साप्ताहिक संवाददाता
नायक सविन श्रेष्ठ तथा नायिका केकी अधिकारीको परिचय पुरानै भए पनि यी दुईले एकसाथ पहिलो पटक चलचित्र ‘भाग सानी भाग’ मा अभिनय गरेका छन् । चैत ५ गते प्रदर्शनमा आउने नवल नेपाल निर्देशित चलचित्र ‘भाग सानी भाग’को छायांकनताका सविन र केकीबीच निकै राम्रो मित्रता कायम भयो । हास्यप्रधान चलचित्र भएकाले छायांकन अवधिभर यी दुई नायक–नायिकाको दिनचर्या एक–अर्कासँग ठट्टा गर्दै बितेको अनुभव केकीको छ । अहिले पनि एक–अर्कासँग राम्रो सम्बन्ध भएका नायक तथा साथी सविन श्रेष्ठका बारेमा केकीले यसरी कुरा काटेकी छिन् :
असल बाइट्स
मस्कुलर : उसले आफ्नो आकर्षक मस्कुलर ज्यान बनाउन निकै मेहनत गरेको छ । ज्यान बनाउने कुरामा उ कहिल्यै अल्छी गर्दैन ।
मुस्कान छरिरहने : जतिसुकै टेन्सन भए पनि मुस्कुराउन सक्ने उसको स्वभाव राम्रो लाग्छ । ऊ अधिकांश समय मुस्कुराइरहेको पाइन्छ ।
ध्यान दिने : जसको कुरामा पनि ध्यान दिने र ध्यान दिएर सुन्ने उसको राम्रो बानी छ ।
एक्सन राम्रो : ज्यान मात्र राम्रो होइन, उसले एक्सन दृश्य पनि निकै कुशलतापूर्वक निर्वाह गर्छ ।
फुर्तिलो : काम भनेपछि जति बेला पनि फुर्तिलो हुने उसको स्वभाव निकै राम्रो छ ।
खराब बाइट्स
रिस थाहा हुन्न : कहिलेकाहीँ कडा रिस देखाउँछ, तर किन, के कुरामा रिसाएको हो थाहा हुँदैन ।
सोसियल नेटवर्कमा कम : सोसियल साइटहरूमा उसको एक्टिभिटी अरूको तुलनामा कम छ । अहिलेको संसारमा फेसबुकमा मात्र होइन, इन्स्टाग्राम, ट्विटर सबैतिर एक्टिभ हुनु जरुरी भैसकेको छ ।
डिप्लोम्याटिक छैन : सबैतिर एकै ढंगले प्रस्तुत हुनु उपयुक्त हुँदैन । कहीँ–कतै डिप्लोम्याटिक पनि हुनुपर्छ । सविनमा त्यही कुराको कमी छ ।
अर्काको कुरा सुन्ने : अरूको कुरा सुनेर पत्याउने उसको बानी छ, त्यो बानी त तुरुन्तै हटाए बेस ।
मुडी : यदाकदा मुडी भैदिएर अरूलाई टेन्सन दिन्छ । त्यसोचाहिँ नगरिदिए हुन्थ्यो ।