यौन र यौनसित जोडिएका विषयमा हाम्रो समाज धेरै–थोरै खुलेर कुरा गर्न थालेको छ, तर यसमा कुनै दुईमत छैन कि यौनका विषयमा आज पनि मानिसहरूको मनमा कैयन् शंका–उपशंका, गलत धारणा विद्यमान छन् । कारण– यौनका विषयमा खुल्लापन आए पनि परिपक्वता अझै महसुस हुन सकेको छैन । यस्तोमा प्रश्न उठ्छ –के हामी यौन तन्दुरस्त छौं ?
हरेक व्यक्तिलाई यौनको आवश्यकता र चाहना हुन्छ ।
यो चाहना र आवश्यकता फरक–फरक व्यक्तिमा फरक–फरक हुन्छ । कसैमा कम, कसैमा बढी ।
आकर्षण हुनु पनि स्वाभाविक छ ।
कल्पना गर्नु, जस्तै कुनै खास व्यक्तितर्फ हामी आकर्षित हुन्छौं भने उसका बारेमा सोच्नु र ऊसँग यौनक्रियाको कल्पनामा हराउनु स्वाभाविक र सामान्य हुन्छ ।
यौनसम्पर्कको चाहना भए हस्तमैथुन गर्नु स्वस्थकर मानिन्छ ।
यदि आफूमा माथि भनिएका तमाम लक्षण छन् भने आफूलाई यौन तन्दुरुस्त माने हुन्छ । यदि आफूमा यौनसम्पर्कको चाहना कम छ वा कम हुँदैछ भने यौन तन्दुरुस्ती कम छ भन्ने बुझे हुन्छ ।
विवाहित हुनुहुन्छ भने तपाईंको यौन जीवन कति राम्रो छ ?
के यौनसम्पर्कबाट तपाईं र तपाईंको साथीलाई पहिलेजस्तो सन्तुष्टि प्राप्त हुँदैन ?
के यौनसम्पर्कबाट बोर हुन थाल्नुभएको छ ?
के यो मात्र एउटा शारीरिक क्रिया बन्न पुगेको छ वा अझ पनि भावनात्मक रूपबाट तपाईं यसलाई आनन्ददायक क्रिया मान्नुहुन्छ ?
यी सम्पूर्ण प्रश्न स्वयं एवं आफ्नो साथीसँग गरौं, तब थाहा पाइन्छ, आफू कति यौन तन्दुरुस्त छु ।
व्यस्त जीवनमा यदि यौन आफ्नो प्राथमिकताभन्दा बाहिर हुन पुगेको छ भने सचेत हुनुपर्छ ।
अनुसन्धानअनुसार वैवाहिक जीवनमा प्रवेश गरेकाहरू अविवाहितभन्दा तुलनात्मक रूपले स्वस्थ र लामो जीवन जिउँछन् । यस्तोमा यौनसम्पर्कको महत्त्व र यौन तन्दुरुस्तीलाई बेवास्ता गर्न सकिँदैन । यौन तन्दुरुस्तीलाई निम्न पक्षबाट हेर्न सकिन्छ :
भावनात्मक पक्ष : यदि आफ्नो साथीसित भावनात्मक लगाव छ भने यौनजीवन सुमधुर रहन्छ, तर दुवै जना मेसिनरूपी जीवन जिउन बाध्य हुनुभएको छ भने यौनचाहना पनि कम हुँदै जान्छ, अर्थात् यौन तन्दुरुस्ती कम हुन पुग्छ ।
विशेष सुझाव : यस्तो अवस्थामा, साथीसँग समय बिताउनु, प्रेमपूर्ण कुराकानी गर्नु, एक–अर्कालाई सहयोग गर्नु आवश्यक हुन्छ, जसको सकारात्मक प्रभाव यौन जीवनमा पनि पर्छ ।
मानसिक स्थिति : मानसिक तनाव, कामको बोझ एवं घरेलु जिम्मेवारीले पनि मानिसलाई यौनप्रति उदासिन बनाइदिन्छ । आफ्नो कामको तनाव बोकेर बेडरुममा जानुहुँदैन । मिलेर हरेक समस्याको समाधान निकाल्नुपर्छ । आफ्नो सम्बन्ध र यौनजीवनमा प्रभाव पार्ने कार्य गर्न छोड्नुपर्छ ।
विशेष सुझाव : पुरुषको ९० प्रतिशत यौन समस्या जस्तै: शिघ्रपतन, उत्तेजना नहुनु आदि मानसिक अवस्थासित जोडिएको हुन्छ । ठीक यसरी नै महिलाहरूमा पनि योनीमा सुख्खापन, पीडादायक यौनसम्पर्क आदिका कारण यौनप्रति उदासिनता आदि देखा पर्न सक्छ ।
शारीरिक पक्ष : यौन तन्दुरुस्ती धेरै हदसम्म शारीरिक तन्दुरुस्तीसित पनि जोडिएको हुन्छ । यदि कुनै यौन वा शारीरिक समस्या छ भने विज्ञको
मद्दत लिनुपर्छ ।
विशेष सुझाव : योग र व्यायामलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउनुपर्छ । प्रभात यात्रा वा योग कक्षा लिनु राम्रो हुन्छ । यसबाट दम्पतीबीचको निकटतामा थप वृद्धि हुन्छ, जसको सकारात्मक प्रभाव यौन तन्दुरुस्तीमा पर्छ ।
नकारात्मक सोचबाट जोगिऔं
मनमा रहेको भ्रान्ति र शंकाका कारण आफ्नो सेक्सुयल फिटनेसलाई कम हुन दिनुहुँदैन । धेरैलाई के लाग्छ भने हस्तमैथुन वा कुनै व्यक्तितर्फ आकर्षित हुनु गलत हो । यद्यपि सबैभन्दा महत्वपूर्ण कुरा यौन तन्दुरस्ती हो र त्यसले आफ्नो तन्दुरस्तीलाई नै दर्साउँछ ।
के गर्ने ?
यौनक्रिडामा जोड दिनुपर्छ । राम्रो, स्वस्थ एवं सुमधुर यौन क्रियाले जीवनमा उत्साह सञ्चार गर्छ ।
राम्रो यौनसम्पर्कका लागि रोमान्स पनि अति आवश्यक छ । त्यसैले व्यस्त दिनचर्याबाट रोमान्टिक क्षणहरू निकाल्नुपर्छ ।
खानपान स्वस्थकर हुनुपर्छ । शारीरिक तन्दुरुस्तीले आफूलाई यौन तन्दुरुस्त राख्छ ।
तनावबाट टाढै रहनुपर्छ ।
यदि कुनै प्रकारको समस्या छ भने विशेषज्ञको सल्लाह लिन ढिलाइ गर्नुहुँदैन ।