विश्व सिमसार क्षेत्र जगदीशपुर तालमा गत साता सम्पन्न चरा महोत्सवमा १ हजार बढीले चरा अवलोकन गरे । जगदीशपुर तालमा तेस्रो पटक चरा महोत्सव आयोजना गरिएको हो । सिमसार दिवसका अवसरमा आयोजित चरा महोत्सव अवलोकनका लागि स्थानीय विद्यार्थीदेखि विदेशी पर्यटकहरूसम्म जगदीशपुर ताल क्षेत्र पुगेका थिए ।
चरा हेर्न आउने पाहुनाका लागि २ वटा ठूला–ठूला ट्राइपोटमा बाइनाकुलर जडान गरिएको थियो । ती बाइनाकुलमार्फत नेचर गाईडहरूले चरा देखाएका थिए ।
महोत्सवका अवसरमा चरा, प्रकृति र सिमसारको अन्तरसम्बन्ध झल्कने वृत्तचित्र, पोस्टर, पम्पलेट तथा तस्बिरहरूसमेत प्रदर्शन गरिएको थियो । उक्त अवसरमा थारु झुमरा नृत्य, जगदीशपुर तालको वरिपरि ५ किलोमिटर म्याराथन दौड एवं चराको महत्व बुझाउने निबन्ध प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
१ सय ५७ हेक्टरमा फैलिएको जगदीशपुर ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको थियो । यो तालमा १ सय १८ बढी प्रजातिका चरा, ८ प्रजातिका उभयचर तथा ३८ प्रजातिका सरिसृप पाईने पन्छी संरक्षण संघले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।