प्रेम संसारको सबैभन्दा पूण्य कुरा हो । म निरन्तर यो कुरालाई जोड दिएर भनिरहेको छु । मेरा कुरा सुनेर केही मान्छे सोध्छन्, किन ? किन, को प्रश्न नै छैन । प्रेम गर्नु संसारको सबैभन्दा पुण्यको कुरा हो । सत्य यही हो । प्रेम नै ईश्वरसम्म पुग्ने माध्यम हो । जसको मनमा प्रेम छैन, जसले जीवनमा प्रेम गरेको छैन, उसले जीवनमा नर्कको अनुभव गरिरहेको हुन्छ । स्वर्गको अनुभव उसले कहिल्यै गर्न सक्दैन । प्रेमले स्वर्गको अनुभूति दिलाउँछ । तिम्रो जीवनमा प्रेम भएका बेला अनुभव गरेकै हौला, एउटा मिठो स्वाद आइरहेको हुन्छ । भित्रभित्रै मन गुनगुनाइरहेको हुन्छ । यो खुसी कतै पोखौँ–पोखौँ लाग्छ । एउटा अन्तरसंगीत बज्न थाल्छ । तिमी भित्रभित्रै ईश्वरलाई धन्यवाद दिन थाल्छौं । प्रेम स्वीकार गर्नेप्रति आभार प्रकट गर्न थाल्छौं । यस्तो भावना जन्मनु चानचुने कुरा होइन । लाखौं–करोडौं मूल्यमा नपाइने यो भावना कहाँबाट आयो ? प्रेमबाट । यो प्रेमले सबैलाई ईश्वरसम्म पुर्याउँछ । हो, स्वर्गको बाटो त्यही हो ।
धेरै अघिदेखि हाम्रा तथाकथित साधु–सन्त र पुजारीहरूले प्रेमलाई पाप भनिदिए । पुस्ता–पुस्तादेखि हाम्रो अचेतन मनमा प्रेमका बारेमा नकारात्मक कुरा यसरी भरियो, जसले गर्दा प्रेमलाई समाजले सहजै स्वीकार गर्न सकेन । मानिस जब–जब प्रेममा पर्छ, सुखद अनुभूति त गर्छ तर सोच्छ, यो मैले के गरेँ, ठीक त गरेँ ? कतै म समाजको विपरीत त छैन, धर्मको विपरीत त छैन ? स्वजनलाई अप्ठ्यारोमा त पारेको छैन ? प्रेममा यसरी हिसाब–किताब सुरु भएपछि त्यो प्रेम मर्छ । प्रेमको ढोका बन्द हुन पुग्छ ।
यो दुनियाँमा प्रेम पाप हो भने पूण्य भन्ने कुरा केही छैन । म यो घोषणा गर्छु, जसले प्रेमलाई पाप भने, उनीहरू सबैभन्दा ठूला पापी हुन् । मानिसलाई प्रेम गर्न वञ्चित गर्ने यस्ता साधु–सन्त पाखण्डी हुन् । साधु–सन्तका कुरा, पण्डित–पुरोहितका कुरा सुनेपछि विचरा समाजले के गरोस् ? समाज कुण्ठित भयो । साँघुरो मानसिकताको ओढार बन्यो र त्यही ओढारमा जन्मिएका तिमीलाई लाग्यो, प्रेम पाप नै होला । नत्र सबैतिर किन प्रेम यति अपमानित हुन्छ ? गल्ती यहीँनेर भयो । तिम्रो परिवार, तिम्रो समाजलाई ती पाखण्डीहरूले बरबाद बनाए । तिम्रो मानसिकताभित्र प्रेम जाँच्ने बुद्धिमा गोबर भरिदिए । आज प्रेम गर्ने मान्छे डराएको छ । उसको मनमा हीन भावना भरिएको छ ।
म जोड दिएर भन्छु, प्रेम पाप होइन, पूण्य हो । स्वर्ग जाने एक मात्र द्वार हो । यो द्वार बन्द नगर । त्यही बाटो भएर तिमी ईश्वरसम्म पुग्छौ ।
मैले प्रेमलाई पूण्य भनेँ । किनभने, त्यो पनि राम्रोसँग बुझ । जब तिमी कसैको प्रेममा पर्यौ, ईश्वरको प्रेममा पर्यौ । तिमी विराटको प्रेममा पर्यौ । यही कारण हिजो सामान्य लाग्ने स्त्री–पुरुष आज असामान्य लाग्छन् । आफूले प्रेम गरेको मान्छेलाई ईश्वरकै कोटिमा राख्न मन लाग्छ । किन ? किनभने ईश्वरसम्म पुग्ने बाटो त्यही प्रेम हो । भलै त्यो प्रेम थाम्न सक्ने हैसियत ती स्त्री–पुरुषमा नहुन सक्छ । भोलि त्यो प्रेम भत्कियो भने पनि तिमी चिन्ता नगर । तिमीले जसमाथि प्रेम बर्साएका थियौ, त्यो प्रेम थेग्ने पात्र (भाँडो) ऊसँग थिएन । तिमीले जति प्रेम दिन सक्थ्यौ, त्यो उसले लिन सकेन–जानेन । यसमा तिम्रो गल्ती छैन, प्रेम लिन नजान्नेको गल्ती हो । प्रेमको भावना सम्झ, त्यसभित्रको पवित्रता सम्झ र अघि बढ । त्यही प्रेमले तिमीलाई स्वर्गसम्म पुर्याउँछ । स्वर्ग भनेको कस्तो हुन्छ, जीवितलाई थाहा हुँदैन । म भन्छु स्वर्गमा त्यस्तै भावना हुन्छ, जब तिमी प्रेममा हुन्छौ । परमात्माको पहिलो पुल नै प्रेम हो ।
यहाँनेर एउटा भूल हुन सक्छ । जब मैले प्रेमलाई परमात्मा भनेँ, यसको अर्थ यो होइन कि सबै प्रेम परमात्मा हो । तिमीले गर्ने प्रेममा फोहोर मिसिएको हुन सक्छ । त्यसभित्र हिसाब–किताब जोडिएको हुनसक्छ । वासना जोडिएको हुनसक्छ । सामाजिक हैसियत गाँसिएको हुनसक्छ । जब प्रेमभित्र यस्ता कुरा जोडिँदै जान्छन्, त्यो प्रेम अपवित्र हुँदै जान्छ ।
प्रेम शुद्ध सुन हो, २४ क्यारेटको । तर जब गहना बनाइन्छ, त्यसमा तामा मिसाउनुपर्छ । त्यो अशुद्ध हुन थाल्छ । शुद्ध प्रेममा गहनाभित्रबाट त्यसभित्रका सबै फोहोर निकाल्नुपर्छ । आगोमा गलाउनुपर्छ । आगोमा गालेर, फोहोर हटाएर जे बाँकी रहन्छ त्यही शुद्ध सुन बन्न थाल्छ । प्रेम त्यस्तै हो । तिमीले जसलाई प्रेम गर्छौ, एकपल्ट आफैंलाई छामेर हेर, के शुद्ध प्रेम गर्छौ ? कतै तिम्रो प्रेममा वासना त मिसिएको छैन ? उसको सामाजिक हैसियतको ओज त मिसिएको छैन ? ऊसँगको प्रेममा भोलिको जीवन सहज जिउन पाउने आर्थिक सोपान त मिसिएको छैन । उसको बाहिरी सौन्दर्यमा वशिभूत त भएका छैनौ ? बाहिर हेर्दा यी प्रेमका लागि राम्रा कुरा लाग्न सक्छन् । गहना बनाउन चाहिने तामा जस्तो शुद्ध प्रेमका लागि यी सबै फोहोर हुन् । यस्ता अशुद्धले प्रेममा जुन गहिराई प्राप्त हुन सक्थ्यो, त्यो मरेर जान्छ ।
प्रेमका विभिन्न तह हुन्छन् । माथि चढ्ने सिँढीका खुड्किलाजस्ता । काम (सेक्स) यो सिँढीको पहिलो खुड्किलो हो, राम अन्तिम सिँढी । काम (सेक्स) लाई नै प्रेमको खुड्किलो मान्यौ भने तिमी अड्कियौ तर प्रेममा काम मात्र हुँदैन, रामको अनुभूति हुन्छ । त्यही सिँढी चढेर तिमी रामसम्म पुग्छौ, काममाथि चढेर अघि बढ्छौं । काम धुलोले भरिएको राम हो । राम धुलो पुछिएको शुद्ध काम हो । स्वच्छ र सफा ।
तिमीले जीवनमा जे खोजिरहेका छौ, ईश्वरलाई नै खोजिरहेका छौ । त्यसको नाम तिमीले अरू नै दिएका हुन सक्छौ । तिमीले जीवनमा सम्पन्नता खोजिरहेका हुन्छौ । के हो सम्पन्नता, के हो ऐश्वर्य । त्यही ईश्वरको नाम हो । ईश्वर ऐश्वर्यवान् हुन्छन् । यही सुनेका हैनौ तिमीले ? ईश्वर आनन्दमय हुन्छ, यही भन्छौ हैन तिमी ? ईश्वर समयभन्दा पर हुन्छ । जब तिमी प्रेममा हुन्छांै, त्यति बेला तिमीलाई आफू कति भाग्यवानी लाग्छ । कति सम्पन्नशाली लाग्छ । कति आनन्दित हुन्छौ । याद गरेका छौ, तिम्रो आफूप्रति नै सम्मान बढ्छ । आफूलाई कति भाग्यशाली सम्झन्छौं । हो, यो त्यो बेलासम्म हुन्छ, जब तिमी पूर्ण, शुद्ध र भावनामय प्रेममा हुन्छौ । जब प्रेममा हिसाव–किताब सुरु हुन्छ । मेरो ख्याल रहन्छ कि रहँदैन, मेरो सम्मान हुन्छ कि हुँदैन, मेरो सुरक्षाको ग्यारेन्टी हुन्छ कि हुँदैन, सबै बेकार हुन्छ । एकछिन पछि लाग्छ, अघिको त्यो ऐश्वर्यको भाव, समयातित अवस्था, काल्पनिक संसार ध्वस्त हुनथाल्छ ।
आज हामी जसलाई प्रेम भन्छौ, त्यो प्रेम निश्चय नै बृहत् प्रेम होइन । शुद्ध प्रेम होइन । यो प्रेमले हामीलाई तृप्त बनाउन सक्दैन । कुन प्रेमी कति प्रेयसीसँग सधैंभरि तृप्त हुनसक्छ ? कुन आमा, आफ्ना सन्तानबाट शतप्रतिशत खुसी हुन सक्छिन् ? कुन पिता आफ्ना छोरीहरूलाई सधैं राम्रोमात्र भन्न सक्छन् ? खुसी नुहुनुको एउटै कारण छ आशा । जब प्रेमीले प्रेमिकासँग, श्रीमान्ले श्रीमतीसँग, आमाले छोरासँग, छोराले बुवासँग केही पाउने आशा राख्छ, भरोसा गर्न थाल्छ तब त्यो प्रेम अशुद्ध हुनथाल्छ । प्रेम कहिल्यै अशुद्ध हुँदैन, हाम्रो कारणले प्रेम अशुद्ध हुन पुग्छ । हामीले नै त्यसलाई अपवित्र बनाइदिन्छौं ।
संसारमा सबैजसो मानिसले प्रेम गरेका छन् । हरेकको बाँच्ने आधार प्रेम बन्ने गरेको छ । एउटा मान्छेसँग सबै सुविधा दिनुहोस् तर प्रेमबाट बञ्चित गर्नुहोस्, उसलाई बाँच्न गाह्रो हुन्छ । जो–जो मानिसले आत्महत्या गरे, उनीहरूको अवस्था ध्यान दिएर हेर्नुहोस्, कुनै न कुनै रूपमा उसले प्रेमबाट वञ्चित भएरै त्यो कदम चालेको देखिन्छ । चाहे धन नासिएर आत्महत्या गरेको होस्, चाहे, आफन्त गुमाएर चाहे प्रेम नपाएर । यी सबैको कारण प्रेमबाट वञ्चित हुने अवस्था नै हो । ईश्वरबिना को बाँच्न सक्छ र ?
जब–जब तिमी प्रेममा पर्यौ, ईश्वरकै प्रेममा पर्यौ । तिमीले प्रेम गर्ने युवा–युवती, आमा–बुवा वा आफन्त त त्यो प्रेम पोख्ने बहाना मात्र हुन् । त्यो ईश्वरीय भावना तिमीले उनीहरूमा अर्पण गर्ने हो । पत्याएनौ, सम्झना गर, जब तिमी कसैलाई प्रेम गर्छौ, तिमीलाई लाग्छ, यो मान्छे ईश्वरजस्तै होस् । कामना गर्छौ, म बाट यस्तो कुनै भूल नहोस्, जसले उसलाई दु:खी बनाओस् । ऊबाट तिमीले ठूलो अपेक्षा गर्छौ । ऊ ईश्वरजस्तै होस् । आफ्नो पूर्ण रूपमा ख्याल राखोस् । मनका हरेक भावना आफैं बुझोस् । कुनै कुरा भनिरहनु नपरोस् । आखिर यस्तो शक्ति कसमा हुन्छ ? ईश्वरमा । अर्को उपाय पनि छैन । प्रेममा असफल हुनुको कारण पनि यही हो । जब मान्छेले कसैलाई प्रेम गर्न थाल्छ, उसमा ईश्वर देख्न थाल्छ । ईश्वरभन्दा तल ऊ तृप्त हुन सक्दैन र इमान्दार भैरहन पनि सक्दैन ।
ईश्वरलाई मन्दिरमा भेट्न सकिँदैन, मस्जिदमा ऊ छैन । गिर्जाघरमा जिससको मूर्तिलाई क्रसमा झुन्ड्याइएको देख्न सकिन्छ तर ऊ त्यहाँ पनि छैन । ईश्वर हावा–पानी, अन्न र जीवनमा छैन । प्रेमीहरूका लागि ईश्वर प्रेममा मात्र छ । हो, प्रेमबाहेक पनि ईश्वरलाई भेट्न सकिन्छ । त्यसको बाटो ध्यान हो । ध्यानमा जानेले प्रेम गर्नु पर्दैन । ध्यान घटित भएपछि उसमा पनि अचानक प्रेम बर्सन थाल्छ । समान्य मानिसका लागि प्रेम नै ईश्वर हो । यो भन्दा अर्को कुनै बाटो छैन ।
संकलन/अनुवाद : अश्विनी कोइराला