साप्ताहिक संवाददाता
के सरकारी जागिरको तयारीमा हुनुहुन्छ ? यदि प्लस टु उत्तीर्ण हुनुहुन्छ र सरकारी जागिरको तयारीमा हुनुहुन्छ भने अवसर आएको छ । लोकसेवा आयोगले विभिन्न सेवा, समूह र पदका लागि ५ सय १२ जना नायब सुब्बाको विज्ञापन खोलेको छ ।
न्याय, प्रशासन, लेखा, राजस्व, सरकारी वकिल आदि पदका लागि आफ्नो योग्यताअनुसार समावेशी र खुला दुवै तर्फ दरखास्त दिन सकिन्छ । यी पदका लागि आगामी माघ १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुर तिरेर माघ २६ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
नायब सुब्बाका लागि पहिलो चरणको परीक्षा फागुन २० गते हुनेछ भने दोस्रो चरणको परीक्षा वैशाख १८ र १९ गते हुनेछ । प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ । प्रथम चरणको परीक्षामा उत्तीर्ण हुन प्रथम चरणको पूर्णांकको ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ ।
प्रथम चरणको परीक्षामा प्राप्त गरेको प्राप्तांकको शतप्रतिशत अंक द्वितीय चरणको परीक्षाको प्राप्तांकमा जोडी कुल अंकका आधारमा लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ । परीक्षा फारम अनलाइन मार्फत भर्नुपर्नेछ । यससम्बन्धी विस्तृत जानकारी धधध।उकअ।नयख।लउ मा लगअन गरी हेर्न सकिन्छ ।
कहाँ कति ?
लोकसेवा आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाका लागि विभिन्न सेवा र समूहका लागि खुलामा ४३ जना, महिला कोटाअन्तर्गत १० जना, आदिवासी जनजाति कोटाबाट ९ जना, मधेसी १० जना, दलित ४ जना, अपांग २ जना तथा पिछडिएका क्षेत्रबाट २ जना माग गरिएको छ । यो निर्देशनालयअन्तर्गत जम्मा ८० जनाको माग छ ।
त्यसैगरी मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौंबाट २ सय ५५ जनाका लागि विज्ञापन गरिएको छ । यो क्षेत्रका लागि खुलाअन्तर्गत १ सय ४१ जना, महिलाअन्तर्गत ३९ जना, आदिवासी जनजातिअन्तर्गत २८ जना, मधेसीअन्तर्गत २६ जना, दलित अन्तर्गत १० जना, अपाङ्गअन्तर्गत ७ जना तथा पिछडिएका क्षेत्रअन्तर्गत ४ जना माग गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रबाट जम्मा ६० जना माग गरिएको छ । यसमा खुलातर्फ ३२ जना, महिलातर्फ ९ जना, आदिवासी जनजाति तर्फ ८ जना, मधेसीतर्फ ६ जना, दलिततर्फ ३ जना, अपांगतर्फ १ जना तथा पिछडिएका क्षेत्रबाट १ जना माग गरिएको छ ।
त्यसैगरी मध्यपश्चिमाञ्चल सुर्खेतबाट ७३ जना माग गरिएको छ । यसमा खुलातर्फ ४१ जना, महिलातर्फ ११ जना, आदिवासी जनजातितर्फ ९ जना, मधेसीतर्फ ७ जना, दलिततर्फ २ जना, अपाङ्गतर्फ ३ जना माग गरिएको छ ।
सुदुर पश्चिमाञ्चलबाट जम्मा ४४ जना माग गरिएको छ । यो क्षेत्रमा खुलातर्फ २५ जना, महिलातर्फ ५ जना, आदिवासी जनजातितर्फ ६ जना, मधेसीतर्फ ४ जना, दलिततर्फ ३ जना र पिछडिएको क्षेत्रतर्फ १ जना माग गरिएको छ ।
योग्यता
न्याय सेवा, न्याय, कानुन, सरकारी वकिल, परराष्ट्र तथा सामान्य प्रशासन समूहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण हुनुपर्नेछ । प्रशासन सेवा एवं लेखा समूहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यसैगरी प्रशासन सेवा, राजस्व समूहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा कानुनमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्यांकशास्त्रमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण हुनुपर्नेछ । लेखापरीक्षण सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्नेछ ।