म ३४ वर्षीया महिला हुँ । मेरा श्रीमान् ३७ वर्षको हुनुहुन्छ । हाम्रो विवाह भएको ६ वर्ष भयो तर हाम्रो सन्तान भएको छैन । हालसालै म गर्भवती भएकी थिएँ तर अनेकौं शंकाका कारण गर्भ नराख्ने निर्णय गरें । यसको कारण म आफैं यसका लागि तयार हुन नसक्नु हो । अहिलेसम्म हाम्रो सम्बन्ध ठीक छ तर मलाई श्रीमान्ले धोका दिने हुन् कि भन्ने सधंै नै डर लागिरहन्छ । श्रीमान्ले मेरा लागि मभन्दा पहिले लामो समयसम्म प्रेम गरेकी गर्लफ्रेन्ड छोड्नुभएको थियो । त्यसैले मेरा श्रीमान्ले कतै अरू केटीसँग आकर्षित भएर मलाई छोड्ने त होइन भन्ने लागिरहन्छ । के एकपटक कसैलाई धोका दिइसकेको मान्छेले पटक–पटक धोका दिन्छ ?
एक्स.
तपाईंको प्रश्नमा तपाईं र श्रीमान्बीच अहिले कुनै अप्ठ्यारो नभएको बुझिन्छ । आफ्नो श्रीमान्सँग सम्बन्ध राम्रो छँदाछदै भविष्यमा केही नराम्रो हुन्छ कि भनेर सोच्ने र मनमा अविश्वास राखी सम्बन्ध अघि बढाउन खोज्ने हो भने सम्बन्धमा समस्या पैदा चाहिँ अवश्य हुन्छ । तपार्इंमा आएको शंकाले तपाईंको श्रीमान्लाई कुनै दबाब दिएको महसुस गर्नु हुँदैन । संसारमा यस्तै परिस्थितिबाट गुज्रनेहरूको लामै सूची बनाउन सकिन्छ । धेरैले भन्छन्, एकपटक धोका दिनेले पटक–पटक धोका दिन सक्छ तर सिक्काको अर्को पाटो पनि छ । एउटा धोकाले अर्कोलाई पछ्याइरहँदैन । केही यस्ता असहज सम्वन्ध हुन्छन्, जसको परिपक्वता स्थापित भैनसकेको हुन सक्छ र धोका हुन सक्छ । एउटा धोकाबाट अर्को मजबुत सम्बन्धको गाँठो कसिन पनि सक्छ । विभिन्न समयमा भएका अध्ययन–अनुसन्धानहरूले एकपटकको धोकाबाट पाठ सिक्दै नयाँ सम्बन्धहरू मजबुत र दिगो भएको पनि देखिएको छ ।
अमेरिकामा युवा र युवतीमा एउटा यस्तै किसिमको अनुसन्धान गरिएको थियो । अनुसन्धानमा सहभागीहरू फरक यौनसाथीसँग सम्पर्क गर्नेहरू थिए । तीमध्ये ८६ प्रतिशत युवा र ६२ प्रतिशत युवतीले फरक मान्छेसँग एकपटकभन्दा बढी यौनसम्बन्ध भएको बताएका छन्, तर यो एउटा मात्र अनुसन्धानको कुरा हो र यो वयस्कमा मात्र गरिएको अध्ययन हो ।
यदि कसैले एउटा यौन साथी हुँदाहुँदै अर्को यौन साथी बनाउँछ भने त्यसको पछाडि कुनै कारण अवश्य हुन्छ । विशेष गरी सम्बन्धसँग वा व्यक्तिसँग गाँसिएको कुरा हुन सक्छ । विभिन्न अध्ययनअनुसार प्राय: मानिसले धोका दिनुपर्ने कारणमा भैरहेको सम्बन्धसँग असन्तुष्टि हुनसक्छ । उदाहरणका लागि दुई जनाबीचको भावनात्मक, यौनचाहना वा व्यक्तित्व नमिलेको हुन सक्छ । यदि बाल्यावस्थामा भावना वा मायामा अभाव भोग्नुपरेको वा आफूले पनि कुनै धोका महसुस गरेको छ भने मायाको खोजी गर्ने क्रममा धेरै यौन साथी हुन सक्छन् ।
यद्यपि अर्को सम्बन्ध भैसकेपछि फेरि त्यस्तै असन्तुष्टि हुन सक्ने र धोका हुन सक्ने नहुन सक्छ । एकपटक सम्बन्ध टुट्दैमा फेरि भविष्यको सम्बन्ध पनि त्यस्तै हुन्छ भन्न सकिँदैन । वास्तवमा धोका भन्ने कुरा व्यक्तित्वअनुसार फरक पर्न सक्छ । जस्तै यदि कुनै व्यक्ति स्वअनुशासित छ, अरूको भावना बुझ्न सक्छ र सचेत हुन्छ उसले धोका दिने कम सम्भावना हुन्छ । त्यस्तै जो यसको ठीक विपरीत छ उसले धोका दिने सम्भावना बढी हुन्छ । अर्को अध्ययनअनुसार कतिपय व्यक्ति तनाव र चिन्ताबाट टाढा रहन पनि अर्को व्यक्तिसँग सम्बन्ध बढाउँछन् ।
अब तपाईंको सन्दर्भको चर्चा गरौं । हुनत तपाईंले भनेअनुसार एकपटक धोका दिनेले अर्को पटक पनि धोका दिन सक्छ, तर यो सधैं सत्य नहुने भएकाले आफ्नो श्रीमान् यदि तपाईंलाई साँच्नै मन परेको हो भने उहाँसँग सम्बन्ध बढाउन विश्वासको वातावरण सिर्जना गर्नु आवश्यकता हुन्छ । जस्तो कि माया तथा यौनका लागि वातावरण र परिवेश आवश्यक पर्छ । यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ । आपसमा माया र भावना साटासाट गर्ने अवसरहरू उपलब्ध हुनुपर्छ । डर र शंकाका कारण सन्तानको इच्छा नराख्ने हो भने यस्तो सोचले पछि अझ ठूलो समस्या निम्त्याउन सक्छ । अझ भन्नुपर्दा तपाईंको प्रजनन क्षमता पनि उमेर बित्दै जाने क्रममा कम हुँदै जान्छ । पछि सन्तानको इच्छा राख्दा पनि नहुन सक्ने सम्भावना हुन्छ । त्यसैले हरेक समस्याको समाधान समयमै गरेर आफ्नो भविष्यको योजनालाई अघि बढाउनुहोस्, तपाईंहरूमा भएको शंकाको समस्या पनि समाधान हँुदै जान्छ ।