अभिनेत्री शिल्पा शेठ्ठीले एक योग शिविरको अवसर पारेर बाबा रामदेवका साथ योग अभ्यास गरेकी छिन् ।
यस क्रममा उनीहरूले योगका विभिन्न फाइदा र त्यसका विभिन्न आयामका सम्बन्धमा प्रकाश पारेका थिए । यद्यपि सोसल मिडियामा भने उनीहरूको तस्बिरलाई लिएर मजाक उडाइयो । उनीहरूले योग गरेको नभै एरोबिक्स गरेका हुन् भन्नेदेखि ठूला चलचित्रका ब्यानरमा काम नपाएर टेलिभिजनमा देखिने मनसायले शिल्पाले रामदेवलाई प्रयोग गरेको भन्नेसम्मका टिप्पणी पोष्ट भए । बाबा रामदेव पनि नायिका भनेपछि हुरुक्क भएको कमेन्ट पनि देखिए ।
योग शिविरका क्रममा शिल्पाले योगका विषयमा लेखेको पुस्तक ‘ग्रेट इन्डियन डाइट’ बाबा रामदेवले सार्वजनिक गरे । योग गर्ने क्रममै शिल्पाले रामदेवका साथमा सेल्फीसमेत लिएकी थिइन् । जसलाई उनले इन्स्टाग्राममा पोस्ट गरिन् । बाबा रामदेवको आशीर्वाद पाएर अत्यन्तै उत्साहित भएको शिल्पाको एक ट्विटमा उल्लेख छ । शिल्पा यसभन्दा अघि पनि रामदेवका साथमा मञ्चमा देखा परिसकेकी छिन् । शिल्पाले केही समय अघि शिल्पाज योगा शीर्षकको भिडियो डिभिडि लन्च गरेकी थिइन् ।