साप्ताहिक संवाददाता
शुक्रवारदेखि प्रदर्शन भएका दुई नयाँ नेपाली चलचित्रलाई दर्शकले मन पराएका छन् । अभिनेता भुवन केसीको डेब्यू निर्देशनको चलचित्र ‘ड्रिम्स’ ले शुक्रवार तथा शनिवार आक्रामक व्यापार गर्न सफल भएको छ । मल्टिप्लेक्स तथा सिंगल थिएटरमा यो चलचित्र हाउसफूल भएको दावी गरिएको छ ।
अनमोल केसी तथा साम्राज्ञ राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको यो चलचित्र प्रेम कथामा आधारित छ । चलचित्रले आज आईतबार पनि राम्रो व्यवसाय गरेको बताइन्छ ।
दिनेश डिसीको निर्माण तथा निर्देशनको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ ले पनि शनिवारदेखि दर्शकको राम्रो साथ पाएको छ । शुक्रवारको तुलनामा शनिवार यो चलचित्र हेर्ने दर्शकहरुको संख्या ह्वात्तै बढेको हो । आमेश भण्डारी तथा नीता ढुंगानाको मुख्य भूमिका रहेको यो चलचित्रलाई सुपर नेचुरल कथावस्तु समावेश भएको पहिलो नेपाली चलचित्र भनिएको छ । यो चलचित्र पनि प्रेम कथामै आधारित छ ।
भोलि सोमवार देखि लगातार तीन दिन सार्वजनिक वीदा परेकाले यी दुबै चलचित्रले दर्शकको उल्लेखनीय साथ पाउने अपेक्षा गरिएको छ ।