साप्ताहिक संवाददाता
- संगीता श्रेष्ठ/टेलिभिजनकर्मी
कान्तिपुर टेलिभिजनमा कार्यरत कार्यक्रम निर्मात्री तथा भिडियो जक्की संगीता श्रेष्ठले यही सातादेखि आफ्नो नाममा नयाँ परिचय थपेकी छिन्, लेखिकाका रूपमा । गत शनिबार सार्वजनिक गरिएको ‘कथामा अल्झिएको प्रेम’ शीर्षकको पुस्तककी लेखिका हुन्— संगीता श्रेष्ठ । विगतमा कान्तिपुर टेलिभिजनमा प्रसारण भएको छोटा चलचित्रहरूको श्रृंखला ‘कथा प्रेमका’ की निर्देशन पनि संगीताले नै गरेकी थिइन् । तिनै छोटा चलचित्रको लेखनका क्रममा संगीताले भविष्यमा लेखिकाका रूपमा पाठकसमक्ष आउनेछु भन्ने कल्पनासम्म गरेकी थिइनन् । उक्त श्रृंखलाका दर्शकहरूको प्रेरणा तथा श्रृंखलाका लागि लेखिएको कथाकै कारण संगीता यतिबेला साहित्य क्षेत्रमा पदार्पण गर्न सफल भएकी हुन् । लामो समयदेखि टेलिभिजनकर्ममा सक्रिय संगीता अहिले पनि कान्तिपुर टेलिभिजन तथा कान्तिपुर गोल्ड च्यानलमा संगीत तथा चलचित्रसम्बन्धी कार्यक्रम निर्माण गरिरहेकी छिन् । दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेकी संगीताको यो पहिलो पुस्तकलाई नेपालयले बजारमा ल्याउने जिम्मा लिएको छ । टेलिभिजनकर्मीका रूपमा सक्रिय संगीता लेखिकाका रूपमा पाठकमाझ आउन पाउँदा उत्साहित देखिन्छिन् ।
‘कथामा अल्झिएको प्रेम’ पुस्तकमा कस्ता कथा पढ्न पाइन्छ ?
फरक उमेर तथा परिस्थितीबीच हुने प्रेमका घटनाहरूलाई रोमाञ्चक शैलीमा चित्रण गरेकी छु । यसका साथै विद्यालय, कलेज, घर–परिवार, छिमेकदेखि १० वर्षे जनयुद्धले सिर्जना गरेका परिस्थितिहरू पनि समेटिएका छन् । यो पुस्तकमा १० वटा कथा छन् ।
टेलिश्रृंखलाको लेखनबाट पुस्तक लेखनसम्म कसरी आइपुग्नुभयो ?
कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘कथा प्रेमका’ शीर्षकको छोटा चलचित्रको श्रृंखला बनाउन थालेपछि संवाद बिना प्रस्तुत हुने म्युजिक भिडियोको तुलनामा संवादसहितको २० मिनेट लामो चलचित्र सशक्त हुने रहेछ भन्ने अनुभव गरेँ । त्यसपछि आफैंले पटकथा लेख्दा त्यसलाई अझ राम्रोसँग व्यक्त गर्न पाइयो । त्यससँगै मेरो ध्यान लेखनतर्फ केन्द्रित भयो ।
भविष्यमा लेखनलाई निरन्तरता दिने सम्भावना कत्तिको छ ?
पहिलो पुस्तकबाट पाएको प्रतिक्रियापछि मात्र म यस विषयमा केही बोल्न सक्छु तर लेखनमा अघि बढिसकेकाले यो विधालाई निरन्तरता दिनु मेरो कर्तव्य पनि हो ।