म ३५ वर्षीया गृहिणी हुँ । मेरा ३ सन्तान छन् । कान्छी छोरी ११ वर्षकी भइन् । विगत २ वर्षदेखि तीनमहिने सुई प्रयोग गर्दै आएकी थिएँ, तर सुईले मेरो महिनावारी रोकिएपछि मैले गत मंसिरमा सुई लगाइनँ । सुई छोडेको ४ महिना भए पनि महिनावारी भएको छैन । अहिले आएर वाक्वाक् लाग्ने तथा खाना नरुच्ने भएपछि घरमै पिसाब परीक्षण गर्दा गर्भ रहेको देखियो । महिनावारी नभए पनि गर्भ रहन सक्छ ? अब मैले के गर्ने ?
ख.
परिवार नियोजनका लागि प्रयोग गरिने तीनमहिने सुई (संगिनी, डिपो) मा एक किसिमको हार्मोन प्रयोग गरिएको हुन्छ । नेपालमा प्रयोग गरिने अस्थायी साधनहरूमध्ये सबै भन्दा बढी दम्पतीले रुचाएको ३ महिने सुईले महिलाहरूमा अन्डा उत्पादन हुन दिँदैन । त्यसैले गर्भ रहँदैन । यो एउटा अत्यन्त प्रभावकारी साधन पनि हो । यो सुई प्रयोग गर्ने महिलाहरूमा सुई छाडेको ३ देखि १० महिनासम्म महिनावारी नहुन सक्छ । यो अवस्थामा सामान्यत: गर्भ रहँदैन, तर कसै–कसैमा महिनावारी सुरु नभैकन पनि गर्भ रहन सक्छ । त्यसैले तपाईंको गर्भ रहेको कुरा साँचो हुन सक्छ । गर्भ रहँदैमा आत्तिनु पर्दैन । नेपालमा गर्भपतन गर्न पाउने कानुनी अधिकार भएकाले १२ हप्तासम्मको गर्भ आफूलाई पायक पर्ने स्वास्थ्य संस्था वा अस्पतालमा सूचीकृत चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श गरेर गर्भपतन गराउन सकिन्छ । तपाईंको महिनावारी सुकिसकेको छैन, त्यसैले गर्भपतनपछि फेरि गर्भ रहन सक्छ । त्यसैले परिवार नियोजनको साधन प्रयोग गर्नुपर्ने हुन्छ ।