साप्ताहिक संवाददाता
नेपाल टेलिकमले नयाँ सामाजिक सञ्जालका रूपमा ‘मिट’ सञ्चालनमा ल्याएको छ । हाल प्रचलित फेसबुक र ट्विटरजस्तै टेलिकमका ग्राहकले नयाँ सेवाका रूपमा यसको उपयोग गर्न सक्छन् ।
पहिलेदेखि नै परीक्षणका रूपमा यो सेवा उपलब्ध भए पनि अहिले व्यवसायिक रूपमा यसको शुभारम्भ गरिएको हो ।
मिटको सहयोगले अक्षर, तस्बिर, अडियो तथा भिडियो एक–अर्कासँग सेयर गर्न सकिन्छ । त्यसैगरी टेलिकमका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तक्र्रियासमेत गर्न सकिन्छ । मिटले सेवाग्राही र टेलिकमका बीचमा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्य लिएको छ ।
टेलिकमले यसलाई मिट डटनेट डट एनपी डोमेन नेमका रूपमा दर्ता गरेको छ भने यसको ब्रान्ड नेम मिट राखिएको छ । अंग्रेजी भाषामा मिटको अर्थ भेट्नु हुने र सबै यही स्थानमा भेट हुने भएकाले एक प्रकारको प्लेटफर्मका रूपमा यसलाई विकास गरिएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले आफ्ना विभिन्न किसिमका सेवालाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्यअनुरूप युनिफाइड कम्युनिकेसन सिस्टमका रूपमा विकास गर्न ल्याइएको एउटा सेवा हो यो ।
कम्पनीका जीएसएम वा सीडीएमए मोबाइलमार्फत मिट डटनेट डट एनपीमा आफ्नो निश्चित विवरण भरी यो सेवा उपभोग गर्न सकिन्छ । दर्ता गरेपछि एउटा भेरिफिकेसन कोड मोबाइलमा आउँछ र त्यही कोड राखेपछि यो सेवा सुचारु गर्न सकिन्छ ।
यो सेवा प्रयोग गर्ने ग्राहकले प्रतिदिन १० वटा नि:शुल्क एसएमएस पठाउन सक्छन् । त्यसैगरी यो सेवामार्फत प्याकेजका रूपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा बल्क एसएमएस पनि पठाउन सकिन्छ । यो साइटमा क्रमिक रूपमा ग्राहकको चाहनाबमोजिम अन्य सेवाहरू समेत उपलब्ध गराउँदै जाने टेलिकमको लक्ष्य छ ।