साप्ताहिक संवाददाता
आफ्नै थातथलोमा बसेर साहित्यमा जमेका सरुभक्त श्रेष्ठ पोखरा छँदा कला–साहित्यसम्बन्धी गतिविधिका कारण फुर्सद पाउँदैनथे । यस्ता कार्यक्रमहरूमा अतिथि बन्न आउने निम्तोले बेफुर्सदी हुने श्रेष्ठ नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपति भएयता भने राजधानीतिरै व्यस्त छन् । ‘एकैचोटि धेरै कार्यक्रम हुने गरेका छन् ।’ निम्तामा नजाँदा आयोजकको मन दुख्छ, ’ सरुभक्तले भने, सबैमा पुग्दा समयको बर्बादी त हुन्छ नै सिर्जनशीलतामा समेत व्यवधान खडा हुन्छ ।’
पोखरामा साहित्य र कलासँग सम्बन्धित गतिविधि बढ्दो छ । फस्टाउँदो सिर्जनाशीलता, तन्नेरी पुस्तामा बढ्दो रुचि एवं यहाँको प्राकृतिक सौन्दर्यले गर्दा पनि यसमा व्यापकता आएको सरुभक्तको ठम्याइ छ । कवि तीर्थ श्रेष्ठको पनि समस्या उस्तै छ । पुस्तक विमोचन, हस्ताक्षर, अन्तक्र्रिया, कला कार्यशाला आदिमा उनी अतिथी नभएको दिन हुँदैन । ‘साहित्य र कलाका सबै कार्यक्रममा सहभागी हुन नभ्याइने अवस्था छ, ’ उनले भने, ‘५० को दशकपछि पहिलो पटक पोखरामा कला–साहित्यको गतिविधि बढेर गएको छ ।’
अहिले पोखरामा प्रत्येक महिना एक दर्जनभन्दा बढी साहित्यिक रचना वाचनका कार्यक्रम हुन थालेको छ । त्यस्तै पुस्तक विमोचन र साहित्यका विषयमा अन्तक्र्रिया एवं छलफल पनि त्यत्तिकै मात्रामा भैरहेका छन् । यहाँ संरक्षण कविता यात्रादेखि कला यात्रासम्म सञ्चालन हुन्छन् । टिकटमा मुक्तकदेखि कविता–गजल आदिका एकल वाचन कार्यक्रम पनि हुने गरेका छन् ।
त्यस्तै पुस्तकमाथि परिचर्चा र हस्ताक्षर कार्यक्रम पनि त्यही क्रममा बढेको छ । ‘साहित्यिक संघ–संस्थाको क्रियाशीलता, नयाँ पुस्तालाई मञ्च प्रदान, अध्ययन संस्कृतिको विकास आदिले चहलपहल बढ्दो क्रममा छ,’ गजलसन्ध्या, पोखराका पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी कटुले भने । कुनै जमानामा भूपी शेरचन, भीमदर्शन रोक्का, नारायणगोपालजस्ता हस्तीले पनि (केही समय) यहीं बसेर आफ्ना गतिविधि अघि बढाए । पोखरामै बसेर सरुभक्त तथा मुकुन्दशरण उपाध्यायले मदन पुरस्कार प्राप्त गरे ।
पोखरामा ठूला साहित्यिक पुरस्कारहरू पनि स्थापना भएका छन् । यहाँका युवापुस्तामा गजल, मुक्तक एवं कवितामा बढी आकर्षण देखिन्छ । उनीहरूका सिर्जनालाई विद्युतीय सञ्चारमाध्यमहरूले प्राथमिकता दिएर प्रसारण गर्ने क्रमले पनि उनीहरूलाई यस्ता गतिविधिमा सामेल हुन उत्साही बनाएको छ ।
पोखरामा बाहिरका स्रष्टाहरूको एकल रचना वाचन एवं पुस्तक परिचर्चा पनि उत्तिकै हुन्छ । बुक मार्टसले राष्ट्रिय लेखकहरूको पुस्तकमा हस्ताक्षर कार्यक्रम पनि गर्दै आएको छ । चार वर्षअघि खुलेको र्याडम रिर्डस सोसाइटीले पुस्तक पढ्ने संस्कृतिको विकासमा उल्लेख्य योगदान पुर्याएको छ । ‘ख्याति कमाएका स्रष्टाका कृतिमाथि परिचर्चा गर्दै आएका छौं, ’ सोसाइटीका पूर्वअध्यक्ष गनेश पौडेलले भने, ‘यसले पनि यहाँ पुस्तक पढ्ने तथा लेख्ने संस्कृतिको विकास गराएको छ ।’
पोखरामा साहित्यिक गतिविधि फस्टाउनुको कारण यहाँको प्राकृतिक सौन्दर्यसँगै व्यवस्थित आयोजना स्थल हुनु पनि हो । साहित्यकारले पाउने आतिथ्य सत्कार पनि तुलानात्मक रूपमा राम्रो छ । पोखरामा हुर्किएका मात्र होइन, रोजगारी र अध्ययनका क्रममा बाहिरी जिल्लाबाट आएर बसेकाहरूले पनि यहाँ यस्ता गतिविधि बढाउन मद्दत गरेका छन् । २० को दशकमा फाटफुट्ट साहित्यसम्बन्धी गतिविधि प्रारम्भ भएको पोखरामा ३० को दशकमा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापनासँगै साहित्यसम्बन्धी गतिविधि फस्टाएको थियो ।