डा. रणजित कुमार झा, गायक/चिकित्सक
तीनवटा एल्बम तथा दर्जनौं गीतका गायक रणजित कुमार झा पेसाले चिकित्सक हुन् भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । चिकित्सकका रूपमा चिन्नेहरूका लागि भने उनी गायक पनि हुन् भन्ने कुराले आश्चर्य पार्छ । वीर अस्पतालका वरिष्ठ फिजिसियन तथा वीर गणेशमान सिंह अस्पतालका वरिष्ठ डाइटिसियन झाले गायनमा समेत आफ्नो बेग्लै पहिचान बनाइसकेका छन् । गायक उदित नारायण झाका नातेदारसमेत रहेका यी गायकको गायकीमा उदितको छनक समेत पाउन सकिन्छ । ‘बसी बसी...’ सहित रणजीतले गाएका थुप्रै गीत श्रोताहरूले मन पराएका छन् । रेडियो कान्तिपुर तथा कान्तिपुर टेलिभिजनमा मात्र होइन, अन्य विभिन्न रेडियो तथा टेलिभिजन च्यानलमा सेलिब्रेटी चिकित्सकका रूपमा समेत दर्शक तथा स्रोतामाझ पुगिरहेका रणजीतले चिकित्सा पेसालाई करियर बनाए पनि संगीत आफ्नो नशा–नशामा रहेको बताएका छन् । गायक झाको ’सरी माई बाबा.....‘ गीतको भिडियो यसै साता सार्वजनिक भएको छ ।
बेड टी
बिहान जति नै हतार भए पनि बेड टी नखाइ ओछ्यान छाड्न सक्दिनँ । मुख नै नधोई चिया पिउने बानी नराम्रो हो भन्ने थाहा छ, तर पनि सुधार्न सकेको छैन ।
टुथब्रस
मलाई राम्रोसँग टुथ ब्रस गर्न आउँदैन, किनभने मेरो टुथ ब्रस दुई दिन पनि टिक्दैन । दुई दिन ब्रस गर्ने बित्तिकै बिग्रन्छ । हप्तामा एउटा ब्रस नकिनी हुँदैन ।
पूजा
प्रत्येक बिहान भगवान्को पूजा गर्छु अनि मात्र अन्न खान्छु । यो मेरो सानैदेखिको बानी हो । उमेर बढ्नै जाँदा पूजा गर्ने समय पनि लम्बिँदै छ ।
रिस
चाँडै रिसाउने असाध्यै नराम्रो बानी छ । रिस मात्र उठे हुन्थ्यो नि, रिस उठेको बेला अनायसै मुखबाट नराम्रो शब्द पनि निस्कन्छ । रिस शान्त भएपछि पछुतो लाग्छ तर खै कसरी यो बानी सुधार्ने, म आफैं उपाय खोजिरहेको छु ।
फेसबुक
कामको व्यस्तताले दिनभरि फेसबुक चलाउन पाउँदिनँ । राती सुत्ने बेलामा ओछ्यानमा पल्टिएपछि मात्र फेसबुक चलाउन भ्याउँछु । समस्या के छ भने राति सुत्ने बेलामा फेसबुक चलाउने बानीका कारण श्रीमतीको गाली खान पनि अभ्यस्त भैसकेको छु ।
सीधा कुरा
म प्राय: हरेक व्यक्तिसँग सिधा कुरा गर्न मन पराउँछु । अरूले पनि मसँग सीधै कुरा गरोस् भन्ने चाहन्छु तर निकै कम मान्छेले मात्र त्यस्तो गरेको पाउँछु ।
नुहाउने बानी
जाडो होस् अथवा गर्मी, हरेक दिन घरबाट बाहिर निस्कनुअघि नुहाउनैपर्छ । ननुहाइ निस्कँदा दिनभर थकान महसुस हुन्छ ।
राजनीति
म कुनै पनि राजनीतिक दलको कार्यकर्ता होइन, तर मलाई राजनीतिमा असाध्यै रुचि छ । राजनीतिक समाचारहरू चाख मानेर पढ्छु । देशको वर्तमान राजनीतिक परिस्थिति देखेर भने दिक्क लाग्छ ।
गिटार वादन
यदि मलाई गिटार बजाउन र गीत गाउन मन लाग्यो भने जति नै व्यस्त भए पनि त्यसका लागि समय निकाल्छु । कति सम्म भने पस्किएको भातसमेत नखाइ गिटार बजाउन थाल्छु ।