साप्ताहिक संवाददाता
पोखराबाट नजिकको पर्यटकीय गन्तव्य ल्वाङघलेलमा दुई वर्षअघि प्रारम्भ भएको साहसिक खेल क्यानोनिङले स्वदेशी तथा विदेशीहरूलाई आकर्षित गरिरहेको छ । गर्मी होस् वा जाडो जुनसुकै मौसममा पनि क्यानोनिङको मज्जा लिन सकिन्छ । यो खेल यो क्षेत्रकै नयाँ पर्यटकीय आकर्षण बनेको छ । अहिले यो जाडो मौसममा पनि चिसो पानीमा भिज्दै क्यानोनिङमा रमाउनेहरूको बाक्लो भीड देख्न सकिन्छ ।
पोखराको गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूको समूहले हालै त्यहाँ पुगेर क्यानोनिङको मज्जा लिए । ‘जाडोको समेत परवाह नगरी क्यानोनिङ गर्नेहरू समूह बनाएर आउने गरेका छन्, ’ पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङले भने, ‘सबैले रुचिका साथ यो प्राकृतिक छहरामा क्यानोनिङ गरिरहेका छन् ।’ गुरुङका अनुसार विशेष गरी कलेज लेबलमा अध्ययनरत युवायुवतीहरू क्यानोनिङमा रमाउन आउने क्रम बढेको छ ।
पानीको छहरामा डोरीमा झुन्डिएर खेलिने खेलका लागि कुदी छहरालाई प्रमुख गन्तव्य बनाइएको छ । १ सय ३५ फिट लामो छाँगोमा सानो तथा ठूलो गरी पाँचवटा छहरा छन् । पोखराबाट २० किलोमिटरको दूरीमा रहेको क्यानोनिङ स्पटमा लाने–ल्याउने तथा खाने–बस्ने प्याकेजसहितको व्यवस्था संस्थाले मिलाउँछ । क्यानोनिङ गर्नुअघि टाउकोमा हेलमेट, वेटसुट (विशेष किसिमको कपडा) तथा हारनेस सेट अनिवार्य लगाउनुपर्छ । छहराको फेदबाट क्यानोनिङ गर्न चार मिनेटजति ठाडो उकालो उक्लनुपर्छ ।
सिपालुहरू छहराको टुप्पोबाट पाँच मिनेटमै तल झर्छन् भने सिकारुहरूलाई १५ देखि २० मिनेट लाग्छ ।
‘पोखरानजिकैको छोटो दूरीमा अवस्थित यो गाउँको चियाबारी पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ । अहिले थप आकर्षणका रूपमा साहसिक खेल क्यानोनिङ भित्रिएको छ । नेपाल आउने थुप्रै पर्यटक क्यानोनिङमा रमाउन थालेका छन् । नेपालमा सन् २००७ मा मात्र यो खेलले प्रवेश पाएको हो । नेपालमा लमजुङ, मनाङ, सिन्धुपाल्चोकको भोटेकोसी, नुवाकोटको ककनी तथा काभ्रेमा पनि क्यानोनिङ खेलको सुविधा छ । लमजुङमा त अन्तर्राष्ट्रिय स्तरको क्यानोनिङ प्रतियोगितासमेत सम्पन्न भैसकेको छ । राम गुरुङले तीन वर्षको सफल परीक्षणपश्चात् यस क्षेत्रमा क्यानोनिङको व्यवसायिक खेल भित्र्याएका हुन । अन्तिम गुरुङ, भक्तबहादुर विक, खुसीमान गुरुङ, वासुदेव गौतमजस्ता स्थानीय युवा प्रशिक्षणपश्चात् क्यानोनिङका कुशल गाइड बनेका छन् ।