साप्ताहिक संवाददाता
१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी खेलाडी हुन्— नीमा घर्तीमगर । यी १६ वर्षीया उसु खेलाडीले थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा स्वर्ण पदक हात पारेकी थिइन् । घर्तीमगरसँग साप्ताहिकको पाँच प्रश्न :
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जित्ने कल्पना गर्नुभएको थियो ?
पदक जित्न सक्छु भन्ने लागेको थियो तर स्वर्ण नै जित्नेमा भने ढुक्क थिइन । दोस्रो चरणमा स्वर्ड खसेपछि अलि डर लागेको थियो । म देशलाई १२ औं सागको पहिलो स्वर्ण दिलाउने खेलाडी भएँ ।
उसु खेल्न कसरी थाल्नुभयो ?
घर रोल्पा भए पनि हामी सानैदेखि टीकाथली, ललितपुरमा बस्छौं । घरनजिक उसु सिकाइन्थ्यो । म अरूले खेलेको हेरिरहन्थें, रमाइलो लाग्थ्यो । एक दिन छिमेकी दिदीले बुबाआमालाई मनाएर मलाई पनि उसु खेल्न लानुभयो । त्यसपछि निरन्तर उसु खेलिरहेकी छु ।
छोटो समयमै सागको स्वर्ण ठूलै उपलब्धि होइन ?
हो, तर अझै धेरै गर्नु छ । अब एसियन च्याम्पियनसिपलगायत ठूला प्रतियोगितामा देशलाई पदक जिताउने लक्ष्य छ । मेरो चाहना पनि बढीभन्दा बढी प्रमाणपत्र तथा पदक संकलन गर्ने हो ।
पढाइ र खेललाई सँग–सँगै अघि बढाउन गाह्रो हुँदैन ?
म कक्षा १० मा अध्ययनरत छु ।त्यसैले खेलका लागि लामो समय बिदा लिनुपर्दा गाह्रो हुन्छ । अब एसएलसीको तयारीमा केन्द्रित हुनेछु ।
भविष्यमा के बन्ने योजना छ ?
पहिले अरूले जस्तै डाक्टर–नर्स बन्ने सपना देख्थे, त्यही बन्छु भन्थे । उसुमा लागेपछि भने खेलाडी बन्ने कुरा सोच्न थाले । अब त खेलकुदबाहेक अरू केही सोच्दिनँ ।