साप्ताहिक संवाददाता
रेडियो कान्तिपुरका श्रोताहरूले विगत १७ वर्षदेखि सुनिरहेको एउटा स्वर हो– हेम सुवेदी । नेपाली चलचित्रदेखि संगीतसम्म, साहित्यदेखि चित्रकलासम्म, रेडियो जक्कीका रूपमा स्थापित सुवेदी आफ्ना हरेक कार्यक्रमलाई मिठासपूर्ण बनाउन सिपालु छन् । २०५५ सालदेखि आजका मितिसम्म अनवरत रूपमा रेडियो कान्तिपुरमा विभिन्न शैलीका कार्यक्रम प्रस्तुत गर्दै आएका सुवेदी अहिले पनि हप्ताको विभिन्न ६ वटा कार्यक्रममार्फत श्रोतामाझ पुगिरहेका छन् । आइतबार बिहान ८ बजे ‘नमस्ते नेपाल’ कार्यक्रममार्फत श्रोतामाझ पुग्ने सुवेदीले सोमबार बिहान १० बजे प्रसारण हुने कार्यक्रम ‘हाइवे’ मार्फत कीर्तिमान नै कायम गरेका छन् । उनले यो कार्यक्रममा अहिलेसम्म नदोहोरिएका शीर्षक प्रदान गर्दै गीत प्रसारण गरेर श्रोताहरूलाई सोच्न बाध्य पारिरहेका छन् । सोमबार राति ११ बजे नै ‘जीवन दर्शन’ मा सुनिने सुवेदी मंगलबार बिहान ‘ग्ल्यामर एण्ड गफ’ मार्फत प्रस्तुत हुन्छन् । बिहीबार दिउँसो १२ बजेपछि ‘कस्तो लाग्यो’ कार्यक्रममा प्रस्तुत हुने सुवेदी शुक्रबार साँझ ६ बजे ‘ह्याप्पी लाइफ’ कार्यक्रममा सुनिन्छन् । रेडियो कान्तिपुरले २०५७ सालदेखि नै होलीको अवसर पारेर आयोजना गर्ने सांस्कृतिक कार्यक्रम ‘होली हंगामा’ का अभिन्न अंग हुन– हेम सुवेदी । रेडियो कान्तिपुरको पुल्चोकस्थित मुख्य कार्यालय अघिल्तिर देशका लोकप्रिय कलाकारहरूसहित आयोजना गरिने ‘होली हंगामा’ कार्यक्रमको थालनी गर्ने उद्घोषक पनि सुवेदी नै हुन् । पहिलो वर्षको होली हंगामामा गायक खेमराज गुरुङलाई ‘वारि जमुना पारि जमुना’ गाउन लगाएर मात्र होइन, त्यही वर्षको कार्यक्रममा रेशम चौधरीसहितको समूहलाई ढोलक बजाउन लगाएर तराईको शैलीमा होली खेलाउने श्रेय पनि सुवेदीलाई नै जान्छ । परिवारका सदस्यहरूबीच मात्र खेलिने होलीलाई सांस्कृतिक उत्सवको रूप दिन रेडियो कान्तिपुरले प्रारम्भ गरेको ‘होली हंगामा’ कार्यक्रम आजको मितिसम्म आइपुग्दा परिष्कृत भैसकेको अनुभव गर्ने सुवेदी पछिल्ला पाँच वर्षयता यो कार्यक्रममा साबर डान्स तथा रक शैली भित्रिसकेको बताउँछन् । कान्तिपुर टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण हुने रेडियो कान्तिपुरको होली हंगामालाई पछ्याउँदै अचेल अधिकांश टेलिभिजन च्यानलले होली विशेष कार्यक्रम आयोजित गर्न थालेको प्रसंगलाई सकारात्मक रूप लिएका सुवेदी यस्ता कार्यक्रमले सामाजिक सद्भाव बढाउन तथा भातृत्वको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्छन् । होलीको बहानामा अनुहारमा इनामेल पेन्ट गर्ने चलन मन नपराउने सुवेदी यसपटकको रेडियो कान्तिपुरको होली हंगामा कार्यक्रम थप विशेष तथा आकर्षक हुने दाबी गर्छन् ।
यसपटकको होली कसरी मनाउँदै हुनुहुन्छ ?
सधैंझैं यसपटक पनि ‘होली हंगामा’ मा सहभागिता जनाएर होली मनाउने तयारी गर्दैछु । यसपटकको होली हंगामालाई हामीले सरप्राइज प्याकेजका रूपमा प्रस्तुत गर्न लागेका छौं । सम्पूर्ण दर्शक तथा श्रोतालाई त्यसका लागि तयार हुन आग्रह गर्छु ।
१७ वर्षअघिको होली हंगामा र अहिलेको होली हंगामामा के अन्तर पाउनु हुन्छ ?
सुरुवाती दिनका होली हंगामाहरू अहिलेको भन्दा केही शान्त र शालिन थिए । अहिले होली हंगामामा रक शैली भित्रिएको छ । वास्तवमा युवापुस्ताको रुचि र रोजाइ जतातिर ढल्कन्छ, हामीले यो कार्यक्रमलाई त्यस्तै स्वरूप प्रदान गर्दै आएका छौं । दुवै समयका होली हंगामाको उद्देश्य मनोरञ्जक शैलीमा होली मनाउनु नै हो ।
समग्रमा होलीको महिमा र गरिमा बढ्दो छ कि घट्दो ?
होली, शिवरात्रिजस्ता पर्वको प्रकृति नै नशामा चुर भएर रमाइलो गर्ने भएकाले यसलाई म विकृतिका रूपमा लिन्न । यद्यपि पछिल्ला केही वर्षयता होलीको नाममा रक्सी पिएर हो–होल्ला गर्नेहरूको संख्या बढेको हो कि जस्तो लाग्छ ।