साप्ताहिक संवाददाता
राष्ट्रिय खेलकुद नियमित आयोजना भएको भए यसका कति संस्करण सम्पन्न भैसक्ने थिए, भन्न सकिँदैन । पहिलो राष्ट्रिय खेलकुद ०३८ सालमा भएको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदका सुरुवाती तीन संस्करण त नियमित भए, तर चौथो संस्करणका लागि ०५५ साल कुर्नुपर्यो । पाँचौं संस्करण ०६५ सालमा सम्पन्न भयो भने छैटौं ०६८ सालमा ।
यस्तोमा अब सातौं राष्ट्रिय खेलकुद कहिले हुन्छ ? यसको उत्तर पनि उत्तिकै अनिश्चित छ, किनभने राष्ट्रिय खेलकुद परिषद्ले पूर्वाञ्चलमा हुने भनिएको प्रतियोगिता स्थगित भएको औपचारिक घोषणा गरिसकेको छ । त्यसो त सुरुदेखि नै यसको आयोजनालाई लिएर अन्यौल कायम थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले कुनै पनि स्थितिमा सातौं राष्ट्रिय खेलकुद आयोजना गर्ने दाबी गर्दै आएका थिए । भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदको आयोजना अघिसम्म पनि उनी आफ्नो दाबीमा अडिग थिए र तय नयाँ मिति थियो— फागुन १८ देखि २३ सम्म ।
यो समयसीमा प्रतियोगिता आयोजना गर्ने कुनै छाँट देखिएन र अन्तत: राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिता स्थगित गर्न बाध्य भयो । यो निर्णयको प्रमुख कारण आर्थिक अभाव मानिएको छ । सदस्य सचिव विष्टले भनेका छन्, ‘हामी अहिले राष्ट्रिय खेलकुद गर्न नसक्ने स्थितिमा पुगेका छौं र यसको कारण आर्थिक समस्या नै हो ।’
दक्षिण एसियाली खेलकुदका क्रममा राष्ट्रिय खेलकुद परिषद्ले निकै ठूलो आर्थिक कठिनाइ सामना गर्नुपरेपछि अहिले राष्ट्रिय खेलकुद स्थगितको आधार तयार भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले अझै पनि प्रतियोगिता आयोजना गर्ने आशा भने मारेको छैन् । परिषद्को दाबी छ, केही सातामा बजेट निकासा भयो भने वैशाखमा राष्ट्रिय खेलकुद हुन सक्छ ।