- शिव शर्मा, ‘भूकम्प माइला’, हास्य कलाकार/निर्देशक
स्कुले विद्यार्थी छँदै स्व. शिव रेग्मीसँग चितवनको नारायणी कला मन्दिरमा अभिनय प्रशिक्षण लिने क्रममै शिव शर्माले भविष्यमा मनोरञ्जन क्षेत्रमै करियर बनाउने उद्देश्य लिइसकेका थिए । स्व. रेग्मीसँग अभिनय सिक्ने क्रममा उनले कला मन्दिरबाटै नृत्यको पनि प्रशिक्षण लिए । चितवनका विभिन्न स्थानमा मञ्चन भएका सडक नाटकमा समेत अभिनय गरेका शिवमा एसएलसीपछि भने प्राविधिक बन्ने रहर जाग्यो, त्यसपछि उनले छायांकन तथा भिज्युअल एडिटिङको प्रशिक्षण लिए । उनले चितवनको चित्रपट टेलिभिजनमा छायांकार तथा भिजुअल एडिटरका रूपमा केही वर्ष कामसमेत गरे । त्यहाँ हासिल गरेका अनुभव तथा सिकेको सीप बोकेर उनी एक दशकअघि काठमाडौं आए । काठमाडौंमा शिव म्युजिक भिडियोमा काम गर्न थाले । प्रारम्भमा भिडियोमा नृत्य निर्देशन गरेका शिवले पछि निर्देशकका रूपमा समेत भिडियो बनाउन थाले । यो अवधिमा शिवले राजु परियार, लक्ष्मी न्यौपानेका सहित आधुनिक तथा लोकगीतका करिब २ सयवटा म्युजिक भिडियो निर्देशन गरे । यही अवधिमा शिवले ३२ भाग लामो ‘अब त अति भो’ शीर्षकको हास्य श्रृंखलाको लेखन तथा निर्देशन गरे भने ‘एक्स्क्युज मी’ शीर्षकको श्रृंखला पनि लेखे । यसबीच म्युजिक भिडियो तथा टेलिश्रृंखलाको अनुभवका कारण शिवले चलचित्रमा प्रवेश गरे । हत्याकाण्ड, चन्द्रावती, दिलमाया, धमाका, कुसुमसहित करिब दुई दर्जन चलचित्रमा नृत्य निर्देशक तथा मुख्य सहायक निर्देशकको रुपमा काम गरेपछि उनले नायिका बिनिता बराललाई लिएर ‘उमंग’ शीर्षकको चलचित्र निर्देशन गरे । क्यामेरापछाडिका काममा स्थापित भैसकेका शिव यतिबेला कलाकारका रूपमा समेत सक्रिय छन् । प्रत्येक शनिबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यश्रृंखला ‘हाक्काहाक्की’ मा ‘भूकम्प माइलो’ को चरित्र निर्वाह गरिरहेका शिवमा अभिनयमा समेत करियर बनाउने रहर छ ।
निर्देशन रमाइलो कि अभिनय ?
दुवै एउटै विधा हुन् । निर्देशन गर्दा अरू कलाकारलाई सिकाउनुपर्छ भने अभिनय गर्दा अरूले सिकाएको गर्नुपर्छ । म भने दुवै विधामा उत्तिकै रमाएको छु ।
धेरै विधामा सक्रिय हुनुहुन्छ, कुनै एउटा विधा रोज्नुपर्यो भने ?
एउटा मात्र विधा रोज्न असाध्यै गाह्रो छ । म अभिनय एवं निर्देशनलाई समानान्तर रूपमा अघि बढाउन चाहन्छु ।
अबको योजनाचाहिँ के छ ?
‘हाक्काहाक्की’ को अभिनयलाई निरन्तरता दिँदै निकट भविष्यमा चलचित्र निर्देशनमा समेत संलग्न हुने योजना छ ।