फागुपूर्णिमा नजिकिँदै जाँदा तराई क्षेत्रको चहलपहल फरक हुँदै जान्छ । वसन्त ऋतुको आगमन र विगतका तीता–टर्रा कुरा बिर्सेर नयाँ जीवनको सुरुवात गर्ने पर्वका रूपमा फागु पर्वको स्वागत गरिन्छ । तैपनि तराई–मधेस क्षेत्रमा फागु पर्व एकै किसिमले मनाइँदैन । रंगको प्रधानता देखिए पनि फागु हरेक जात–जातिमा फरक–फरक रंगमा रंगिन्छ । एक जातको फागुले अर्को जातको फागुका सबै आयाम समेट्न सक्दैन । चितवन र नवलपरासीका थारूहरूको फागुले यस्तै फरक कथा बोकेको छ । मानकुमार चौधरी मध्यतराई क्षेत्रमा जन्मिई हुर्किएका समाजसेवी हुन् । हालको चितवन राष्ट्रिय निकुञ्ज बन्नु अघि घना थारू बस्ती रहेको पदमपुरका मानकुमारले आफ्नो समुदायको हितमा सेभ द चिल्ड्रेन युएसबाट काम सुरु गरेका थिए । माओवादीको द्वन्द्वकालमा अमेरिकी सहयोगमा आएका प्रोजेक्टमाथि विभिन्न किसिमका दबाब सिर्जना गरिन थालेपछि उनले नेपाल इन्डिजेनस डेभेलपमेन्ट सोसाइटी नामको सामाजिक संस्था खोलेर आफ्नो काम अघि बढाए । माओवादी एम्बुसमा परेर माडीमा दर्जनौं यात्रुको ज्यान गएपछि भने उनी अमेरिका पलायन भएका थिए । आर्थिक अवस्था सामान्य रहे पनि उनी अमेरिका छाडेर फेरि नेपाल आएका छन् । चौधरी अहिले पुन: थारू समुदायको आर्थिक एवं सामाजिक काममा संलग्न छन् ।
नेपालको तराईं क्षेत्रमा थारू समुदाय छरिएर बसेको छ । चितवन वरपरका थारू र अन्य थारूहरूबीच के फरक पाउनुभयो ?
नेपालका सबै थारूको मुहान एउटै हो । इतिहासकारहरूले थारू समुदाय हजारौं वर्षअघि राजस्थान क्षेत्रका क्षेत्री थिए भनेका छन् । त्यहाँ उनीहरूको आफ्नै गणराज्य थियो, तर सत्रुले आक्रमण गरेपछि उनीहरू समूह–समूहमा भागेर नेपालका जंगली क्षेत्रमा आएर बसे । त्यसैले पूर्वी नेपालको मोरङदेखि पश्चिम कञ्चनपुरसम्म उनीहरूको बसोबास रह्यो । त्यतिबेला नेपालको यो क्षेत्रमा अरु कसैको बसोबास थिएन । त्यसैले उनीहरू जहाँ बसे पनि भाषा र संस्कृति उस्तै थियो । समय बित्दै गएपछि अरु जातिहरू पनि मिसिन थाले । जुन ठाउँमा जुन भाषा र संस्कृति थपिए, थारूहरूले केही कुरा उनीहरूबाट पनि लिए । थारू जाति अरूका राम्रा कुरा सजिलै ग्रहण गर्ने जाति हो, परिणामस्वरूप पूर्वदेखि
पश्चिमसम्म उनीहरूको भाषा, रहनसहन एवं संस्कृतिमा केही भिन्नता देखिएको छ ।
कुन ठाउँमा कस्तो भाषा मिसावट भएको पाउनुभयो ?
पूर्वी नेपालको झापा–मोरङतिर अलिकति राजवंशी भाषा र संस्कृतिसँग मेल खाएको हो कि जस्तो लाग्छ । किनभने ती स्थानमा राजवंशीहरूको राम्रो पकड छ । सुनसरीदेखि रौतहटसम्म मैथली भाषा र संस्कृतिको प्रभाव छ । त्यहाँबाट पश्चिम बारा–पर्सा लागेपछि भोजपुरी भाषाको प्रभाव देखिन थाल्छ । यो चितवन छेउसम्म छ । चितवन र नवलपरासी क्षेत्रमा आएपछि नेपाली भाषा र संस्कृतिको प्रभाव देखिन थाल्छ । यी जिल्लाहरूका थारूको पहिलो भेट नेपाली भाषासँग भएको हुनुपर्छ । त्यसपछि पश्चिम लाग्दै जाँदा थारूहरूको भाषा–संस्कृतिमा अवधिको प्रभाव परेको देखिन्छ ।
तपाईंहरूको मूल संस्कृतिमा कति भिन्नता आएको छ ?
कुनै पनि भाषा संस्कृति समयअनुसार परिवर्तन हुन्छ नै । यो सबैमा लागू हुन्छ । अहिले नेपाली भाषा–संस्कृति पनि पहिले जस्तो छैन । तैपनि मूल कुरा परिवर्तन हुन सक्दैन । मेरो विचारमा नेपालका जुनसुकै स्थानमा बसेका किन नहुन्, थारूहरूको मूल भाषा र संस्कृतिमा त्यति ठूलो भिन्नता आएको छैन । अहिले पनि थारूहरू माघी, तिजिया, सोहराई, बरहो एकादशी, खिचरा र फगुवा जस्ता पर्व उस्तै गरी मनाउँछन् ।
थारूहरूको पर्वको मौलिक विशेषता के हो जस्तो लाग्छ ?
जुनसुकै पर्वमा पनि थारूहरूको घरमा माछा–मासु र रक्सी चाहिन्छ । लक्ष्मी पूजाका बेला नेपालका कुनै पनि समुदायले मासु चढाएको वा मासु खाएको मैले देखेको छैन, तर यो बेला पनि थारूहरूले गाउँको मूल बाटोमा, खेती गर्ने हलो जुवामा, गोठमा, धनसार (डुहुरी) मा अनिवार्य रुपमा कालो कुखुराको बलि चढाउनुपर्छ । सबै पर्वको अघिल्लो दिन ‘मच्छ्वारी डे’ मनाइन्छ, अर्थात् पर्वको अघिल्लो दिन खोलामा सबै गाउँलेहरू पुगेर धेरै भन्दा धेरै माछा मार्छन् र भालिपल्टदेखि पर्वको अन्त्यसम्म पाहुनालाई त्यही माछा ख्वाउँछन् । माछा, मासु अनि रक्सी देवता र पाहुनाका लागि अनिवार्य मानिन्छ ।
थारूहरूको कुनै मौलिक चलन हराएर गएको छ कि ?
केही हराएका छन् । जस्तो : पहिले–पहिले विवाह गर्दा दुलाहाले दुलहीको घरमा जानु पर्दैनथ्यो । गाउँका दुई–चार मानिस गएर दुलही ल्याउँथे । दुलहीका साथमा माइती पक्षका एक–दुई मानिस आउँथे । त्यसपछि घरमै उनीहरूको कन्यादान दिने चलन थियो । मेरो बुवाले मेरी आमालाई त्यसैगरी ल्याउनुभयो तर मेरो पालामा म आफैं दुलाहा भएर श्रीमती ल्याएँ । यो चलन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारूहरूमा आएको परिवर्तन हो । अर्को कुरा, रक्सी खाएर गोरु मात्तिएपछि उसले गर्ने क्रियाकलाप हेरेर मनोरञ्जन गर्ने चलन पनि कम भएको हो कि ?
पश्चिमतिरका थारूहरूले आफ्नो मुख्य पर्व माघीलाई मान्छन् तर पूर्व लाग्दै जाँदा माघी भन्दा अन्य पर्व महत्वपूर्ण हुँदै गएको देखिन्छ । यथार्थ के हो ?
हामी पनि माघीलाई नै मुख्य पर्व मान्छौं, तर पश्चिमजस्तो पूर्व लागेपछि माघीभन्दा फागु पर्व ठूलो हो कि जस्तो लाग्छ । उदाहरणका लागि हामी माघीलाई नयाँ वर्ष मान्दैनौं । हाम्रा लागि फागु पर्व नयाँ वर्ष जस्तै हो । यसको कारण के हो भने मालिकको घरमा बसेका हरूवा–चरुवाहरू फागुमा छुट्टी लिन्छन् । यस्तो छुट्टी १५ दिनजतिको हुन्छ । त्यतिबेला उनीहरू आफ्नो मालिक परिवर्तन गर्न सक्छन् । फागुमा छुट्टी लिएका कामदारहरूलाई फकाउने, आफ्नो घरमा राख्न विभिन्न किसिमको प्रस्ताव दिने काम यो दुई साताभरि चल्छ । उनीहरू जुन मालिकबाट सन्तुष्ट हुन्छन्, अर्को वर्षसम्मका लागि त्यही घरमा बस्छन् । आम्दानीको मुख्य स्रोत खेतीपाती हुनु र हरूवा–चरुवा (खेतमा काम गर्ने र गाईबस्तु चराउने व्यक्तिहरू) स्वतन्त्र हुने भएकाले यो दिनलाई यतातिर नयाँ वर्ष मानिन्छ । पश्चिमतिर यो काम माघीमा हुने भएकाले उतातिर माघीलाई नयाँ वर्ष मानिएको हो ।
फागुका मुख्य परिकार के–के हुन् ?
अनन्दी चामललाई उसिनेर त्यसलाई घोर्लाको पातमा बेरिन्छ । यो चामल लपक्क हुन्छ, साह्रै मिठो पनि । त्यही उसिनेको चामललाई घोर्लाको पातमा डल्लो बनाइन्छ । एउटा मान्छेले जति खान सक्छ, उत्रै डल्लो बनाएर धानको भुसको आगोमा पोलिन्छ । यो आगो अघिल्लो दिन नै बाल्नुपर्छ । किनभने भुसको आगो विस्तारै सल्कन्छ । जति कडा खालको आगो भयो, ‘घौरा’ उति
नै मिठो हुन्छ । यो घौराको डल्लो र फ्राइ गरेको माछा सबैले मन पराउने परिकार हो ।
अरू समुदायको फागु र थारू समुदायको फागुमा के–के फरक पाउनु भयो ?
फागुको अघिल्लो दिन होलिका दहन गर्ने काम थारू समुदायमा पनि हुन्छ, तर विधि फरक छ । तन्त्रमन्त्र जानेको गाउँको गुरऊले गुइँठा मन्त्रिएको सानो घरमा भोग गरेपछि मात्र समति बालिन्छ । समति बाल्ने स्थानमा अन्डा, कुखुरा र रक्सी अनिवार्य राख्नुपर्छ । यस्ता गुरऊले गाउँमा बिरामी हेर्ने, झारफुक तथा पूजापाठ गर्ने आदि काम गर्छन् । उनीहरू नै गाउँका मुखिया पनि हुन्थे । पछि–पछि यस्तो चलन हराएर गए पनि होलिका दहनमा भने अझै गुरुउ खोज्ने चलन छ । होलिका दहनपछि बलेको आगो वरपर अबेर रातसम्म गाउँभरिका मानिस नाच्छन् । विहान हुन लाग्दा सबै खोलामा नुहाउँछन् । फर्केर आएपछि होली सुरु हुन्छ । यस्तो चलन अरु समुदायमा छैन ।
अरू समुदायमा होली खेल्दा केटाकेटी स्वतन्त्र रूपमा इत्रिने चलन छ । थारू समुदायको चलन कस्तो छ ?
होलीमा रंग खेल्दा रमाइलो गर्नु सामान्य कुरा हो । त्यो दिन हरूवा–चरुवाहरूले पनि आफ्ना मालिकका छोरा वा छोरी मन पराएर विवाहको प्रस्ताव राख्छन् । अरु समुदाय जस्तो थारूमा यो मेरो हरूवा–चरुवा हो, योसँग आफ्नो सन्तानको विवाह गर्न दिनु हुँदैन भन्ने छैन । नाइँ नास्ती नगरी खुला रूपमा आफ्ना सन्तानको विवाह गरिदिने चलन छ । विवाह गरेपछि ऊ घरको ज्वाइँ भएर मालिक हुन पाउँदैन, पुरानै काम गर्नुपर्छ । मन लागेन भने अर्को होलीका दिन ऊ स्वतन्त्र हुन सक्छ । पहाडी समुदाय जस्तो ज्वाइँलाई मानमनितो गर्नुपर्दैन बरु ज्वाईंले सासू–ससुराको खुट्टा ढोग्नुपर्छ । थारू समुदायको अनौठो विशेषता के छ भने कामदार होस कि मालिक, उनीहरूका लागि छुट्टै भान्सा हुँदैन । ४०–५० जना एउटै भान्सामा पटक–पटक गरेर खाना खान्छन् । यसरी खाँदा धेरै कामदारको माया–प्रीति मालिकका सन्तानसम्म हुनपुग्छ ।
तपाईंका धेरैजसो साथी पहाडी समुदायका छन्, थारू संस्कृतिप्रति उनीहरूको धारणा कस्तो पाउनु भएको छ ?
मासु–रक्सी मन पराउने साथीहरू चाँडै घुलमिल हुन्छन् । नाचगान पनि रमाइलो हुने भएकाले मैले धेरै रमाइलो गरेको देखेको छु । कहिलेकाहीँ एउटा समस्या परेको पनि देखेको छु ।
कस्तो समस्या ?
कुनै थारूको घरमा कुनै मानिस गयो भने उसलाई बस्ने राडी ओछ्याएर एक लोटा पानी दिने चलन छ । धेरै साथीहरू पुग्नेबित्तिकै केही कुरा ओछ्याएर पानी दिनेबित्तिकै खाने कुरा आउन लाग्यो भन्ने मान्छन् । हात धोएर खाने कुराको प्रतीक्षा गर्न थाल्छन् । पानी दिने संस्कृति हो भन्ने कुरा नबुझेका कारण धेरै साथी–भाइहरू समस्यामा परेको देखेको छु ।