धीरज तण्डुकार, कोरियोग्राफर
१४ वर्षअघि मोडलका रूपमा ग्ल्यामर क्षेत्रमा प्रवेश गरेका धीरज तण्डुकार यतिबेला अनुभवी कोरियोग्राफर तथा इभेन्ट म्यानेजरका रूपमा स्थापित छन् । सन् २००२ मा काठमाडौंमा सम्पन्न ‘परिवर्तन’ शीर्षकको फेसन शोमा क्याटवाक गर्दै मोडलिङमा सक्रिय भएका धीरज आजका मितिसम्म यही क्षेत्रमा सक्रिय छन् । सन् २००४ मा सम्पन्न एउटा प्रतियोगितामा ‘मोडल हन्ट’ को उपाधि जितेपछि धीरजको मोडलिङ सक्रियता ह्वात्त बढ्यो । मोहन भुषाल, पार्वती राई आदिका गीतका म्युजिक भिडियोमा अभिनय गर्दै अघि बढेका धीरजले केही चलचित्र तथा विज्ञापनमा समेत काम गरेका छन् । विगतमा फेसन एन्ड स्टाइल कम्पनीमार्फत थुप्रै सौन्दर्य प्रतियोगिता तथा फेसन शो आयोजना गरेका धीरज वर्ष २००६ देखि कोरियोग्राफरका रूपमा समेत सक्रिय छन् । यो अवधिमा धीरजले ४ दर्जनभन्दा बढी फेसन शो तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिसकेका छन् । पछिल्लो समय बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट कम्पनीमार्फत उनी वर्षको तीनवटा भिन्न विधामा सौन्दर्य प्रतियोगिता सञ्चालन गरिरहेका छन् । बालबालिकाहरूको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’, युवतीहरूको ‘मिस टिन ग्रीन नेपाल’ तथा विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस क्विन नेपाल’ मा आयोजक तथा कोरियोग्राफरका रूपमा सक्रिय धीरजले फेसन शोका दुई श्रृंखलासमेत सञ्चालन गरिरहेका छन् । ‘फेसन यात्रा’ शीर्षकबाट १० वटा श्रृंखला प्रस्तुत गरिसकेका धीरजले कायरा बुटिकमार्फत ३ वटा रनवे फेसन आयोजना गरिसकेका छन् । आगामी माघको दोस्रो साता रनवे फेसनको चौथो श्रृंखला तथा फागुनको दोस्रो साता लिटिल प्रिन्स एन्ड प्रिन्सेसको तयारीमा व्यस्त धीरजसँग साप्ताहिकको तीन प्रश्न :
डेढ दशकअघि र अहिलेको मोडलिङबीच कसरी तुलना गर्नुहुन्छ ?
डेढ दशकअघि मोडलिङलाई सौखका रूपमा लिने चलन थियो तर आज यो क्षेत्रमा करियर बनाउनेहरूको संख्या बढेको छ । म्युजिक भिडियो, विज्ञापन तथा चलचित्र क्षेत्र फराकिलो हुँदा अहिले मोडलहरू व्यस्त हुँदै गएका छन् । बजार र व्यवसाय बढेकाले मोडलिङप्रति आकर्षित हुने युवा–युवीतहरूको संख्या बढ्दो छ ।
पछिल्ला समय अत्यधिक बढेको सौन्दर्य प्रतियोगितालाई कसरी हेर्नुभएको छ ?
आवश्यकताभन्दा बढी सौन्दर्य प्रतियोगिताले मोडलिङ क्षेत्रलाई सकारात्मकभन्दा नकारात्मक प्रभाव पारेको अनुभव गरेको छु । केही प्रतियोगिता उत्कृष्ट भए पनि अधिकांश प्रतियोगितामा कम अनुभव भएका आयोजकका कारण ती पैसा कमाउने माध्यम मात्र बनेका छन् । प्रतियोगिताका विजेताको छनौटमा पनि धाँधली भएका कुरा सुनिन थालिएको छ ।
आगामी दिनमा आफ्नो यात्रालाई कसरी अघि बढाउँदै हुनुहुन्छ ?
मोडलिङमा लामो समय बिताएकाले यो क्षेत्रबाट टाढा जान सकिँदैन । आगामी दिनमा मोडलिङलाई अझ लोकप्रिय बनाउने शैलीका कार्यक्रमहरू आयोजित गर्छु । सौन्दर्य प्रतियोगितालाई स्तरीय बनाउन सक्दो
मेहनत गरिरहनेछु ।