साप्ताहिक संवाददाता
करिब एक दशकपछि पोखराको चर्चित ब्यान्ड ‘कन्दरा’ नयाँ एल्बमका साथ बजारमा आएको छ । शनिबार पोखरामा ब्यान्डले पछिल्लो एल्बम ‘भेडी गोठैमा’ सार्वजनिक गर्दै आफ्नो ‘पुनरागमन’ भएको उद्घोष गरेको हो ।
एल्बम सार्वजनिक गर्दै ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठले भने– ‘हामी फेरि उही पुरानै शैली र स्वाद सहित आएका छौँ । श्रोता तथा दर्शकको साथ फेरि पाउने आशामा ।’ पाँचौँ एल्बम ‘भेडी गोठै’मा सार्वजनिक गर्ने क्रममा ब्यान्डले शनिबार विशेष प्रस्तुती पनि दियो ।
उही मन्द मुस्कानसहित ‘ड्यासिङ लुक्स’मा कन्दराका गायक विवेक श्रेष्ठ आफ्नो ब्यान्ड सदस्यहरूसहित मञ्चमा झुल्किए । मञ्चमा उनी करिब २२ वर्षअघि पुगे र केही ‘नोस्टाल्जिक’ भए । तत्कालीन समयमा विवेक भर्खर स्कुल सकेर कलेज जाने क्रममा थिए । सहपाठी सुनील थापा जो अहिले ब्यान्डका ड्रमर तथा कम्पोजर हुन्, सँग मिलेर एउटा गीत बनाउने तयारी गरे ।
त्यतिबेला तयार पारिएको गीत थियो, ‘तिमी पारी त्यो गाउँमा’ । यही गीतबाट उनले आफ्नो प्रस्तुति सुरु गरे । प्रस्तुति सकिएपछि जोडदार तालि बज्यो अनि विवेकले भने– ‘यो गीत मेरो जीवनकै माइलस्टोन गीत हो । कलिलो उमेरमै बनाएको यो गीतले अझै पनि विवेक श्रेष्ठ र कन्दरालाई चिनाइराखेको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भएको एल्बम ‘भेडी गोठैमा’को विमोचनमा आएका सम्पूर्णलाई धन्यवाद दिँदै विवेकले उही चर्चित गीत ‘हङकङ पोखरा’ गाएर आफ्नो प्रस्तुति टुंगाए । कन्दराको पछिल्लो एल्बम ‘भेडी गोठैमा’लाई नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्तले विमोचन गरेका थिए । विमोचन गर्दै उनले नेपाली मौलिक संगीत र पश्चिमेली संगीतको बीचमा रहेर गीत तयार पार्दै आएको कन्दरालाई ‘पुनरागमन सफलता’को शुभकामना दिए ।