मेरी प्रिय,
आज ठ्याक्कै पच्चीस वर्ष बितेछ तिमीसँग भेट भएको । त्यसो त हरेक वर्ष तिम्रो नाउँमा एउटा चिठी लेख्दै आएको छु । फरक यति हो कि चिठी कतै पोस्ट हुँदैन र पोस्ट हुनलाई तिम्रो कुनै ठेगान छैन अनि मेरो आफ्नै पनि ठेगान छैन । यो विराट संसारमा तिमी हराएकी थियौ या म हराएको हुँ, अझै पनि थाहा छैन तर पनि म निरन्तर खोजिरहेछु । पाउनलाई होइन । मलाई यही खोज किन–किन मीठो लाग्न थाल्यो । तिमीलाई खोज्नुमा, प्रेम गर्नुजत्तिकै मिठास भएर होला । मलाई नशा भयो यसैमा ।
तिमी नभेटिने निराशा पनि ममा छैन, भेटिने आशा गर्नु फजुल हो । मलाई त यत्ति थाहा छ, प्रतीक्षा गर्नु एकदम मीठो हुँदो रहेछ । कोही आउँछ, पक्का आउँछ भनेर गरिने प्रतीक्षामा कोही आइदिएन भने पो मान्छे दु:खी हुन्छ । कोही आए आओस्, नआए नआओस् भनेर गरिने प्रतीक्षामा के–को दु:ख ?
तिमी भन्छ्यौ होला, यतिका वर्षमा त बिर्सिसक्नुपर्ने । सायद तिमीले बिर्सियौ पनि होला । के मूर्ख कुरा गरिरहेछु ? पक्कै बिर्सियौ नि, तिमीले त त्यसै दिन................।
अँ, तर मैले तिमी नभए पनि तिमीलाई आफ्नै वरिपरि छरेर राखेको छु । बाटोमा, रूखका पात–पातमा, हाँगा–हाँगामा, बतासमा, फूलमा सबैमा तिमीलाई छरेको छु । मेरो कोठाका टेबल र कुर्सीमा । तिमीले कति पटक मेरो आराम गर्ने कुर्सीमा बसेर मैले लेखेका कविताहरू पढेकी छ्यौ । भान्सामा मैले बनाएको टमाटरको अचारमा टिम्मुर नपुगेको भनी हपारेकी छ्यौ । कति पटक बेलीको फूल मेरो केशमा सिउरिदेऊ न भनेकी छ्यौ ।
मेरी प्रिय, स्मृतिलाई दबाउनु हुन्न रै’छ । जबरजस्ती दबायो भने फुट्छ, यत्रतत्र छरपस्ट हुन्छ । घिनलाग्दो परिवेश सिर्जना हुन्छ । फिँजाउनुपर्दो रहेछ । खुसीखुसी फिँजायो भने तिनैले शोभा दिन्छन् ।
हेर न, आजकालका मानिसहरू त पुराना कुरालाई डस्टबिनमा लगेर फ्याँकिदिन्छन् । यस्तो थोरै न हुन्छ ? प्रेमिकाले धोका दिई भने प्रेमी अर्को चोकमा प्रेमको मूल फुटाउन खोज्छ । अनि जो, पुराना यादहरू आत्मसात् गरेर बाँच्न खोज्छ, उसलाई अस्पतालमा भर्ती गरिन्छ । मलाई पनि पटक–पटक अस्पताल लगे । म बिमारी थोरै न थिएँ ?
तिमीलाई बिर्सने प्रयास गरेको भए के हुन्थ्यो ? अझ बढी सम्झिन्थेँ । तिम्रा सम्झनासँग खेलेँ, बानी पारेँ । यादहरूले पनि एकचोटि पो दुखाउँछन्, पटक–पटक तिनै यादहरूसँग खेलिरहे तिनैले बाँच्न सिकाउँछन् । मैले बाँच्न सिकेँ ।
सबै प्रेमले इतिहास बनाउँदैनन् र प्रेम इतिहास बनाउन गर्ने पनि होइन । नभए, जो जवानीमा प्रेमको नाउँमा मर्छन् उनीहरूको नाम इतिहासमा लेखिने अनि जो प्रेम बुझेर प्रेमको धर्म मरणोप्रान्त निभाउँदै जान्छन् उनीहरू गुमनाम किन हुने ?
समय, जसको न आदि छ, न अन्त छ, त्यहाँ जाबो एउटा जीवन चुहिँदै जानु पनि के नै हो र ? बाँचुञ्जेल बाँचेको जस्तै लागोस् । मान्छे कम्तीमा एक थोकमा त भुलिनैपर्छ । शून्य हुनु हुँदैन । हामीभित्र एउटा खालीपन छ, त्यसलाई किन प्रेमले नभर्ने ? म रित्तिएर बाँच्न चाहन्नथेँ, त्यसैले त तिम्रा स्मृतिलाई भर्नसम्म भरेर बाँचिरहेछु । हरेक क्षण हरेक ठाउँमा तिम्रो अभूतपूर्व प्रतीक्षा गर्ने गरेको छु ।
हो, म मूर्ख ! म पागल ! किनभने संसारमा को सद्दे मानिस होला जो मरेको मान्छेको प्रतीक्षा गर्छ ?