साप्ताहिक संवाददाता
माघ १७, २०७२
बेनिशा हमाल सुन्दर मुहार भएकी अभिनेत्री हुन् । बेनिशामा अभिनय गर्न सक्ने क्षमता पनि प्रशस्त छ । स्नातकोत्तर तह उत्तीर्ण गरिसकेकाले उनलाई शिक्षित अभिनेत्रीको श्रेणीमा पनि राखिएको छ ।
सबै कुराले साथ दिँदादिँदै पनि बेनिशा नेपाली चलचित्र क्षेत्रमा भने स्थापित हुन सकिरहेकी छैनन् ।
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरे पनि बेनिशाले अभिनय गरेका करिव आधा दर्जन चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सकेनन् । उनीसँगै अभिनयमा आएकी केकी अधिकारी नायिकाका रूपमा स्थापित भैसक्दा बेनिशा भने म्युजिक भिडियोमै सीमित देखिन्छिन् ।
नेपाली चलचित्रमा नायिकाको अभाव भैरहेको पछिल्लो अवस्थामा निर्माता–निर्देशकहरूले बेनिशाको प्रतिभा चिन्न नसकेका हुन् कि बेनिशाले चलचित्रको विषयवस्तु ठम्याउन नसकेकी हुन्, यसै भन्न सकिँदैन ।