भीषण र कठिन उकालोमा
कदम माथि चाल्न नसक्दा
जब थकित शरीर बिसाए
हाम्रो हालत एउटै थियो
तिमीले पनि शरीर बिसायौ ।
म थिएँ जुन पथको यात्री
तिमी त्यही पथको यात्री
जब मधुर हावा सुसायो
मेरो पनि मुटु छोयो
तिम्रो पनि मुटु छोयो ।
तिम्रो मुटुले मलाई बोलायो
मेरो मुटुले तिमीलाई बोलायो
मैले तिमीलाई हेर्न चाहें
तिमीले मलाई हेर्न चाह्यौ
संयोगले नजर मिलायौ ।
नयनतीरले मेरो मर्म रोप्यो
नयनतीरले तिम्रो मर्म रोप्यो
मन भित्रभित्रै धेरै दुख्यो
सामना रहेन म रोएँ
सामना रहने तिमी रोयौ ।
मेरो आँसु, तिम्रो प्रथम माया बग्यो
तिम्रो आँसु, मेरो प्रथम माया बग्यो
आखिर हाम्रो तृष्णा मिल्यो
आखिर हाम्रो मन मिल्यो
आखिर हाम्रो जीवन मिल्यो ।
म तिम्रा आँखामा डुबे
तिमी मेरा आँखामा डुब्यौ
भावधारामा बग्दाबग्दै
म सागरको गर्भ पुगें
तिमी सागरको गर्भ पुग्यौ ।
ती हरिया भिरालोहरूमा
पल्लवी रूखका डालीभरि
कोइली, बुलबुल, जुरेलीहरूले
हाम्रो अनुराग गीत गाए
हामी शब्द, सुर र ताल बन्यौ ।
म तिम्रो मुहारमा लीन रहे
तिमीले लिनतामै सुसेल्यौ
दिवास्वप्नमा ब्युँझियौ हामी
मैले स्वर्गीय अनुभूत गरें
तिमीले स्वर्गको झलक चिहायौ ।
तिम्रो मेरो शुभयात्रा एउटै
तिम्रो मेरो गन्तव्य एउटै
मोहनी नयनी इसाराहरू
अद्भुत जादुले भरिपूर्ण भए
एकसाथ अनन्त कदम चाल्यौ ।