एउटा खुट्टा काँधमा राखेर हिँड्नु वा डुल्नु जो–कसैका लागि कल्पनाभन्दा बाहिरको कुरा हुन सक्छ । यद्यपि एक नेपाली एउटा खुट्टा काँधमा राखेर अर्को खुट्टाले हिँडडुल गर्ने अनि छमछमी नाच्ने तयारीमा रहेका छन् । उदयपुर कटारीका स्थायी बासिन्दा २२ वर्षीय मनिष श्रेष्ठ यति बेला फरक किसिमको नृत्य गर्दै विश्वभर आफ्नो प्रतिभा प्रस्तुत गर्ने अभियानमा छन् ।
सानै उमेरदेखि नृत्यका सौखिन श्रेष्ठ आफू फरक ढंगले प्रस्तुत हुन लागेको बताउँछन् । उदयपुरमा पहिलो पटक आयोजना गरिएको उदयपुर ताराको नृत्य विधामा दोस्रो हुन सफल श्रेष्ठले सात वर्ष लामो कडा मेहनतपछि नृत्यमा फरक प्रस्तुति दिन लागेका हुन् । श्रेष्ठले पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा प्रस्तुति दिइसकेका छन् । दर्जनौं म्युजिक भिडियोको कोरियोग्राफीसमेत गरिसकेका श्रेष्ठ एक वर्षयता राजधानी काठमाडौंमा नृत्य प्रशिक्षण केन्द्र खोलेर नृत्य सिकाइरहेका छन् ।
एउटा खुट्टा काँधमा राखी नाचेर गिनिज बुकमा नाम लेखाउने उद्देश्य श्रेष्ठको छ । सबैले एकै किसिमको नृत्य गर्नुहुन्छ, मेरो चाहना दर्शकहरूलाई नृत्यमा केही फरक स्वाद दिने हो, मनीषले भने । नृत्यसँगै गायनमा पनि उत्तिकै प्रतिभा शाली श्रेष्ठले तीनवटा गीति एल्बमसमेत बजारमा ल्याइसकेका छन् । श्रेष्ठले राजधानीसँगै देशका विभिन्न स्थानमा पुगेर आफ्नो नृत्य प्रस्तुत गरिसकेको बताए ।