साप्ताहिक संवाददाता
पोखरामा साहसिक खेलका फरक–फरक विधाको मजा लिन पाइन्छ । यसका लागि पानीमा गुड्नेदेखि हावामा मच्चिनेसम्मका खेल गतिविधिहरू उपलब्ध छन् । यस्ता साहसिक खेलका लागि पोखरामा देश–विदेशका पर्यटक ओइरिने गरेका छन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, बन्जीजम्प, क्यानोनिङजस्ता साहसिक गतिविधिले ध्यान तानिरहेका बेला अहिले पोखरामा एउटा अर्को साहसिक उडान थपिएको छ– ह्याङ ग्लाइडर ।
पोखरामा पहिलो पटक अल्ट्रालाइट जहाज भित्र्याएको एभिया क्लबले नै यहाँ ह्याङ ग्लाइडर भित्र्याएको हो । सफल परीक्षण भैसकेको ह्याङ ग्लाइडरको व्यवसायिक उडान अबको केही महिनापछि हुने बताइएको छ । ‘यो नेपालका लागि नयाँ साहसिक हवाइ खेल हो, ’ संस्थाका प्रबन्धक रिजन रिजालले भने— ‘यसले पोखरालाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप मद्दत गर्ने अपेक्षा राखेका छौं ।’
दुई वर्षअघि उक्त क्लबले ह्याङ ग्लाइडरको परीक्षण गरेको थियो । परीक्षणपछि उडानका लागि पोखराको आकाश सुरक्षित भएको प्रमाणित भएपछि त्यसको व्यवसायिक उडान प्रारम्भ गर्ने प्रक्रिया सुरु गरिएको हो । एक जना पाइलट र यात्रु बस्न मिल्ने ह्याङ ग्लाइडरलाई अल्ट्रालाइटले भुइँबाट उडाएर आकाशमा लगेर छाडिदिन्छ । त्यसपछि यो आफैं उड्न थाल्छ । अमेरिकाबाट झन्डै १ करोड रुपैयाँमा भित्र्याइएको यो जहाजमा आकाशमा सुतेर उड्दा आकाशमुनिका दृश्यहरू मनमोहक देखिने अल्ट्रालाइटका पाइलट सन्तबहादुर लामिछानेले बताए । लामिछानेका अनुसार ह्याङ ग्लाइडर ३० देखि ८० किलोमिटरको गतिमा उडेर १० हजार फिट माथिसम्म जान सक्छ ।