दिनदिनै भेटिरहने वा धेरै पछि भेटिएको साथी होस् वा आफन्त कुराकानीको सिलसिलामा के छ हालखबर भनेर सोध्यो भने सुरु भैहाल्छ— के हुनु ? टेन्सन छ यार । अनेक थरी मानिसका अनेक थरी टेन्सन । कसैलाई श्रीमान्ले कुरा नबुझेको टेन्सन, कसैलाई खर्चालु वा किचकिचे श्रीमतीको टेन्सन, कसैलाई जागिरको टेन्सन, कसैलाई तलब समयमा नआएको टेन्सन, कसैलाई भिसा नलागेको, कसैलाई छोरा वा छोरी नभएको, कसैलाई परीक्षामा उत्तीर्ण नभएको, कसैलाई प्रेमीले छोडेको, गृहिणीलाई छोराछोरीले खाना नखाइदिएको, छोराछोरीले राम्रोसँग नपढिदिएको, रक्सी खाएर घर आउने पतिको टेन्सन, सासुको टेन्सन, बुहारीको टेन्सन, धेरै गृहकार्य दिने शिक्षकको टेन्सन, पैसा कमाउन नसकेको टेन्सन, बिहे नभएको टेन्सन, छोडपत्र गर्न नसकेको टेन्सन, कर्मचारीलाई अख्तियारको टेन्सन, नेतालाई सत्ता जोगाउने टेन्सन, ग्याँस, पेट्रोल नपाएको टेन्सन, किसानलाई असिनापानी, बाढी–पहिरोको टेन्सन । मानिसै पिच्छेका नाना थरीका टेन्सनले हरेक मानिस घेरिएको छ ।
चाहे चियापसल होस् वा भट्टी मानिसहरू टेन्सन नै साटिरहेका भेटिन्छन् । देश त खत्तम नै भो’ । नेताले स्वाहा पारे । न बिजुली छ, न काम गर्ने वातावरण । मानौं यहाँ राम्रो र गतिलो कुरा त केही पनि छैन । एउटाले हेर्दा अर्कोलाई खुसी र सुखी देख्छ, तर भेटेर कुरा गर्ने हो भने उसले पनि आफ्नो टेन्सन साटेर थप टेन्सन नै दिन्छ । विदेशमा बसेको साथीलाई के छ यार भन्यो, के हुनु टेन्सन छ यार नै भन्छ ।
तँलाई के टेन्सन छ ? तँ त राम्रो ठाउँमा छस्, कमाएको छस् भन्यो भने गधाको जिन्दगी छ के मोज हुनु भन्छन् । कुद्या छ, कुद्या छ, घण्टाको यति आउँछ भन्यो घोटियो, पैसा–पैसा भन्या छ, फुर्सद भए पो मज्जा यार । यसो कतै घुम्न जान पनि साइत कुर्नुपर्छ, साथीभाइ जम्मा हुन महिनौं कुर्नुपर्छ लाइफ नै छैन यार बरु त्यतै मज्जा छ बस्न त, के मज्जा यार यस्तो जिन्दगी । यता बसेकाहरूलाई लाग्छ खुब गफ दिन्छ विदेशमा बसेर, तर जब आफैं भोग्नपुग्छ तब बल्ल थाहा हुन्छ ठीकै भन्या रै’छ । वारि बस्नेले हेर्दा पारि बस्नेको जिन्दगी राम्रो पारि बस्नेले हेर्दा वारि बस्नेको । यहाँ आफ्नो पेसा कसैलाई राम्रो लाग्दैन । कसैले आफूले गरिरहेको काम त भुलेर पनि नगर्नु भन्छ । सबैलाई अरूकै जिन्दगी, अरूकै काम ठीक भन्ने लाग्छ । धेरैलाई लाग्छ आफू सबैलाई बुझ्छु तर आफूलाई कसैले बुझ्दैनन्, त्यसैले हरेक मानिस विरक्तिएको भेटिन्छ ।
आखिर कोही जानी–नजानी किन तनाव लिएर बाँच्छ त ? धेरै मानिस अरूको जीवनसँग आफ्नो जीवन दाँजेर बाँच्छन् र दु:खी हुन्छन् । आफ्नो मेहनत र प्राप्तिसँग सन्तोष लिन नसक्नु र आफूले रोजेको बाटोप्रति पश्चात्ताप गर्ने र अर्को मार्ग फेर्ने हिम्मत पनि गर्न नसक्ने गनगनेहरू सर्वाधिक टेन्सनग्रस्त मानिस हुन् । दैनिक जीवनको टेन्सन त सबैलाई हुन्छ र त्यसको हल पनि निस्कल्छ तर समग्र जीवनलाई नै लिएर केही गर्न सकिएन यार भन्नेहरूसँग सावधान र टाढै रहनु बेस हुन्छ । अर्को भनेको अरूलाई आफूजस्तै बनाउन खोज्दा धेरै मानिसले सम्बन्ध र व्यवहारमा तनाव झेल्छन् । अरूको अस्तित्वलाई स्वीका गर्न नसक्ने, आफूले सोचेजस्तै सोचोस्, खाएजस्तै खाओस्, भनेजस्तै गरोस् भन्नेहरूको जीवन टेन्सनयुक्त हुन्छ । जब अर्कोलाई आफ्ना इच्छाहरूको दास बनाउन सक्दैन, तब त्यो मानिस बहुत दुखी बन्छ । मैले भनेको कोही मान्दैनन्, कोही सुन्दैनन भनेर बिरक्तिएर हिँड्छ तर जोसँग दूरी बढेको हो ऊसँग समस्या समाधान गर्नतर्फ लाग्दैन । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने कुरा भुल्छन् । आफूचाहिँ अलिकति पनि बदलिन नखोज्ने, सुध्रिन नखोज्ने तर सारा संसार, घर र कार्यालयको चाहिं बदलिनैपर्ने अतिवादी सोच लिएर दु:खी हुने प्राणी धेरै हुन्छन् । कहिलेकाहीं एक–आपसमा बसेर सल्टाउनुपर्ने कुरा तेस्रो मानिससँग साट्दा समस्या थप बल्झिने खतरा हुन्छ । चाहे रक्सी खाएर रमाउँ वा अरू केही गरेर एकछिन फड्किन सकिन्छ तर परेको समस्याबाट कोही भाग्न सक्दैन । त्यसलाई पार नलगाई त धरै पाइँदैन । आखिर जुध्नैपर्छ, त्यसैले थप टेन्सन बढाउनेतर्फ लाग्नुभन्दा टेन्सनको स्रोत पत्ता लगाउन तन, मन, धन र समय लगाए हल निस्कन सक्छ । आफू नभए घर चल्दैन, कार्यालय चल्दैन सारा संसार नै रोकिन्छ भन्ने भ्रमबाट मुक्त हुन सके जीवन फराकिलो देखिन्छ, उज्यालो देखिन्छ ।
सबैले बुझ्नुपर्ने कुरा के हो भने टेन्सन छ त जीवन छ, जीवन छ त टेन्सन छ । टेन्सनबिनाको जिन्दगी के जिन्दगी ?