साप्ताहिक संवाददाता
चलचित्रको तुलनामा म्युजिक भिडियोमा बढी सक्रिय नायिका अनु शाहसँग चलचित्रकर्मीको एउटा गुनासो छ । उनी सार्वजनिक समारोहमा कमै उपस्थिति हुन्छिन् ।
आफूले अभिनय नगरेका चलचित्रमा त अनुको उपस्थिति अथवा अनुपस्थितिले खासै महत्त्व राख्दैन, तर उनलाई आफ्नै चलचित्रका सार्वजनिक समारोहमा समेत अनुपस्थित रहने आरोप लाग्दै आएको छ ।
केही महिनाअघि प्रदर्शन भएको निखिल उप्रेतीको चलचित्र ‘भैरव’ को प्रचार अभियानमा पनि अनु निष्क्रिय थिइन् । चलचित्रले व्यवसायिक सफलता पाइसकेपछि मात्र अनुलाई केही समारोहमा देखिएको थियो । यतिबेला अनुले अभिनय गरेको चलचित्र ‘लक्ष्य’ प्रदर्शनको तयारीमा छ । अघिल्लो साता चलचित्रले फस्ट लुक सार्वजनिक गर्ने कार्यक्रम आयोजना गर्यो, तर अनु समारोहमा देखिइनन् ।
समारोहमा अभिनेता सविन श्रेष्ठसँग नयाँ नायिका सारिका केसी हावी रहिन् । सञ्चारकर्मीले अनुको अनुपस्थितिका बारेमा जिज्ञासा राखे तर निर्माण पक्षले चित्तबुझ्दो जवाफ दिएन । आफ्नै चलचित्रको प्रमोशनमा उपस्थित नहुनु अनुको व्यस्तता हो कि बाध्यता ? बुझ्न गाह्रो छ ।