पल साह, नायक/मोडल
मैले म्युजिक भिडियोहरूको अनुभव मजैले गरिसकेको थिएँ । यत्तिकैमा नेपाली कथानक चलचित्र ‘नाइँ नभन्नु ल–४’ मा काम गर्ने अवसर मिल्यो । म्युजिक भिडियोबाट एकै पटक चलचित्रमा काम गर्दा केही सजिलो, केही अप्ठ्यारो त केही रमाइला पल तथा केही अविश्मरणीय क्षणहरू सिर्जना भए ।
म्युजिक भिडियो सुटिङमा अलि सानो टिम हुन्छ, तर चलचित्रमा काम गर्दा ठूलो टिम अनि सपोर्ट र केयर हुँदो रहेछ, यो मलाई एकदमै राम्रो लाग्यो । सबै जनासँग जिस्कँदै अनि रोमान्टिक मुडमा काम गर्न धेरै नै मज्जा आउँदो रहेछ । आनन्द र मज्जाको बीच–बीचमा कहिलेकाहीँ गाह्रो पनि अनुभूत भएको छ । मध्याह्न १२ बजेको घाममा आकाशमा आँखा खोलेर हेर्नुपर्ने, त्यो पनि चितवनको प्रचण्ड गर्मीमा । यो मेरा लागि एकदमै गाह्रो कुरो थियो । प्रथम पटक यति ठूलो ब्यानर अनि निर्देशक विकास आचार्यको छत्रछायाँमा काम गर्न पाएँ जुन मेरो जीवनकै अविश्मरणीय क्षण बनेको छ । आशा छ, जति मेहनत गरेको छु सबैले थाहा पाउनुहुनेछ । यी साह्रो–गाह्रो अनि अविस्मरणीय अनुभवहरूका बीच फिल्म युनिटसँगको हरेक क्षण रमाइलो लाग्यो मलाई । विशेषत: नवनायिका आँचल शर्मासँगको रेला अनि रियल अभिनय गर्दा औधी खुसी मिलेको थियो ।
मैले पहिलो पटक चलचित्रमा काम गर्दा परिवारका सदस्यहरूसँग टाढा रहनुपर्यो । पहिलो चलचित्रले अब मलाई चलचित्रको पनि अनुभव दिएको छ । भावी दिनमा अझ राम्रोसँग काम गर्न प्रयासरत रहनेछु ।