साप्ताहिक संवाददाता
हामी मध्ये धेरैले अहिले लोडसेडिङ हुने समय थाहा पाउन लोडसेडिङ एप्स नै प्रयोग गरेको हुनुपर्छ । पछिल्लो समयमा यो एप्स गुगल प्लेबाट १० लाखभन्दा बढी पटक डाउनलोड भैसकेको छ । नेपालमा भएका एप्सहरूमध्ये सर्वाधिक डाउनलोड हुने एप्सको सूचीमा यो एप्स अग्रपंक्तिमा छ ।
एप्सका प्रयोगकर्ता बढ्दै गएपछि यसमा अन्य सुविधा थप्नुपर्ने बाध्यता पनि हुँदोरहेछ । त्यही कुरालाई मनन गरी एप्स निर्माताले यही जनवरी महिनामा यसको नयाँ भर्सन सार्वजनिक गरेका छन् । यसमा लोडसेडिङ तालिका बाहेक दैनिक रूपमा नयाँ–नयाँ समाचार पनि राखिन थालेको छ । त्यसैगरी तालिकामा आज र भोलि गरी दुई दिनको तालिका समेटिएको छ ।
नेपाल लोडसेडिङ एप्स सिरान टेक्नोलोजिजले चलाइरहेको छ । यद्यपि एप्सका निर्माता भने चन्द्र र एलिजा श्रेष्ठ हुन् । उनीहरूले सिरान टेक्नोलोजिजलाई २० हजार डलरमा उक्त एप्स बिक्री गरेका थिए । त्यसबाहेक उनीहरूले १० वर्षसम्म १० प्रतिशत आम्दानी पाउने सम्झौता भएको छ ।
सिरान टेक्नोलोजिजले किनेको छोटो समयमै यो एप्सका प्रयोगकर्ता निकै बढेको यसका सञ्चालक सजत श्रेष्ठ बताउँछन् । गुगल प्ले स्टोरमा गएर डाउनलोड गरेपछि यसलाई अफलाइनमा पनि चलाउन सकिन्छ ।
चन्द्र श्रेष्ठ र एलिजा श्रेष्ठले पुल्चोक क्याम्पसबाट सँगसँगै इन्जिनियरिङको पढाइ सम्पन्न गरेका थिए । त्यसपछि उनीहरूले भेरिक्स कम्पनीमा जागिर खानुका साथै डाटा एनालाइसिसको काम पनि गरे । त्यस बीचमा अमेरिकाको एउटा कम्पनीमा काम गर्न गएका चन्द्रले फर्कंदा एउटा स्मार्टफोन ल्याएका थिए । त्यही समयमा एलिजाको दिमागमा त्यतिबेला उत्कर्षमा पुगेको लोडसेडिङको तालिका बनाउने आइडिया फुरेको थियो । त्यसबेला ‘प्रयास गरौ न त’ भनेर उनीहरूले यसको सुरुआत गरेका थिए । त्यो प्रयास सफल पनि भयो अनि उनीहरूले यसलाई प्ले स्टोरमा राखे । त्यतिबेला यो एप्स इन्टरनेट भएको समयमा मात्र हेर्न मिल्ने खालको थियो ।
त्यसपछि उनीहरूले चिनेका साथीहरूसँग फिडब्याक माग्न थाले । प्रयोगकर्ता पनि थपिंदै गए । उनीहरूलाई राम्रो प्रतिक्रिया प्राप्त हुन थाल्यो, जसअनुसार यसमा आवश्यक फिचर पनि थपिँदै गए ।
त्यसपछि सिरान टेक्नोलोजिजले यो एप्स किन्यो । अहिले यो नेपाली एप्समा एउटा गतिलो नाम बनेर उभिएको छ ।
नेपाल सोलार क्याल्कुलेटर
सौर्य ऊर्जाका लागि कति खर्च लाग्छ र त्यसका लागि के गर्नुपर्छ भन्ने जानकारीका लागि नेपाल सोलार क्याल्कुलेटर नामक मोबाइल एप्स उपलब्ध छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमले संयुक्त रूपमा ‘नेपाल सोलार क्याल्कुलेटर’ नामक मोबाइल एप्स बनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को विश्व वातावरण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त एप्स तयार पारिएको हो ।
एप्समा कुन क्षमताको सौर्य ऊर्जा जडान गर्ने हो, त्यसको लागत, कुन–कुन स्थानमा सौर्य ऊर्जाका उपकरण एवं सामग्री पाइन्छ र त्यसमा कति सरकारबाट अनुदान उपलब्ध हुन्छ लगायतका विभिन्न सूचना उपलब्ध छन् । एप्समा सौर्य पाता कति उचाइमा राख्ने, त्यसलाई कुन कोणमा राख्ने, पाताको मर्मतसम्भार गर्ने समय, ब्याट्री मर्मत, त्यसमा राख्नुपर्ने पानीको मात्रा, समस्या उत्पन्न भए तत्काल समाधानका लागि सम्पर्क स्थल जस्ता सबै सूचना समावेश गरिएको छ ।
नेपाल सोलार क्याल्कुलेटर निर्माता मध्येका एक जीवनकुमार मल्लिकका अनुसार यो एप्स हाल निकै नै प्रयोगमा आएको छ । यसमा सौर्य ऊर्जाको क्षेत्रमा मुलुकमा कार्यरत छ वटा प्रमुख सौर्य ऊर्जा कम्पनीको सम्पूर्ण विवरण र त्यहाँ उपलब्ध सामग्रीसमेतको जानकारी समावेश छ ।
एसियन ब्याट्री एप्स
ब्याट्रीलाई चार्ज गरेर बत्ती बाल्न र अन्य विभिन्न कार्य गर्न सकिन्छ तर ब्याट्रीको क्षमता र त्यसले गर्ने कार्यका बारेमा थाहा पाउन के गर्ने त ? यही समस्याको समाधानका रूपमा एसियन ब्याट्रीले आफ्नो मोबाइल एप्ससमेत सार्वजनिक गरेको छ ।
दैनिक जीवनमा उपयोगी एसियनको ब्याट्री एप्स एन्ड्रोइड, एप्पल र विन्डोज गरी तीनवटा प्लेटर्फममा उपलब्ध छ । विराटनगरमा उत्पादन प्लान्ट रहेको एसियन ब्याट्रीले ब्याट्रीको नियमित रेखदेख गरेर त्यसको लाइफ लामो बनाउनेदेखि त्यसले दिने ब्याकअप अवधिसमेत मोबाइलमै उपलब्ध गराउन एसियन ब्याट्री एप्सको विकास गरेको हो ।