम्म करिब ८ लाख पर्यटक नेपाल आए । यसको अर्थ के हो भने नेपालले जुन–जुन बेला निश्चित उद्देश्य लिएर पर्यटन क्षेत्रमा काम गरेको छ, लक्ष्य पूरा भएको छ । सन् २०१८ मा हामी १५ लाख पर्यटक पुर्याउने उद्देश्यले विशेष वर्ष घोषणा गर्नेछौं । आफ्नो कार्यकालभित्रै १५ लाख पर्यटक पुर्याएर म बिदा हुनेछु । यो नै मेरो जीवनको लक्ष्य हो ।
आजको दिनमा ३ लाख पर्यटक आइरहेका छन् । दुई–तीन वर्षमै १५ लाख पुर्याउँछु भन्नु धेरै महत्वाकांक्षी योजना भएन र ?
विश्वका विकसित मुलुकमा पर्यटकहरूको आवागमनको चार्ट हेर्यौं भने हामी छक्क पर्छौं । हङकङ, सिंगापुरजस्ता मुलुकमा वार्षिक करोडभन्दा बढी पर्यटक पुग्छन् । ती साना मुलुकमा त्यत्रो संख्यामा पर्यटक जान्छन् भने हामीकहाँ आउँदैनन् भन्ने मलाई लाग्दैन । विकसित मुलुकको कुरा छाडिदिऊँ, श्रीलंका र कम्बोडियाजस्ता द्वन्द्वले ग्रस्त मुलुकमा समेत पर्यटकको संख्या ह्वात्तै बढेको छ । अहिले कम्बोडियामा वार्षिक ३६ लाख पर्यटक पुग्छन् । श्रीलंकामा द्वन्द्व समाप्त भएको ५ वर्ष पुगेको छ, त्यहाँ पर्यटकको संख्या १३ लाख पुगिसक्यो । नेपाललाई पनि त्यस्तै द्वन्द्वबाट गुज्रिएको मुलुक मान्ने हो भने हामी पनि लक्ष्य पूरा गर्न सक्छौं । त्यसमाथि नेपाल आफंैमा सुन्दर देश हो । यो लक्ष्य नपुग्ने कुनै कारण छैन ।
त्यसका लागि के–के गर्नुहुन्छ । किनभने लक्ष्य पुग्न काम त गर्नुपर्छ ?
पर्यटन प्रवद्र्धनमा हामी चलाखीपूर्वक लाग्छौं । जस्तो रूसबाट टर्की जाने पर्यटकको संख्या १० औं लाख थियो । गत वर्षदेखि टर्कीसँग रूसको सम्बन्ध बिग्रियो । त्यसपछि रूस जाने पर्यटक छरिएर भारतको गोवातिर आउन थालेका छन् । अब यस्तो बेला हामीले रूसका पर्यटक तान्न थोरै मेहनत गर्दा पनि ठूलो संख्यामा रूसी पर्यटक यहाँ आइपुग्छन् । यसलाई मैले चलाखीपूर्ण प्रवद्र्धन भनेको हुँ । अर्को कुरा, गैर आवासीय नेपालीहरूको विश्वमा ठूलो पहुँच भैसकेको छ । सानातिना कुराबाहेक उहाँहरूबाट हामीले पर्यटन क्षेत्रमा ठूलो काम लिन सकेका छैनौं । जबकि उहाँहरू आफैं नेपालको पर्यटन क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, सरकारलाई सघाउन तयार हुनुहुन्छ । हामी उहाँहरूभन्दा पछि परेका छौं । म उहाँहरूको सहयोग लिएर काम अघि बढाउँछु । त्यसबाहेक नेपाल भनेको हिमालको देश भन्ने छाप परेको छ, जबकि हाम्रो देश चाड–पर्वहरूको देश हो । १२ महिना २४ वटा ठूला–ठूला पर्व मनाउने देश हो । ५० किलोमिटरको दूरीमा हामी फरक भाषा, फरक पोसाक लगाएका मानिस भेट्छौं । केही दूरीमै फरक हावापानी भएको भूगोल भेट्छौं । यी कुरालाई हामीले मार्केटिङ गर्न सकेका छैनौं । सबैभन्दा ठूलो कुरा हाम्रो आथित्य सत्कार गर्ने शैली संसारमै सबैभन्दा राम्रो छ । विश्वमा म जहाँ पुगेँ, त्यहाँका पर्यटकले नेपाल भन्नेबित्तिकै दुईवटा कुरा भन्ने गरेका छन्, एउटा सुन्दर मुलुक र अर्को हँसिला जनता । हाम्रो हावापानी मात्र अग्र्यानिक छैन, सेवा पनि अग्र्यानिक छ । यो हाम्रो राष्ट्रिय संस्कृति हो । यही सेवा प्राप्त गर्न पनि उनीहरू बारम्बार नेपाल आइरहेका छन्, जसलाई गुम्न नदिने प्रयास गर्छु ।
उद्देश्य राम्रो राख्नुभएको छ, तर यी सबै काम गर्न धेरै अवरोध छन् भन्ने लाग्दैन ?
म कुनै लोभ लिएर यहाँ आएको होइन । काम गर्ने उद्देश्य राखेपछि राजनैतिक वा अन्य कुनै अवरोध आउँछ भन्ने म मान्दिनँ । म पर्यटन बोर्डको कर्मचारी भएर विगतमा निर्णायकहरूले गरेका कमजोरीहरू राम्रोसँग देखेको छु । त्यसैले ती गल्ती दोहोरिँदैनन् । जहाँसम्म राष्ट्रिय अप्ठ्यारा छन्, त्यसमा भने केही सुधार हुनैपर्छ । राजनैतिक कारणले हुने बन्द–हड्ताल अब रोकिनुपर्छ । यो कुरामा सबै सहमत हुनुहुन्छ । अब त्यस्तो नहोला भन्नेमा म आशावादी छु । दोस्रो र महत्वपूर्ण कुरा, हाम्रो एयरपोर्टले वार्षिक १५ लाख पर्यटक धान्ने क्षमता राख्दैन । पोखरा र भैरहवामा क्षेत्रीय विमानस्थल बनाउने निर्णय भैसकेको छ । सन् २०१८ सम्ममा त्यो पुरा हुने लक्ष्य राखिएको छ । त्यसैले म अवरोधभन्दा बढी सम्भावना देख्छु ।