साप्ताहिक संवाददाता
सुजन तिगेला, गायक/संगीतकार
सांगीतिक व्यस्तता कस्तो छ ?
माघ लागेपछि आयोजना हुन थालेका महोत्सवमा व्यस्त छु । ‘बीच बाटो’ चलचित्रको ‘सेल्फी देऊ न...’ गीत लोकप्रिय भएपछि यी गीत गाउनका लागि निम्तो पाइरहेको छु ।
सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएको कति भयो ?
करिब १२ वर्षदेखि यो क्षेत्रमा सक्रियतापूर्वक लागिरहेको छु । अहिले आएर गायक तथा संगीतकारका रूपमा श्रोतामाझ चिनिने अवसर पाएको छु ।
सांगीतिक यात्राको पूर्वाद्ध कस्तो रह्यो ?
जन्मथलो मोरङबाट सांगीतिक यात्रा प्रारम्भ गरे पनि संगीतको औपचारिक प्रशिक्षणका लागि भारतको कर्साङ पुगें । संगीतकर्मी अनिल फागोसँग शास्त्रीय संगीत तथा मणिकमल क्षेत्रीसँग सुगम संगीतको प्रशिक्षण लिँदै अघि बढें ।
हालसम्म कतिवटा गीत गाउनुभयो ?
२०५७ सालमा ‘मन त गहिरो...’ शीर्षकको लोकगीत गाएदेखि हालसम्म करिब ७५ वटा गीत गाउनुका साथै ‘कालजयी’ र ‘कान्तिपुर’ शीर्षकका दुई एकल एल्बम श्रोतामाझ ल्याइसकेको छु ।
सांगीतिक कार्यक्रममा कुन–कुन गीत प्रस्तुत गर्नुहुन्छ ?
पछिल्लो समय लोकप्रिय भएको ‘सेल्फी देऊ न’ त हरेक कार्यक्रममा ४–५ पटक गाउनुपर्छ । त्यसबाहेक मन त गहिरो, हौ लाखे हौ, कथाले नै नमागेपछि आदि गीत पनि गाउँछु । साहित्यकार झमककुमारीको पहिलो गीत ‘मनको घाउ दुखे पनि’ मैले नै गाउने अवसर पाएको थिएँ । त्यो जुन गीत पनि कार्यक्रमहरूमा प्रस्तुत गरिरहन्छु ।
चलचित्रको पाश्र्व गायनमा कसरी आइपुग्नुभयो ?
मेरो स्वर पाश्र्व गायनका लागि उपयुक्त छ भन्ने कुरा संगीतकारहरूले थाहा पाउनुभएछ । विकास चौधरीले पहिलो पटक चलचित्रका लागि अवसर दिनुभयो । हालसम्म करिव १५ वटा चलचित्रका लागि पाश्र्व गायन गरिसकेको छु ।
आगामी दिनमा कुन विधामा बढी सक्रिय हुने योजना छ ?
वसन्त सापकोटासहितका संगीतकारले पाश्र्व गायनमै सक्रिय हुने सल्लाह दिनुभएको छ । सुगम संगीत र चलचित्रको पाश्र्व गायनलाई समानान्तर रूपमा अघि बढाउने योजना बनाएको छु ।