जब–जब असफलतामाथि असफलताले निमोठ्न थाल्छ, जीवनमा केही गर्न नसक्ने भएँ भन्ने लाग्छ, जब जताततै निराशा नै निराशा छ जस्तो लाग्न थाल्छ, चमत्कार वा जादुमा मात्र झिनो आश लाग्ने कोटीको मान्छे म हुन पुग्छु, तब–तब एउटा पुरानो घटना सम्झन्छु ।
म आठ क्लासमा पढ्थेँ । आठ क्लासमा जिल्लास्तरीय एक्जाम हुन्थ्यो । त्यो एक्जाममा पास नभए फेरि आठ क्लासमै बस्नुपर्ने भन्ने हल्ला स्कूलका शिक्षकहरूले चलाए । मलाई सबैभन्दा गाह्रो विषय विज्ञान लाग्ने । सातसम्म जेनतेन चोरचार पारेर, अरूले सिकाइदिएर अनि त्यसमा पनि केही ग्रेस नम्बर पाएर पास हुँदै आएको थिएँ । जिल्लास्तरीय परीक्षाको त प्रश्नपत्र पनि जिल्लाबाटै आउँछ, कापी पनि बाहिर, नचिनेकाले जाँच्नेछन् । एक नम्बर पनि थपिँदिँदैनन्— यस किसिमको हल्लाले म खुब चिन्तित भएँ ।
क्लासमा सधैँ ‘बुझ्यौ ?’ भनेर शिक्षकहरूले सोध्दा नुबझेका कुरा पनि ‘बुझेँ’ भन्नुको परिणति थियो यो ।
हेर्दाहेर्दै परीक्षाको दिन आइपुग्यो । भोलि साइन्सको एक्जाम । केही आउँदैन । कुनै कुराको परिभाषा त आउँदैन, अर्थोक के आओस् !
मसँग सिंगो रात त थियो । हेरौँ । मैले एउटा प्रण गरेँ । यो सिंगो रातको सन्नाटामय पलहरूमा दिमागलाई सक्दो चलाउँछु । दिमागलाई पूरै ऊर्जाशील बनाएर अभ्यास गर्नेछु ।
आठ बजे सबैजसो आ–आफ्नो कोठामा गएर सुते । म साइन्स किताब, एउटा रफ फुलस्केपको बन्डल र फुल्टिन (फाउन्टेन) पेन लिएर बसेँ । सबैभन्दा पहिले सबै परिभाषा घोकेर रटेँ । बायोलोजीका चित्रहरू चार–पाँच पटक बनाउने अभ्यास गरेँ । बेला–बेलामा भान्सामा घरर स्टोभ बालेर चिया पकाउँथेँ । चिया पकाउँदा पनि केही बेरअघि पढेका कुरा याद गरिरहेँ । याद गर्ने क्रममा म यति हराएँ कि एकपटक त चिया उम्लेर गै स्टोभ निभेकोसम्म पत्तो पाउन सकिनँ ।
फेरि कोठामा आएँ र पढ्न थालेँ । फेरि फुलस्केपमा लेख्दै अभ्यास गर्दै गर्न लागेँ । बिहानीको करिब पाँच बजेसम्ममा मैले तीनचौथाइ किताब पढेँ । पाँच बजे पढेकै ठाउँमा भुसुक्कै निदाएँ । आठ बजेसम्म मलाई कसैले ब्युँझाएनन् । ब्युँझदा निद्रा नपुगेको वा थकाइ त्यस्तो केही भएको थिएन । म सुतेको ठाउँ नजिक चारवटा रित्ता चिया कप थिए । यति धेरै चिया म दिउँसो त पिउन्नथेँ, त्यस रात खुब पिएछु ।
दस बजेदेखि एक्जाम थियो । बाटोमा जाँदा पनि राति पढेका कुरा सम्झने प्रयास गर्दै गएँ । कतै बिर्सिएजस्तो लाग्यो कि किताब खोलेर हेरिहाल्थेँ । स्कुलमा परीक्षा हलबाहिर पनि साथीभाइको बेवास्ता गर्दै पढेका कुरा सम्झने प्रयासमा लागिरहेँ । मैले पढेको तीनथौथाइभन्दा अघि एक अक्षर पनि पढिनँ । जति पढेँ, त्यतिलाई नै दोहोर्याइमात्र रहेँ ।
एक्जामहलमा छिरेँ । प्रश्नपत्र देखेर यति खुसी भएँ कि त्यो खुसीको कुनै सिमाना नै रहेन । पन्ध्र नम्बरको छाडेँ, बाँकी सप्पै गरेँ ।
रिजल्ट आउँदा मलाई अरू विषयको नम्बरको मतलबै थिएन । सुरुमै विज्ञानमा आँखा पुग्यो । सतसट्ठी नम्बर आएको रहेछ ।
केवल एक रात खर्चेको थिएँ । जीउ, ज्यान, मन, इमान्दारीता, सप्पै थोक लगाएको थिएँ । मैले सोचेँ, केवल एक रातमा यति धेरै काम गर्न सकिँदो रहेछ भनेँ जिन्दगीमा अवसरहरू त कति आउँछन्— कति जान्छन् । हामीसँग यथेष्ट समय हुन्छ । इमान्दार र लगनशील भएर काम गर्दा कसो सफलता हात पर्दैन र ?
आजभोलि पनि उक्त घटनालाई म बारम्बार सम्झिरहन्छु । असफलताले बेला–बेलामा ङ्याँक्छन् । हामी अरूको सफलता देखेर डाहा गर्छौं, तर त्यो सफलताका पछाडिको मेहनत बुझ्न खोज्दैनौँ । मान्छेको क्षमता भनेको नतन्किएको रबरजस्तै हो । कहिल्यै नतन्काउने हो भने त्यो चुँगीको झुप्पोमा सीमित भएर बस्छ । तन्काएपछि मात्र थाहा हुन्छ, त्यो कति लम्बाइसम्म तन्किन सक्छ । मेरा लागि त्यो एक रात आफ्नो क्षमता नाप्ने अमूल्य समय बनेर आयो । म धेरै थोक गर्न सक्छु, मलाई थाहा छ, तर कति समय खेर फालेर नतन्किएको रबरजस्तै भएर बसिरहेको हुन्छु । मान्छेको क्षमता भनेको पानीजस्तो हुन्छ, जो एकै ठाउँमा स्थिर भएर भ्यागुता, सर्प वा लामखुट्टेका अन्डाहरू पालेर पनि बस्न सक्छ, सयौँ मेगावाट बिजुली निकाल्न पनि सक्छ ।