गायक प्रकाश तिमिल्सिनाले गाएको एउटा गीत ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडे म...’ गीतको म्युजिक भिडियो दर्शकले अत्यन्त मन पराएका छन् । यूट्युबमा दुई लाख भन्दा बढी पटक हेरिएको यो भिडियोमा अभिनेता आर्यन सिग्देलले अभिनय गरेका छन् । यही भिडियोका निर्देशक हुन्— दीपेन्द्र केसी । दीपेन्द्रले म्युजिक भिडियो निर्देशन गर्न थालेको पाँच वर्ष भयो । गायक किशन गुरुङको ‘मैच्याङ...’ बाट भिडियो निर्देशनको क्षेत्रमा प्रवेश गरेका दीपेन्द्रले यसै साता गायक हिमाल सागर तथा गायिका अञ्जु पन्तको यूगल गीत ‘जिन्दगीको प्राप्ति तिमी...’ को निर्देशन गरे । यस अवधिमा दीपेन्द्रले करिब १ सय १० वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन्, जसमा नेपालका प्राय: सबै गायक–गायिका समेटिएका छन् । प्रकाश तिमिल्सिनाको ‘तिमीलाई देखेर’, कमल खत्री र बुनु राईको ‘कोरेर प्रेम पत्र’, आकांक्षा बस्यालको ‘तिमी छौ र त’, रुपक डोटेलको ‘बुन बुन’ तथा सुवानी मोक्तानको ‘उस्तै छ’ दीपेन्द्रलाई सर्वाधिक मन पर्ने आफ्नै भिडियो हुन् । रूपक डोटेल तथा रामचन्द्र काफ्लेका आधा–आधा दर्जन गीतका भिडियो निर्देशन गरेका दीपेन्द्रले ओस्कार चलचित्र कलेजबाट भिज्युअल एडिटिङमा स्नातक गरेका छन् । एउटा कुशल निर्देशकलाई सम्पादनको ज्ञान नभै नहुने कुरा बुझेपछि दीपेन्द्रले यो विषयमा स्नातक गरेका हुन् । विभिन्न सांगीतिक एवार्डमा दीपेन्द्रका भिडियोहरू मनोनीत हुँदै आएका छन् तर अहिलेसम्म पुरस्कृत हुने अवसर पाएका छैनन् । ओस्कर कलेजमा अध्ययनका क्रममा केही छोटा चलचित्र समेत निर्देशन गरेका दीपेन्द्र भविष्यमा भिज्युअल एडिटिङमा स्नातकोत्तर गर्नुका साथै चलचित्रको निर्देशनमा सक्रिय हुने तयारी गर्दैछन् ।
भिडियो निर्देशकहरूको भीडमा आफूलाई कसरी पृथक् बनाउनु हुन्छ ?
पृथक नै त नभनौं तर आफ्ना भिडियोलाई गुणस्तरीय बनाउने प्रयास गर्छु । गीत छनौट गर्दा शब्द तथा संगीत संयोजनमा विशेष ध्यान दिन्छु । यी दुई कुरामा ध्यान दिँदा भिडियो हेर्न लायक बनिरहेका छन् ।
कुनै पनि टेलिभिजनसँग आबद्ध नहुँदा भिडियो प्रसारण हुन गाह्रो पर्दैन ?
मैले अहिलेसम्म यो समस्या भोग्नुपरेको छैन । टेलिभिजन च्यानलहरूले राम्रा भिडियो खोजी–खोजी प्रसारण गर्छन् । टेलिभिजनसँगै अहिले युट्युब पनि प्रभावकारी माध्यम बनिसकेको छ ।
आगामी दिनका लागि कस्तो योजना बनाउनुभएको छ ?
भिडियो निर्देशनबाट हासिल गरेको अनुभवलाई वर्ष २०७३ देखि चलचित्रको निर्देशनमा उपयोग गर्दैछु । केही वर्ष चलचित्र निर्देशन गरेर भिज्युअल एडिटिङमा मास्टर्स समेत गर्नेछु ।