साप्ताहिक संवाददाता
नेपाली टेबलटेनिसकी नम्बर १ महिला खेलाडी हुन्— नविता श्रेष्ठ । नेपाल प्रहरीसँग आबद्ध श्रेष्ठले २०६५ सालयता घरेलु प्रतियोगितामा उपाधि गुमाएकी छैनन् । पहिलो अन्तर्राष्ट्रिय सहभागिता (एसियन जुनियर टेबलटेनिस च्याम्पियनसिप/सन् २००६) मा कांस्य पदक जितेकी श्रेष्ठसँग ११ औं साग, एसियन, वल्र्डच्याम्पियनसिपलगायत ६–७ अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ । श्रेष्ठसँग साप्ताहिकको ५ प्रश्न :
१२ औं सागको तयारी कस्तो छ ?
छनोटअघि एमबीएको पढाइमा व्यस्त थिएँ । अहिले सागमा ध्यान केन्द्रित गरेकी छु । बन्द प्रशिक्षण सुरु भएयता दैनिक ६ घण्टा अभ्यास गरिरहेकी छु । बैंककमा दिनभरि नै ट्रेनिङ गर्नेछु, जसले मेरो तयारीलाई अझ राम्रो गर्नेछ ।
खेलको स्तर कस्तो छ ?
पहिलेको तुलनामा सुधार आएको महसुस गरेकी छु । यति तयारी भएको भए ढाका सागमा पनि केही गर्न सक्थें ।
१२ औं सागमा पदक जित्ने सम्भावना कस्तो छ ?
सम्भावना र आशा दुवै छ । टिम स्पर्धामा पदकको सम्भावना बढी छ । त्यसैगरी डबल्स, सिंगल्स र मिक्स डबल्समा पनि आशा राखेकी छ ।
बलियो प्रतिद्वन्द्वी कसलाई मान्नुहुन्छ ?
हाम्रो मुख्य प्रतिस्पर्धा श्रीलंकासँग हुने हो । सबैभन्दा बलियो मानिएको भारतसँग पनि प्रतिस्पर्धा गर्ने विश्वास लिएकी छु ।
टेबलटेनिसबाहेक अन्य कुन–कुन खेल खेल्नुभयो ?
हाम्रो टोलमा फुटबल खेल्ने केटीहरूको माल्चाताल नामक क्लब नै थियो । तेक्वान्दोमा पनि हाफ ब्ल्याकबेल्टसम्म पुगें । क्रिकेट, ब्याडमिन्टनजस्ता खेल पनि खेलें । टेबलटेनिस खेल्न थालेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाएँ र यसैमा करियर बन्यो ।