कथा हो, बीसौं शताब्दीका महान गायक एल्भिस प्रिस्लेको । विश्व संगीतको इतिहासमा सर्वाधिक सफल गायकका रूपमा दुई व्यक्तिको नाम लिइन्छ । एउटा माइकल ज्याक्सन र अर्का एल्भिस प्रिस्ले । यी दुई संगीतमा यसकारण महान् भएँ, उनीहरूले संगीत बेचेर जति पैसा कमाए, उति कसैले कमाएनन् । उनीहरूले जति महिला फ्यान कमाए, अरू कसैले कमाएनन् । माइकल ज्याक्सनले आफ्नो सौन्दर्य बढाउन प्लास्टिक सर्जरी गरेका थिए तर एल्भिस आफैंमा साह्रै सुन्दर थिए । महिलाहरूको दृष्टिमा एल्भिसका अघि माइकल ज्याक्सन पनि फिका लाग्छन् । अहिलेको बलिउडमा सलमान खानको सफलता र आकर्षणसँग एल्भिस प्रिस्लेको तुलना गरिन्छ ।
०००
यस्ता अतुलनीय गायक–नायकले साह्रै मन पराएर विवाह गरेकी श्रीमतीले विवाह भएको पाँच वर्ष नपुग्दै उनलाई डिभोर्स दिइन् । एल्भिसका लागि कुनै युवतीसँग डेटिङ जानु र सँगै बस्नु ठूलो कुरा थिएन । समाजमा युवतीका लागि एल्भिससँग रात बिताउनु गौरवको विषय हुन्थ्यो । अझ यस्ता युवतीलाई प्रिस्लेले प्रेम गरेको कुरा बाहिर आउँदा उनीहरू रातारात सेलिब्रेटी हुन्थे । कतिले त आफ्नो
स्टाटस बढाउन प्रिस्लेसँगको सम्बन्धका काल्पनिक कथा पनि प्रेससम्म पुर्याउँथे ।
यही सफलताका बीचमा प्रिस्लेको मन आन विउलिनमा बस्न पुग्यो । उनी प्रिस्लेकी फ्यान थिइन् । अतिसय सुन्दर भएका कारण उनी हलिउड नायिका पनि भइन् । तैपनि उनी भन्थिन्, ‘मलाई नायिका हुनुभन्दा प्रिस्लेकी प्रेमीका हुनुमा गौरव छ ।’ प्रिस्लेले धेरै कर गरेर आनलाई विवाहका लागि राजी गराए । जसै आनसँग प्रिस्लेको विवाहको खबर छापियो, अर्को दिनको पत्रिकामा दुई वटी युवतीले आत्महत्या गरेको खबर पनि सार्वजनिक भयो । यद्यपि त्यही चर्चित प्रेम र विवाह केही वर्षमै अन्त्य भयो ।
०००
यति सफल, यति धनाढ्य, यति सुन्दर पुरुषसँग विवाह गरेकी आनले उनीसँग सम्बन्ध तोड्ने निर्णय किन गरिन् ? यहि प्रश्न लस भेगासको खचाखच भरिएको अदालतमा न्यायाधीशले सोधेकी थिइन् । आनको जवाफ थियो– प्रिस्लेसँग सौन्दर्य छ, पैसा छ, प्रसिद्धी छ तर ती सबै कुरा उनका लागि मात्र भए, मेरालागि अर्थहीन भैदिए । किनभने ऊसँग मलाई दिने समय छैन ।’
प्रिस्लेका वकिल पनि के कम, किनभने छोडपत्र भयो भने आनलाई करोडौं डलर क्षतिपूर्ति दिनुपथ्र्यो । त्यसैले वकिलले आनको प्रिस्लेकै घरमा काम गर्ने युवकसँग सम्बन्ध रहेको प्रमाण पेस गरे । आनले सजिलै उक्त कुरा स्वीकार गर्दै भनिन्, ‘जब श्रीमान् नै प्रेम गर्न जान्दैनन्, एउटी स्त्रीको मनले प्रेम खोज्छ नै । यस्तो बेला उसले त्यो प्रेम कसले दिइरहेको छ, हेर्दिनँ । किनभने नोकरले गर्ने प्रेम र मालिकले गर्ने प्रेम फरक हुँदैन । प्रेम प्रेम नै हुन्छ ।’
आनसँगको विछोडपछि एल्भिस प्रिस्ले ड्रग एडिक्ट भए र केही वर्षमै उनको मृत्यु भयो ।