साप्ताहिक संवाददाता
के तपाईं प्रहरी बनेर देशको सेवा गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाईंका लागि अवसर आएको छ । नेपाल प्रहरीले जनपदतर्फको प्रहरी जवान पदका लागि ५ हजार ५ सय ४४ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले खुल्लातर्फ २ हजार ९ सय ३४ जना, मधेसी ६ सय ७२, महिला ४ सय ८०, दलित ३ सय ६०, पिछडिएको क्षेत्र १ सय २१, अमर र अशक्त प्रहरी परिवार १ सय ९ तथा आदिवासी जनजातिबाट ७ सय ६८ जनाका लागि आवेदन आह्वान गरेको छ ।
दरखास्त कहाँ कसरी ?
यी पदमा यही माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्नेछ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर, मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायल र सबै जिल्ला प्रहरी कार्यालयमार्फत दरखास्त फारम बुझाउन सकिनेछ ।
एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा भने प्रत्येक समूहका लागि २० प्रतिशत अर्थात् थप २० रुपैयाँको दरले थप दस्तुर लाग्नेछ ।
योग्यता कति ?
जवान पदमा दरखास्त दिन कम्तीमा ८ कक्षा वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने र १८ वर्ष पूरा भै २३ वर्ष ननाघेको हुनुपर्नेछ । नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय नपाएको, राजनैतिक दलको सदस्य नरहेको, आतंककारी संगठनको सदस्य नरहेको, भविष्यमा सामान्यतया: सरकारी नोकरीका निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको हुनुपर्नेछ ।
उचाइ, छाती र तौल
(क) पुरुष– उचाइ घटीमा ५ फिट २ इन्च, छाती ३१–३३ इन्ची तौल कम्तीमा ५० किलोग्राम ।
(ख) महिला– उचाइ घटीमा ५ फिट, तौल कम्तीमा ४२ किलोग्राम ।
(ग) पुरुष र महिला दुवैको हकमा आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको हुनुपर्नेछ ।
दरखास्तसाथ समावेश गर्नुपर्ने कागजातहरू
क) नेपाली नागरिकताको प्रतिलिपि १ प्रति ।
ख) हालसालै खिचिएको दुवै कान देखिने पासपोर्ट साइजको तस्बिर ५ प्रति ।
ग) आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति ।
घ) आदिवासी/जनजातिका लागि नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी जनजाति भनी प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि ।
ङ) दलितका लागि राष्ट्रिय दलित आयोगवाट दलित भनी प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि ।
च) मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
छ) पिछडिएको क्षेत्रका लागि (अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला) जिल्लामा स्थायी बसोबास गरी सम्बन्धित जिल्लाबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त पेस गर्दाका वखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भन्ने सिफारिस गरिएको पत्रको प्रतिलिपि । स्थायी बसोबास भएको जिल्लाबाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयबाट सो गर्नुपर्नाको कारण उल्लेख भएको पत्र ।
ज) अमर/अशक्त प्रहरी परिवारका लागि अमर/अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाताप्रमाणित कागजपत्र ।
झ) दरखास्त फारमसँग संलग्न गरी पेस गरिने कागजातहरूको प्रतिलिपिको पछाडिपट्टि सक्कलबमोजिम नक्कल ठीक छ भनी उम्मेदवार स्वयंले दस्तखत गर्नुपर्छ ।