साप्ताहिक संवाददाता
म २५ वर्षीया गर्भवती महिला हुँ । मेरो यो दोस्रो गर्भ हो । मेरो पहिलो सन्तान ३ वर्षअघि अप्रेसन (सिजरियन) गरेर भएको थियो । यस पटक पनि अप्रेसन नै गर्नुपर्ने हुन्छ कि नर्मल डेलिभरी पनि हुन सक्छ ? मलाई डर लागिरहेको छ ।
सी.
सामान्यत: पहिले सिजरियन गरेर डेलिभरी भएको अवस्थामा अर्को पटक डेलिभरी हुँदा अप्रेसन (सिजरियन) गर्नुपर्ने सम्भावना बढी हुन्छ, तर नर्मल डेलिभरी हँुदैन भन्ने होइन । सिजरियन पछि नर्मल डेलिभरी गर्ने प्रक्रियालाई ‘भीब्याक’ अर्थात् भजाइनल बर्थ आफटर सिजरियन भनिन्छ ।
अमेरिकामा सन् १९९६ मा भीब्याकको दर उच्च (२८ दशमलव ३ प्रतिशत) थियो । अहिले सिजरियन डेलिभरी प्रसूतिको अन्तिम विकल्पका रूपमा रहने गरेका कारण भीब्याकको दर घटेको छ । नेपालमा पनि उल्लेखनिय संख्यामा भीब्याक हुने गरेको छ, तर भीब्याक रोज्नुभन्दा अघि पहिले सिजरियन गरेका कारण, जन्मान्तर, शिशुको अवस्था एवं स्वास्थ्य संस्थाको सुविधाजस्ता कुरामा ध्यान पुर्याई चिकित्सकसँग परामर्श गरेर मात्र निर्णय लिनुपर्छ । तपाईंको प्रश्नमा सबै कुरा स्पष्ट नभएकाले तपाईको भीब्याक गर्न सकिने– नसकिने यसै भन्न सकिँदैन ।