साप्ताहिक संवाददाता
‘जिन्दगीले हिसाब माग्छ...’ गीतले हिट्स एफएम म्युजिक एवार्डको १९ औं संस्करणमा सर्वाधिक चारवटा एवार्ड जित्न सफल भएको छ ।
काठमाडौंमा आयोजित भव्य सांगीतिक समारोहमा यो गीत आधुनिक विधातर्फ सर्वोत्कृष्ट हुनुका साथै यही गीतबाट गायक अजर जंगमले सर्वोत्कृष्ट पुरुष गायक, उनका बुवा दीपक जंगमले सर्वोत्कृष्ट संगीतकार तथा संगीतकर्मी किरण कँडेलले सर्वोत्कृष्ट संगीत संयोजकको एवार्ड जित्न सफल भए । समारोहमा आधुनिक गायनतर्फ संगीता राना प्रधान पुरस्कृत भइन् । गायिका प्रधानले ‘दुखेर कि दुखाउन...’ गीतबाट यो सफलता पाएकी हुन् ।
समारोहमा गायक विपुल क्षेत्रीको ‘सिन्डिकेट’ गीतले तीनवटा एवार्ड जित्न सफल भएको छ । विपुलले सर्वोत्कृष्ट पुरुष गायन पप, पप—रक संगीत सिर्जना तथा पप–रक एल्बमको एवार्ड हुन् । समारोहमा चलचित्र ‘रेशम फिलीली’ को ‘जाल्मा’ गीतका लागि संगीतकार कालिप्रसाद बाास्कोट पुरस्कृत भए । युगल गायनतर्फको एवार्ड सत्यराज आचार्य तथा स्वरुपराज आचार्यले जिते । नवकलाकार रोहितजोन क्षेत्री तथा सांगीतिक समूहको एवार्ड ह्वाट द फंक व्याण्डले जित्न सफल भयो ।
समारोहमा ८० वर्षीय संगीतकर्मी भैरवनाथ रिमाल (कदम) लाई लाइफटाइम एचिभमेन्ट एवार्डद्वारा सम्मान गरियो । ६ दशकदेखि निरन्तर गीत रचनामा सक्रिय रही नेपाली आधुनिक गीतको क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई सम्मान गरिएको हो ।
आधुनिक संगीततर्फ वर्षको सर्वोत्कृष्ट एल्बमको एवार्ड गायक रविन शर्माले ‘रुमानी बतास’ बाट जिते । यही विधाको सर्वोत्कृष्ट रचनातर्फ पुष्कर पराजुलीले ‘केवल सासले...’ गीतका लागि एवार्ड जित्दा वर्षको सर्वोत्कृष्ट युगल गायनको एवार्ड ‘दीप बनोस...’ बाट सत्यराज–स्वरूपराज आचार्यले जित्न सफल भए ।
सांगीतिक समुह ‘ह्वाट द फन्क’ ले दुई वटा एवार्ड जित्न सफल भयो । समुहले ‘गाईजात्रा...’ गीतबाट वर्षको सर्वोत्कृष्ट रक गायन र सर्वोत्कृष्ट समूह गायनको एवार्ड जितेको हो । सर्वोत्कृष्ट नव कलाकारको एवार्ड रोहित जोन क्षेत्रीले ‘बिस्तारै बिस्तारै...’का लागि जिते भने लोक भाकातिर ‘फर्क दाजै...’ बाट अञ्जान बाबु उत्कृष्ट भए । सर्वोत्कृष्ट संगीत संयोजकको एवार्ड किरण कँडेलले जिते । सर्वोत्कृष्ट पप गायिकाको एवार्ड भने ‘मेरी आमा...’ गीतका लागि क्रिष्मा अविगेलले पाइन् ।
समारोहमा गायक दीप श्रेष्ठ, कुमार बस्नेत, कालीप्रसाद बासकोटा, रोहितजोन क्षेत्री, गायिका बानिका प्रधान, तृष्णा गुरुङ, सक्षम समूह, ह्वाट द फंक आदि संगीतकर्मीले गीत–संगीत प्रस्तुत गरेका थिए ।
यसपटकको एवार्डमा २०७१ साल वैशाख १ गतेदेखि २०७१ साल चैत मसान्तसम्ममा हिट्स एफएममा दर्ता भएका गीत–संगीत समावेश गरिएको थियो ।