भनिन्छ, प्रेमको उपहार प्रेम नै हो । जीवनलाई प्रेममय बनाउन प्रेम नै गर्नुपर्छ । त्यसैले त प्रेमको उत्सवका रूपमा मनाइने भ्यालेन्टाइन डेमा प्रदान गरिने उपहारको ठूलो महत्व हुन्छ । यो दिन प्रदान गरिने उपहारले प्रेमलाई थप प्रगाढ बनाउन सहयोग गर्छ, तर कतिपय व्यक्तिले उपहारको महत्व नबुझेर जे मन लाग्छ त्यही उपहार दिएको पाइन्छ, जसका कारण नयाँ सम्बन्ध विस्तार हुनै पाउँदैन र पुरानो सम्बन्ध पनि टुट्न पुग्छ । त्यसैले उपहार आदानप्रदान गर्दा पर्याप्त ध्यान पुर्याउनुपर्छ । व्यक्तिको इच्छा, स्वभाव र आवश्यकता बुझेर उपहार प्रदान गर्नुपर्छ ।
रातो गुलाफ दिने भित्री कपडा नदिने
प्रेमको प्रतीक रातो गुलाफलाई अनिवार्य उपहारका रूपमा लिइन्छ । भ्यालेन्टाइन डेलाई रोमाञ्चक र अविस्मरणीय बनाउन प्रेमी वा प्रेमिकालाई रातो गुलाफ अनिवार्य उपहार दिनु उपयुक्त हुन्छ । रातो गुलाफ प्रदान गर्दा आपसी सम्बन्धको रोमाञ्चकतामा सुगन्ध थपिन्छ ।
झुक्किएर पनि महिला वा पुरुषले लगाउने भित्री कपडाहरू उपहार दिनु हुँदैन । यस्तो उपहारले प्रेमी वा प्रेमिकाबीच चिसोपन ल्याउने मात्र नभै सम्बन्ध नै टुट्न सक्छ ।
फेसनेबल पहिरन दिने तर व्यायामका पहिरन नदिने
भ्यालेन्टाइनमा फेसनेबल पहिरनहरू उपहार दिने चलन छ । आफ्ना प्रेमी वा प्रेमिकालाई चल्तीमा रहेका फेसनेबल पहिरनहरू उपहार प्रदान गर्नु उत्तम मानिन्छ । किनभने यस्तो उपहारले मनमा उत्साह एवं प्रेममा प्रगाढता ल्याउँछ । उपहार दिने नाममा व्यायामका पहिरन दिनु उपयुक्त हुँदैन । किनभने प्रेमी वा प्रेमिकालाई उनीहरूको तौल घटाउन दबाब दिएजस्तो हुन्छ । त्यसैले यस्ता कुरामा ख्याल गर्नुपर्छ ।
पुस्तक दिने तर अश्लील चलचित्र नदिने
भ्यालेन्टाइन डेमा पुस्तक उपहार दिने चलन बढ्दै गएको छ । आफ्नो प्रेमी वा प्रेमिकालाई पुस्तक उपहार दिन सकिन्छ । पुस्तक उपहार दिनुपूर्व प्रेमी वा प्रेमिकाको चाहना र रुचि भने बुझ्नुपर्छ । उनीहरू कुन क्षेत्रका पुस्तक पढ्न रुचाउँछन् त्यसै अनुरूप पुस्तक खरिद गर्नुपर्छ ।
पुस्तकका ठाउँमा झुक्किएर पनि अश्लील चलचित्रका सिडी उपहार दिनु हुँदैन । यसले प्रेमी वा प्रेमिकाप्रति नकारात्मक दृष्टिकोण सिर्जना हुन्छ र प्रेम सम्बन्ध नै टुट्न बेर लाग्दैन ।
ग्याजेट्स दिने तर एन्टी एजिङ क्रिम नदिने
बजारमा आएका नयाँ मोडलका विभिन्न ग्याजेट पनि उपहारका रूपमा प्रदान गर्न सकिन्छ । प्रेमी वा प्रेमिकाले ग्याजेटको आवश्यकता महसुस गरिरहेका हुन सक्छन् । ग्याजेटमा पनि मोबाइल, आइप्याड, आइफोन, ट्याब्लेट आदि उपयोगी हुन्छन् ।
महिलाहरूका हकमा भने एन्टी एजिङ क्रिम उपहार दिनु हुँदैन । जोकोही महिलाले आफूले आफैँलाई बूढी हुँदै गएको स्विकार्दैनन् ।
ब्रासलेट दिने तर खेलौना नदिने
ब्रासलेट भ्यालेन्टाइनको उपयुक्त उपहार हो । विभिन्न धातुबाट तयार हुने ब्रासलेट आफ्नो हैसियतअनुसार खरिद गर्नुपर्छ । यसको डिजाइन, आकार र मात्रा पनि राम्रोसँग छनोट गर्न सक्नुपर्छ । ब्रासलेटले प्रेमलाई जीवन्त एवं स्मरणीय राख्न सहयोग पुर्याउँछ ।
उपहारका रूपमा खेलौना दिनु भने सान्दर्भिक मानिँदैन । यस्तो उपहार पाउने प्रेमी वा प्रेमिकाले आफूलाई केटाकेटी सम्झिएको अनुभूति गर्न सक्छन्, जसले गर्दा कतिपय अवस्थामा प्रेमसम्बन्ध नै संकटमा पर्न सक्छ ।