नेपाली चलचित्रकी नायिका निष्मा घिमिरे फेसन सेन्स भएकी कलाकार हुन् । बाहिरी आवरणसहित भित्री आवरणप्रति पनि सचेत रहन सक्ने मानिसले नै फेसनको महत्त्व बुझ्ने निष्माको तर्क छ ।
कार्यक्रमको स्वरूपअनुसार पहिरनमा ध्यान दिने निष्मा ब्रान्डेड पहिरन नै लगाउनुपर्छ भन्ने मान्यता राख्दिनन् । निष्मा आफ्ना लागि आवश्यक पहिरन न्युरोडस्थित पीपुल्स प्लाजामा खरिद गर्छिन् । मन परेको पहिरन पाए फुटपाथमै पनि किन्छिन् ।
मेकअप महिलाहरूका लागि आवश्यक मान्ने निष्मा ब्रान्डेड प्रशाधन नै खरिद गर्छिन् । उनी मेकअप गर्दा गाजल, मस्कारा, लिपस्टिक, आइस्याडो, फाउन्डेसन कहिल्यै छुटाउँदिनन् । फेदर कट स्टाइलमा केश विन्यास गरेकी निष्मा समय–समयमा केश रंग्याउँछिन् ।
चाँदीका गहनाकी सौखिन निष्मालाई कानमा सुनबाहेकका गहना लगाए एलर्जी हुन्छ । यसैकारण, विशेष कार्यक्रमबाहेक अरू बेला उनी खासै ज्वेलरी प्रयोग गर्दिनन् । निष्मालाई वेज हिल असाध्यै मन पर्छ । निष्मा एसरको अल्ट्रा बुक ल्यापटप तथा एचटिसीको एमएटके सिक्स मोबाइल प्रयोग गर्छिन् ।
निष्मा भन्छिन्, ‘व्यक्तित्व बनाउन पहिरनमा धेरै खर्च गर्न आवश्यक छैन तथापि समय सुहाउँदो ट्रेन्ड र फेसनसँग अपडेट भने हुनुपर्छ ।’