साप्ताहिक संवाददाता
महेन्द्र रायमाझी, गायक
सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएको कति भयो ?
२०६२ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेर त्यहीँ आयोजना भएको आधुनिक गीत प्रतियोगितामा सहभागिता जनाउँदै सांगीतिक क्षेत्रमा सक्रिय भएको हुँ ।
संगीतको विधिवत् प्रशिक्षण पनि लिनुभयो ?
रेडियो नेपालमा स्वर परीक्षा दिनुअघि शास्त्रीय संगीतको प्रशिक्षण लिएको थिएँ ।
पहिलो एल्बमबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
तीन वर्षअघि सार्वजनिक भएको मेरो पहिलो एकल एल्बम ‘यू एन्ड मी’ का प्राय: सबै गीत लोकप्रिय भएका थिए । ‘सँगै हिँड्दा बाटो बिराएँ’ गीतले मलाई श्रोतामाझ चिनाएको थियो ।
यतिबेला सांगीतिक व्यस्तता कस्तो छ ?
भर्खरै दोस्रो एकल एल्बम ‘मनोकांक्षा’ सार्वजनिक गरेको छु । यो एल्बममा डिबी खनालका शब्द तथा शंकर थापा ‘स्माइल’ का संगीतका पाँचवटा गीत समावेश छन् ।
एल्बममा कस्ता गीत समावेश गर्नुभएको छ ?
सुगम संगीतदेखि पप शैलीसम्मका गीत समावेश छन् । फास्ट बिटको ‘ठट्टा नगर...’ तथा आधुनिक गीत ‘तिमीलाई भुलेर’ गीतको म्युजिक भिडियो पनि तयार पारेको छु ।
संगीतबाहेक अन्य कुन पेसामा आबद्ध हुनुहुन्छ ?
सांगीतिक क्षेत्रबाहेक म रेडियो नेपालमा अंग्रेजी समाचार संयोजन गर्नुका साथै समाचारवाचन पनि गर्छु ।
अबको योजना के छ ?
‘मनोकांक्षा’ का सबै गीतलाई लोकप्रिय बनाउनु छ । त्यसबाहेक वर्षमा एउटा राम्रो गीत तयार पार्ने योजना पनि बनाएको छु ।